RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१ गते
८१ पटक

सन् २०२० संसारका लागि त्रासको वर्ष भयो । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि विश्व नै अकल्पनीय सङ्कटमा प¥यो । सन् २०२१ भने त्रास र आशाको वर्ष हुने लक्षण देखिएको छ । बेलायत, अफ्रिका तथा ब्राजिलमा देखिएका नयाँ प्रजातिका कोरोना भाइरसको कारण अहिले सम्पूर्ण युरोप, अमेरिका, क्यानडा, जापानलगायत देश सङ्कटमा फसेका छन् । सन् २०२१ कोरोना भाइरस म्युटेसनको वर्ष हुनेछ र जनस्वास्थ्यका मापदण्ड पालना नभएका देशले जुनसुकै बेला पनि महामारीको अर्को छाल भोग्नुपर्ने अवस्था आउन सक्छ ।
महामारी सुरु भएको एक वर्षभित्र कोरोना भाइरसविरुद्ध खोप निर्माण हुनु विज्ञानको चामत्कारिक सफलता नै हो । सामान्यतया खोप निर्माण गर्न चारदेखि १० वर्ष लाग्छ । कतिपय अवस्थामा दशकौँ प्रयास गर्दा पनि खोपको विकास हुँदैन । विश्वका विभिन्न देशमा खोपको निर्माण तीव्र गतिमा भइरहेका छन् । यसले गर्दा सन् २०२१ आशाको वर्ष भएको छ ।
हालसम्म कोरोना भाइरसविरुद्ध ८९ वटा खोप ‘प्रि क्लिनिकल’, ६७ वटा खोप मानवमा परीक्षण तथा २० वटा खोप अन्तिम चरणमा पुगेका छन् । त्यस्तै छ वटा खोपले सीमित प्रयोगको अनुमति पाएका छन् भने चार वटा खोप प्रमाणित भइसकेका छन् । अमेरिका तथा जर्मनीको संयुक्त प्रयासको खोप फाइजर तथा बायोटेक, अमेरिकाको मोडेर्ना, अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीको खोप, रुसको सपुत्निक भी तथा चीनको सिनोफार्म र सिनोभ्याक अहिले धेरै मानिसमा लगाउने काम भइरहेको छ । यी खोपमध्ये फाइजर र मोडेर्नाका खोप नयाँ प्रविधिबाट बनाइएका हुन् भने अन्य खोप परम्परागत तरिकाले बनाइएको हो ।
फाइजर तथा बायोटेक कम्पनीको खोप माइनस ७० डिग्री तापक्रममा भण्डारण तथा परिवहन गर्नुपर्ने भएकोले नेपालका लागि उपयोगी नहुन सक्छ । मोडेर्नाको खोप माइनस २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने तथा दुई मात्राको मूल्य झन्डै ७० अमेरिकी डलर भएकोले नेपालका लागि यो खोप पनि सीमित उपयोगी हुनसक्छ । बेलायत, भारत, चीन तथा रुसको खोप दुईदेखि आठ डिग्री तापक्रममा राख्न मिल्ने तथा सस्तो पनि भएकोले नेपालका लागि उपयोगी देखिएका छन् ।
नेपाल सरकारको प्रयास तथा भारत सरकारको छिमेकीलाई खोपमा प्राथमिकता दिने नीतिको कारण हामीले सोचेको समयभन्दा पहिले खोप पाएका छौँ । भारतबाट आएको खोप, कोभ्याक्स सुविधाअन्तर्गत आउने खोप तथा नेपालले भारतसँग किन्न लागेको खोप कोभिशिल्ड खोप हो । यो खोप विश्वप्रसिद्ध अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, बहुराष्ट्रिय कम्पनी एस्ट्राजेनेकाले विकास गरेको तथा विश्वकै ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो । विभिन्न खोपको अध्ययन गर्दा यो खोप प्रभावकारी तथा कम पाश्र्व प्रभाव रहेको गुणस्तरीय खोप हो ।
कोभिशिल्ड खोप ०.५ एमएल लगाएको चार हप्तामा (तीनदेखि १२ हप्तासम्म) अर्को मात्रा लिनुपर्छ । दोस्रो मात्रा लगाएको चार हप्तापछि शरीरमा एन्टीबडी पूर्ण रूपमा बन्नेछ । त्योभन्दा पहिले पनि खोपले बिस्तारै काम गर्छ ।

