RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२६ गते
७९३ पटक

पहिलो चरणको कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिसिल्ड’ देशभरका दुई सय एक खोप केन्द्रबाट एक लाख ८४ हजार आठ सय ५७ जनालाई दिइएको छ ।

जसअनुसार प्रदेश १ मा २४ हजार दुई सय २४, प्रदेश २ मा २५ हजार ६ सय ३७, बागमती प्रदेशमा ६३ हजार तीन सय आठ, गण्डकी प्रदेशमा १८ हजार चार सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार नाै सय ४१, कर्णाली प्रदेशमा नौ हजार चार सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार आठ सय ५५ जना छन् ।

मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कुल जनसंख्याकाे तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको छ । मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ ।

नेपालमा कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताए ।

भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

प्रतिकृया दिनुहोस्