RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२६ गते
८१५ पटक

काठमाडौं : राजनीतिक अन्योलबीच पनि निरन्तर उकालो लागेको सेयर बजारमा आइतबार पनि गजब उत्साह देखिएको छ। बजारमा अनावश्यक हल्ला फैलाएर सेयर बजार घटाउन एउटा गिरोह सक्रिय भए पनि त्यो प्रयास सफल हुन सकेको छैन।

सेयर बजारले आइतबार अर्को उचाइ चुम्दै एकैदिन दुईवटा रेकर्ड कायम गरेको छ। नेप्से परिसूचक ४८.७४ बढेर २५२४ विन्दुमा आइपुगेको छ। यो अहिलेसम्मकै उच्च विन्दु हो। त्यसैगरी साढे १० अर्ब हाराहारीमा कारोबार भएको छ। यो पनि अहिलेसम्मकै उच्च कारोबार रकम हो । नेप्सेले आइतबार २५०० को मनोवैज्ञानिक विन्दुलाई सजिलै पार गरेर अगाडि बढेपछि बजारमा उत्साह थपिएको छ।

राम्रा कम्पनीहरूको मूल्य घटाएर कब्जा गर्ने खेलअनुसार अनेक हल्ला र ‘फेक इन्फरमेशन’ सर्कुलेट गरेर बजारको वातावरण विथोल्‍ने र सेयरको बजारको गतिलाई रोक्‍ने प्रयास  एउटा समूहबाट भइरहे पनि सेयर बजार आफ्नो लय र लिकबाट विचलित भएको छैन।

वर्तमान राजनीतिक अन्योल तथा संक्रमणलाई देखाएर नयाँ लगानीकर्ताहरूको मनोबल गिराउने कोसिस पनि सफल भएको छैन। लगानीकर्ताहरूको आत्मविश्‍वास र बजारको परिपक्क लयले बजारको वातावरण विथोल्‍ने प्रयास सफल हुन नसकेको हो। सेयर बजारमा लगानी र लामो अनुभव पनि भएका विज्ञहरू सेयर बजारको गति र लय निकै परिपक्क भएकोले डराउनुपर्ने कुनै अवस्था नभएको बताउँछन्। अहिले बजारको साइज कसरी बढेको छ, लगानीकर्ताको चाप कस्तो छ भन्‍ने कुरा अध्ययन नै नगरीकन एकथरीले पहिलेका बुल बिन्दुहरूसँग तुलना गरेर नकारात्मक टिप्पणी गर्नु गलत भएको उनीहरू बताउँछन्।

नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिसमेत रहेका सेयर बजारका विज्ञ तथा व्यवसायी अम्बिका प्रसाद पौडेल अहिलेको सेयर बजारको गति र लयसँग डराउनुपर्ने कुनै अवस्था नरहेको बताउँछन्। अन्‍नपूर्ण अनलाइनसँग पौडेल भन्छन्, ‘यो कुनै अस्वभाविक उछाल होइन। यो स्वभाविक गति र लय हो। अझै पनि कतिपय राम्रा कम्पनीहरूको सेयर अन्डरभ्यालुड छ।’ पौडेल सेयर बजारमा नयाँ लगानीकर्ताहरूको उत्साह अभूतपूर्व रहेकोले बजारको बुलिस रनलाई कसैले रोक्‍न नसक्के बताउँछन्।

नाफा बुक गरिसकेका एकथरी खेलाडीहरू बजार अझ् बढ्ने निश्‍चित भएपछि अनेक हल्ला फैलाएर बजार घटाउने र सेयर बुक गर्ने योजनामा पहिलेदेखि थिए। तर पहिले ‘कागजी जमाना’ मा जस्तो सिमित खेलाडीहरूले चलाउने र खेलाउने खालको बजार अहिले छैन। बजारमा हरेक दिन नयाँ लगानीकर्ताहरू थपिएका छन्। सबैले घर र अफिसमा आफ्नै डिभाइस प्रयोग गरेर  सेयर किनबेच गरिरहेका छन्। डिजिटल ट्रेडिङमा पनि यति ठूलो सहभागीता र कारोबार उत्साहजनक हो।

राज्यको राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याउने क्षेत्र नै अहिले सेयर बजार भएको छ। दैनिक छ अर्बभन्दा बढी कारोबार भइरहेको छ। सेयर खरिद बिक्रिका लागि २० लाख भन्दा बढीले डिम्याट खाता खोलेका छन्। दैनिक १५ हजारको हाराहारीमा लगानीकर्ताहरू बजारमा प्रवेश गर्ने गरेका छन्। ८० प्रतिशतभन्दा बढी कारोबार डिजिटल माध्यमबाटै हुन्छ।

पुस ५ मा संसद् विघटनपछिको राजनीतिक अन्योलबीच पनि सेयर बजारमा निरन्तर उछाल देखिएको छ।राजनीतिक अन्योलसँग लगानीकर्ताहरू खासै डराएका छैनन्। वित्तिय प्रणालीमा अधिक तरलता, सस्तो ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजारले ‘बुलिस रन’ मा अघि बढेको छ।

सेयर कारोबार लागु भएको ‘ टि प्लस टु’ प्रणालीले पनि बजारलाई थप चलायमान बनाएको छ। यो नयाँ प्रणालीअनुसार सेयर किनबेच गरेको २ दिनमै सेयर कारोबारको राफसाफ तथा फर्सौट हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले पुँजी बजारलाई प्राथमिकता दिदै पहिलो पटक पुँजी बजार फोरम गठन गरेको छ । एएनसीसीआइको निर्वाचनमा एसोसिएट्सतर्फ सबैभन्दा बढी मत ल्याएर निर्वाचित कार्यकारी सदस्य अम्बिकाप्रसाद पौडेललाई यसको नेतृत्व दिएपछि पुँजी बजारको संस्थागत विकासका लागि पहल सुरु भइसकेको छ।

गत साउनको पहिलो हप्ता नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले प्रदान गरेको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्। त्यसपछि नै  सेयर बजारमा सुधारको क्रम सुरु भएको थियो। पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्‍त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्‍त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको हो।

यसअघि पनि पौडेल अर्थमन्‍त्री हुँदा पनि सेयर बजारले  १८८१ बिन्दुको नयाँ रेकर्ड कायम गरेको थियो। पुँजी बजारलाई प्रोत्साहित गर्ने नयाँ अर्थमन्‍त्रीको नीतिगत तयारीसँगै लगानीकर्ताहरू उत्साहित भएका हुन्। संकटका बेला लगानीका अरु क्षेत्र खुम्चिएको तथा जोखिम बढेकोले पनि लगानीकर्ताहरू सेयर बजार प्रति बढी आकर्षित देखिएका छन्। पुँजी बजारलाई प्रोत्साहन गर्नेतिर अर्थमन्‍त्री, गभर्नर  तथा अन्य सरोकारवाला निकायको भूमिका सकारात्मक देखिएकोले पनि लगानीकर्तामा आत्मविश्‍वास र उत्साह जागेको हो।

अन्नपुर्ण पोष्ट दैनिक……………..

प्रतिकृया दिनुहोस्