खोप र भ्रम
कोरोना महामारीको सुरुवाती महिनामा षड्यन्त्रको सिद्धान्त निकै फैलिएको थियो । हाल कोभिड खोपविरुद्ध निकै भ्रम फैलिएका छन् । कोभिडको खोप लगाएपछि मृत्यु हुन्छ, दीर्घकालीन असर हुन्छ, यो खोपले आनुवंशिक तìव डीएनएलाई असर वा नष्ट गर्छ, प्रजनन क्षमता ह्रास हुन्छ, खोपमा ५ जी माइक्रोचिप्स राखिएको हुन्छ, खोपले कोरोना सङ्क्रमण गराउँछ आदि विभिन्न भ्रम फैलिएका छन् । माहामारी तथा छोटो समयमा बनेको नयाँ खोप भएकोले यस किसिमका शङ्का उत्पन्न हुनु स्वाभाविक प्रतिक्रिया हो । यीमध्ये धेरैजसो आशङ्कालाई द्रुत गतिमा भइरहेको खोप अभियानले गलत साबित गरिरहेका छन् । हालसम्म विश्वमा करिब १४ करोड व्यक्तिले कोभिडको खोप लगाएका छन् । खोप लगाएर मृत्यु हुनेको सङ्ख्या एकदम न्यून छ । नर्वेको वृद्धाश्रममा खोप लगाएपछि २३ जना बुढाबुढीको मृत्यु भएको घटना सनसनीपूर्ण समाचार बन्यो । नर्वेको वृद्धाश्रममा प्रत्येक हप्ता चारसय जनाको मृत्यु भइरहेको र ती २३ जना व्यक्तिको पनि खोपको कारण नभएर आफ्नो अवस्थाको कारण मृत्यु भएको १४ जनामा गरिएको पोस्टमार्टमको रिपोर्ट छ । झन्डै ४० लाख नागरिकलाई खोप लगाउँदा इजरायलमा एक जना ७५ वर्षीय वृद्धको मृत्यु भएको छ । भारतमा भने तीन जनाको मृत्यु भएको छ । यी मृत्यु खोपको कारणले भएको पुष्टि भएको छैन ।

खोप लगाउनुपर्ने नै हो ?
खोपका नकारात्मक असरबारे अनावश्यक चर्चा परिचर्चा भएको तथा अहिले महामारी घटेको हुँदा खोप लगाउन अनिच्छुक व्यक्तिको सङ्ख्या कम छैन । युरोपमा पनि कोरोना महामारी घटेर जनजीवन सामान्य भएको थियो । तर पछि आएको दोस्रो लहरको कारण युरोप बन्दाबन्दी तथा कफ्र्युमा छ । त्यहाँका अस्पताल भरिएका छन् भने दैनिक हजारौँ सङ्क्रमितको मृत्यु भइरहेको छ । नेपालमा सबै क्षेत्र खुलेको, जुलुस तथा आन्दोलन भइरहेको एवम् पर्यटन क्षेत्रलाई टेवा दिन खुकुलो नीति अवलम्बन गरिएको हुँदा अर्को लहर नआउँला भन्न सकिँदैन । कारणवश अर्को लहर आएमा खोप लगाएका व्यक्ति सुरक्षित हुनेछन् । खोप लगाएका व्यक्तिलाई सङ्क्रमण भयो भने खोपबाट विकसित एन्टीबडीले कोरोना भाइरसलाई नष्ट गर्छ । जसले गर्दा गम्भीर हुने तथा मृत्यु हुने सम्भावना निकै कम हुन्छ । एक पटक कोरोना सङ्क्रमण भएपछि कसलाई के हुन्छ भन्ने तथ्य अज्ञात छ । आईसीयुमा बस्नुपर्ने अवस्थामा भौतिक, आर्थिक तथा मानसिक क्षतिको तुलनामा खोपको पीडा नगन्य हुन्छ ।
कतिपय देशले भिसाका लागि, जहाज चढ्नका लागि, अध्ययनका लागि तथा जागिरका लागि खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने नियम बनाएका छन् र बनाउनेछन् । यो अवस्थामा पनि खोप लगाउनुपर्ने अवस्था हुनसक्छ । हरेक व्यक्तिले खोप लगाउने हो भने समुदायमा सङ्क्रमण फैलिँदैन । खोप लगाएपछि आफू, आफ्नो परिवार तथा आफ्नो समुदायलाई सुरक्षित गर्नु पनि हाम्रो कर्तव्य हो । बिफर, दादुरालगायत अधिकांश महामारी खोपको कारण सामान्य भएका छन् । कोरोना माहामारी सामान्य हुनका लागि पनि खोपको विकल्प छैन ।

साइड इफेक्ट हुन सक्छ ?
