RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/३० गते
८४७ पटक

इजरायलको रोजगारीमा जान चाहने नेपालीका लागि एक हप्ताभित्र अनलाइन आवेदन खुला हुने भएको छ । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत आवेदन लिने तयारी गरी आवेदनको ढाँचासमेत तयार गरेर फागुनको पहिलो हप्ता खुला गर्ने भएको हो । अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयरको काम पूरा भएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

“इजरायल जाने नेपाली युवा छनोट गर्न बनेको कार्यविधि यही हप्ता मन्त्रालयले स्वीकृत गर्ने र आवेदनको सूचनासमेत सार्वजनिक गर्ने तयारी रहेको छ,” महानिर्देशक दाहालले कारोबारसँग भने “इजरायल पक्षले छिटो श्रमिक पठाउन दबाब दिएका कारण मन्त्रालयले छनोट कार्यविधि स्वीकृतिका लागि हतारिएको छ ।”

विभागले कोभिड–१९ को संक्रमणको जोखिमबाट सुरक्षित रहन र टाढा रहेका युवालाई घरबाटै आवेदन दिन सजिलो होस् भनेर अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको छ । इजरायल र नेपालबीच असोजमा सम्पन्न श्रम सम्झौता र माघ ८ गते रोजगार व्यवस्थापनसम्बन्धी कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै आवेदनका लागि अनलाइन सेवा विस्तारको काम अघि बढाइएको थियो ।

विभागले फागुनको ७ गतेसम्म अनलाइन आवेदन आह्वान गरिसक्ने जानकारी दिएको छ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौतालाई कार्यान्वयनमा लैजान महानिर्देशक दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले हस्ताक्षर गरिसकेका छन् ।

विभागका अनुसार, इजरायल र नेपाल सरकारबीच इजरायलको श्रम बजारमा नेपाली श्रमिकलाई केयरगिभरमा रोजगारीको अवसर दिने सम्बन्धमा विभिन्न चरण छलफल भइसकेका कारण विगतमा जस्तो बीचमा नै रोकिने सम्भावना छैन ।

नेपाल र इजरायलबीच विगतमा पाइलटका रूपमा सम्झौता भएर नेपाली श्रमिक जाने गरेकोमा यो पटक दुई देशले आन्तरिक तयारीका लागि कानुनसमेत बनाएका छन् ।
दुई देशको सम्झौताअनुसार दीर्घकालीन वा जटिल चिकित्सास्थिति भएका, शारीरिक वा मानसिक अपाङ्गता भएका इजरायली नागरिक स्याहारसुसार गर्न हेरचाह केन्द्रमा नेपालीले रोजगारी पाउनेछन् । इजरायल सरकारको तर्फबाट जनसंख्या तथा अध्यागमन निकाय (पिवा) र नेपालको तर्फबाट वैदेशिक रोजगार विभागले श्रमिकको भर्ना, छनोट र अन्य काम गर्ने गरी आवदन माग गरिँदै छ ।

इजरायलकोे छनोट, भर्ना र अन्य प्रक्रियामा निजी क्षेत्रको संलग्नता नहुने भएकाले त्यहाँ जाने नेपालीले हवाई टिकट, कल्याणकारी कोषको रकम, स्वास्थ्य परीक्षण आफ्नै खर्चले गर्नुपर्नेछ । पहिलो चरणमा ५ सय नेपाली युवालाई रोजगारी दिने गरी आवेदन आह्वान गर्ने विभागले जनाएको छ ।

सहायक कामदारका रूपमा केयरगिभरमा जाने नेपालीले शारीरिक वा मानसिक अपाङ्गता डिमेन्सिया (पागलपन) वा अल्जाइमर रोग भएका व्यक्तिहरूको सेवामा पाँच वर्षसम्म काम गर्न पाउनेछन् । सहायक कामदारका रूपमा इजरायल जाने नेपालीको मासिक तलब १ लाख २५ हजार रुपैयाँसम्म हुने विभागले जनाएको छ ।

आवेदन दिने नेपालीको उमेर २५ देखि ४५ वर्ष, कम्तीमा पनि १.५ मिटर उचाइ र कम्तीमा पनि ४५ केजी तौल हुनुपर्नेछ । रोजगारीमा जाने नेपाली युवाले तोकिएको तालिम प्राप्त संस्थाबाट कम्तीमा पनि तीन महिना अवधिको हेरचाहसम्बन्धी तालिम वा व्यावहारिक नर्सिङ तालिम वा सामुदायिक औषधोपचार सहायक तालिम वा सुँडेनीसम्बन्धी तालिम लिएकोे हुनुपर्नेछ ।

इजरायलको सम्बन्धित निकाय र लामो अवधिको हेरचाह केन्द्रमा सञ्चार गर्नका लागि अंग्रेजी भाषामा दखल भएको हुनुपर्ने उल्लेख छ ।
तीन महिनाको हेरचाहसम्बन्धी तालिम पूरा गरेका आवेदकले कक्षा १२ पास गरेको हुनुपर्नेछ ।

यसैगरी एसईई तहको माध्यमिक शिक्षा पूरा गरी सरकारले तोकेको सम्बन्धित निकायबाट मान्यता प्राप्त र सुपरिवेक्षण गरिएको संस्थाबाट व्यावहारिक १५ महिनाको नर्सिङ तालिम वा सामुदायिक औषधोपचार सहायक तालिम वा सुँडेनी तालिम लिएको हुनुपर्नेछ ।
छनोट भएका नेपाली श्रमिकले रोजगारीका लागि गएपछि इजरायलको स्वास्थ्य मन्त्रालयले तोकेको खोप लगाएपछि मात्र कार्यक्षेत्रमा जान पाउने उल्लेख छ ।

कारोबार दैनिकबाट………

प्रतिकृया दिनुहोस्