RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/३० गते
५६२ पटक

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आयात निजी क्षेत्रलाई दिने सम्बन्धमा सरकार सकारात्मक देखिएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र स्वाथ्यमन्त्री हृदयेश त्रिपाठीसँंगको भेटमा निजी क्षेत्रलाई कोभिड खोप ल्याउन दिने सम्बन्धमा छलफल सकारात्मक भएको हो ।

कोेरोनाका कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकारसमक्ष माग गरेको छ । महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालसहित समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीसमक्ष भेटी उक्त माग गरेका हुन् ।

निजी क्षेत्रको भनाइपछि मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको खोप प्राथमिकताको क्रममा दिन सुरु गरिएकाले दोस्रो चरणको खोप आयातपछि उद्योगी व्यवसीलाई प्राथमिकतामा राखिने बताए । साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक देखिएका छन् ।

भेटमा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि ५ हजार डोज खोप उपलब्ध गराउन अनुरोध गरेका छन् । कोरोनाका कारण निजी क्षेत्र पनि आक्रान्त भइरहेकाले महासंघसंँग आबद्ध जिल्ला नगर, वस्तुगत तथा एसोसिएट्स सदस्यका लागि सरकारले तत्कालै ५ हजार डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।

साथै सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिनसमेत माग गरेका छन् ।

पछिल्लो समय सरकारी निकायबीच समन्वय नहु“दा व्यवसायीले दुःख पाएको भन्दै त्यस विषयमा समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीहरूले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन आग्रह पनि गरेका छन् ।

यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एकरूपता ल्याउन व्यवसायीको आग्रह थियो । भेटमा महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सहसभापति भक्त हमाल, सदस्यहरू सुरेश घिमिरे र हेमराज बडालको उपस्थिति थियो ।

कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्