कोरोना भाइरसविरुद्धका खोप अहिले आपत्कालीन प्रयोगका लागि मात्र अनुमति पाएका छन् । धेरै मानिसमा खोप लगाएपछि प्राप्त परिणामअनुसार खोपलाई अझै प्रभावकारी र सुरक्षित बनाइनेछ । अनि मात्र खोपको बजारीकरण हुनेछ । कोभिड खोपको गम्भीर असर नगन्य व्यक्तिलाई हुन्छ । निम्न लिखित सामान्य असर आफँै वा सामान्य उपचारले निको हुन्छ ।
खोप लगाएको दुईदेखि १४ दिनसम्म लक्षण देखिन सक्छ । जस्तै ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांशपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाक्वाकी लाग्ने, बान्ता हुने, पखाला हुने आदि ।
खोप लगाएका १० जनामध्ये एक जनालाई खोप लगाएको ठाउँमा दुख्ने, तातो अनुभव हुने, रातोपन हुने, गिर्खा हुने, बिरामी भएजस्तो अनुभव हुने, थकाइ लाग्ने, ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने तथा रुघाका लक्षण देखिने हुन्छ भने सय जनामध्ये एक जनालाई रिङ्गटा लाग्ने, भोक नलाग्ने, पेट दुख्ने, लिम्फ नोड सुन्निने, धेरै पसिना आउने, चिलाउने, बिमिराहरू आउने आदि असरदार लक्षण देखिन सक्छन् ।
खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्नुपर्छ । त्यो अवधिमा केही असर देखिएन भनेर ढुक्क हुन मिल्दैन । कुनै पनि समयमा गाह्रो भएमा तुरुन्त अस्पताल जानुपर्छ । कोरोनाको खोप लगाएका केही व्यक्तिको धेरै दिनपछि पनि मृत्यु भएको छ । तसर्थ गाह्रो भएमा घरमा बसिरहनु हुँदैन ।

नेपाल र कोरोना खोप
नेपालमा आएको खोप म्यासेन्जर आरएनए प्रविधिको होइन । त्यसैले आनुवंशिक तìवसँग यो खोपको सम्बन्ध छैन । यो खोप चिम्पान्जीलाई सङ्क्रमण गर्ने तर मानिसलाई केही असर नगर्ने एडेनो भाइरसमा निष्क्रिय कोरोना भाइरसको स्पाइक प्रोटिन राखेर परम्परागत प्रविधिबाट निर्माण भएको हो । विगतदेखि हामीकहाँ विभिन्न रोग रोकथामका लागि प्रयोग भएका खोप यही प्रविधिबाट बनेका हुन् । तसर्थ यो प्रविधि हाम्रो शरीरका लागि अभ्यस्त प्रविधि हो ।
भारत सरकारले सहयोगस्वरूप दिएको यो कोभिशिल्ड खोप बेलायतको विश्व विख्यात अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको तथा विश्वकै ठूलो खोप कम्पनी सिरम इन्स्टिच्युट भारतले उत्पादन गरेको हो । यसको क्लिनिकल ट्रायल विश्वका विभिन्न देशका विविध वर्गमा गरिएको थियो । यो खोप मुनाफारहित र सुलभ दरको खोप हो ।
