RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/३० गते
१०८८ पटक

धनगढी, कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटमा रहेको पुरैनी तालमा यो वर्ष प्रजाति थपिए पनि चराको सङ्ख्या घटेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिर रहेको ठूलो सिमसारमध्येको पुरैनी तालमा हिउँद याममा जलपक्षी गणना गर्दा सङ्ख्या घटेको पाइएको हो । गतवर्ष यो तालमा एक हजार ७४१ वटा चरा गणना गरिएको थियो । यो वर्ष एक हजार १७ वटा चरा अभिलेख भएका छन् ।

गतवर्षको तुलनामा यो वर्ष ७२४ वटा चरा कम फेला परेको गणना कार्यमा सहभागी पक्षीविद हिरुलाल डङ्गौराले बताउनुभयो । तालमा जलकुम्भी धेरै भएकाले जलपक्षी कम देखापरेको जनाइएको छ ।

‘जलचरा खेल्नका लागि खुला ठाउँ चाहिन्छ’, डङ्गौराले भन्नुभयो । ‘पूरै ताल जलकुम्भी नै जलकुम्भीले ढाकिएकाले पहिलेभन्दा चरा घटेको देखिएको हो ।’

बसाइँ सर्ने क्रममा यहाँका तालहरुमा बस्ने कल हाँसको सङ्ख्या भने पुरैनीमा विगतभन्दा राम्रो देखिएको छ । गतवर्ष यो तालमा पाँच वटा कल हाँस देखापरेका थिए । यो वर्ष ९३ वटा कलहाँस भेटिएका छन् ।

भारतको महत्वपूर्ण संरक्षित क्षेत्र दुधुवा नेशनल पार्क नजिक पर्ने सो तालमा सारस, कैलेटाउको हाँस, भुँडीफोर गरुड जस्ता दुर्लभ पक्षी पाइने गरेका छन् । झन्डै २४ बिघा क्षेत्रफलमा फैलिएको यो तालमा यस वर्ष प्रजाति सङ्ख्या भने थपिएको छ ।

ध्वाँसे सिमकुखुरा, लोभीपापी गरुड, सेतो हुटिट्याँउ, पानी चाहा, चञ्चले सुडसुडिया, रुख सुडसुडिया, कालो गरुड लगायत यस वर्ष १० वटा नयाँ प्रजाति थपिएका छन् ।

यो संगै पुरैनी तालमा पाइने चरा प्रजाति सङ्ख्या ४१ पुगेको छ । गतवर्ष ३० प्रजातिका चरा फेला परेका थिए । पुरैनी तालमा विगतमा धेरै जलपक्षी देखिए पनि अब कम हुँदै गएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले बताउनुभयो ।

‘खेतीका लागि ताल चारैतिरबाट अतिक्रमणको चपेटामा परेकाले अब पहिलेको जस्तो चरा देखिदैंनन्’, उहाँले भन्नुभयो । ‘अहिले त तालको पानी नै सुक्ने गरेको छ ।’ तालको कतिपय क्षेत्र खेती योग्य जमिनमा परिणत भइसकेको उहाँले बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिर रहेको महत्वपूर्ण ताल अतिक्रमणको चपेटामा परेपछि नगरपालिकाको कार्यालयले संरक्षणको प्रयास थालेको छ । यो वर्ष तालको सिमाना निर्धारण गर्ने र पश्चिमतिर बाँध निर्माण गर्ने कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताउनुभयो ।

‘उपभोक्ता समितिमार्फत बाँध निर्माणको कार्य भइरहेको छ’, उहाँले भन्नुभयो । ‘चारैतिर खुल्ला रहेका कारण अतिक्रमण बढेको देखिएकाले सिमाना घेर्ने कार्य पनि गर्दैछौं ।’

कान्तिपुर दैनिकबाट……..

प्रतिकृया दिनुहोस्