नेपालमा पहिलो चरणमा करिब एक लाख ८५ हजार स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शव वाहनका चालक तथा कैदीलाई कोभिशिल्ड खोप दिइनेछ । त्यस्तै १३ हजार सञ्चारकर्मी र कूटनीतिक नियोगका व्यक्तिलाई पनि यो खोप दिइनेछ । हालसम्म नेपालमा यो खोपबाट एक जनाको पनि मृत्यु भएको छैन । एकाध पाश्र्व प्रभावबाहेक गम्भीर लक्षण निकै कममा देखिएको छ । खोप लगाएका अधिकांश व्यक्तिलाई खासै असर देखिएको छैन भने अन्यमा ज्वरो आउने, जाडो हुने, शरीर दुख्ने, वाक्वाकी लाग्ने, बान्ता हुने, रिङ्गटा लाग्ने, खोप लगाएको ठाउँ वरपर दुख्ने, अस्वस्थ भएको अनुभव हुनेलगायत सामान्य लक्षण देखिएका छन् र ती लक्षण सामान्य औषधि र आरामले निको भएका छन् । यी जुनसुकै खोपबाट देखिने अपेक्षित असर हुन् । यो खोप उमेर धेरै भएका तथा दीर्घबिरामी स्वास्थ्यकर्मीले पनि लगाएका छन् र उनीहरूमा केही असर देखिएको छैन । तसर्थ यो खोप सुरक्षित देखिएको छ ।

खोपको तथ्याङ्क
नेपालको जनसङ्ख्या तीन करोड छ । यो खोप १८ वर्षमाथिका व्यक्तिले मात्र लगाउन मिल्छ । यो उमेर समूहको जनसङ्ख्या ३० प्रतिशत जति छ (१५ वर्ष मुनिको जनसङ्ख्या २८ प्रतिशत छ) । खोप गर्भवती, गर्भवती हुने योजनामा रहेका महिला, सुत्केरी, सिकिस्त बिरामी, खोप, औषधि र खाना आदिको एलर्जी हुने व्यक्ति, रगत पातलो बनाउने औषधि खाने व्यक्ति, रक्तविकार जस्तै सिकलसेल एनेमिया, प्लेटलेट कमी भएका, पाइल्सलगायत रक्तस्रावसम्बन्धी समस्या भएका, तत्काल कुनै सङ्क्रमण भएका आदि व्यक्तिलाई लगाउन मिल्दैन । खोप लगाउन नमिल्ने यस प्रकारको जनसङ्ख्या करिब १० प्रतिशत हुनसक्छ । यसको अर्थ नेपालमा खोप लगाउन मिल्ने जनसङ्ख्या ६० प्रतिशत छ । भारतले नेपालका पाँच लाख जनालाई लगाउन पुग्ने १० लाख मात्रा अर्थात् जनसङ्ख्याको तीन प्रतिशत खोप अनुदान दिएको छ । चीनले पाँच लाख मात्रा अर्थात् एक दशमलव पाँच प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप दिने बताएको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालको २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप अन्तर्राष्ट्रिय जगत्बाट आउँदैछ । कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा २२ लाख ५६ हजार मात्रा यो महिनाको अन्त्यसम्म आउंँदैछ । बाँकी खोप चरणबद्ध रूपमा आउनेछ । यसरी जनसङ्ख्याको करिब २५ प्रतिशत खोप सहयोगमा आइरहेको छ । ६० प्रतिशतलाई खोपको आवश्यकता पर्ने अवस्थामा २५ प्रतिशत अनुदानमा आउने भएकोले नेपालका ३५ प्रतिशत जनसङ्ख्याका लागि खोप किन्नुपर्ने देखिन्छ । यी ३५ प्रतिशतमध्ये पहिले कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिको एन्टीबडी सक्रिय भएका व्यक्तिलाई पनि खोपको आवश्यकता नपर्न सक्छ । त्यस्तै ७० प्रतिशत नागरिकलाई खोप लगाएमा हर्ड इम्युनिटीमा जाने भएकोले पनि खोप लगाउनै पर्ने जनसङ्ख्या त्यति धेरै छैन । जोखिम वर्गका व्यक्तिलाई (ज्येष्ठ नागरिक, दीर्घरोगी, जनसम्पर्कका पेसा) प्राथमिकतापूर्वक खोप दिने हो भने कोरोना सङ्क्रमणको मृत्युदर अत्यन्तै न्यून हुन्छ । सीमित खोप आएको अवस्थामा हरेक मात्रा जीवन रक्षाका लागि सदुपयोग गर्ने हो भने जोखिम वर्गलाई सुरक्षा दिन सकिन्छ । यसरी ७० प्रतिशत नागरिकलाई खोप दिन सकियो भने महामारी हर्ड इम्युनिटीमा जान्छ । त्यस्तै आवश्यक खोपको ५० प्रतिशत निजी क्षेत्रलाई आयात गर्ने अनुमति दिने हो भने सरकारको भार झनै कम हुन जान्छ । यसो गरेमा किन्न सक्ने व्यक्तिले निजी अस्पतालमा खोप लगाउँछन् भने आम नागरिकले सरकारी संस्थाबाट निःशुल्क खोप पाउँछन् । तसर्थ सरकारले राम्रोसँग गृहकार्य गरेर आवश्यक जनसङ्ख्यालाई मात्र खोप लगाउने तथा खोप उत्पादक राष्ट्रसँग कूटनीतिक सम्पर्क बढाएर केही प्रतिशत खोप अनुदानमा ल्याउने हो भने हामीले खोपका लागि अर्बौं खर्च गर्नु पर्दैन । यी खोपले कति महिना वा वर्ष काम गर्छन् भन्ने पुष्टि नभएको हुँदा सरकारले खोप किन्ने बजेट बुस्टर डोज अर्थात् अतिरिक्त मात्राका लागि पनि प्रबन्ध गर्नुपर्ने हुन्छ । त्यसैले व्यवस्थापन चुस्त र अनुशासित हुने हो भने नेपालले खोपका लागि लाग्ने अर्बौं खर्चलाई स्वास्थ्य सेवा प्रणाली बलियो बनाउन सदुपयोग गर्न सक्छ ।
औषधि व्यवस्था विभागले हालसम्म कोभिशिल्ड खोपलाई मात्र आयात गर्ने अनुमति दिएको छ । यसले गर्दा चीनले अनुदान दिने खोप ल्याउन गाह्रो भएको छ । विश्व स्वास्थ्य सङ्गठन तथा खोप उत्पादक राष्ट्रले स्वीकृति दिएका खोपलाई नेपाल ल्याउने कानुनी वातावरण औषधि व्यवस्था विभागले मिलाउनु पर्छ । विश्वमा खोप अभावको यो विकराल अवस्थामा हाम्रा सम्बन्धित निकायले खोप ल्याउने काममा सहजीकरण गर्न ढिलो गर्नु हुँदैन । विकसित देशका नियामक निक(ायले स्वीकृति दिएका तथा विश्व जगत्मा आम रूपमा प्रयोग भएका खोपलाई स्वीकृति दिन ढिलासुस्ती गर्नु हुँदैन । यदि निजी क्षेत्रले अल्ट्रा कोल्ड चेन कायम गर्ने पूर्वाधार बनाएर माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्ने फाइजरको खोप होस् वा माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने मोडेर्नाको खोप ल्याउन सक्छन् भने सरकारले त्यसलाई पनि अनुमति दिनु उपयुक्त हुन्छ ।

खोप र नयाँ प्रजातिका कोरोना भाइरस
अन्य भाइरसजस्तै कोरोना भाइरसको म्युटेसन धेरै देशमा पटक पटक भइरहेको छन् । पछिल्लो पटक बेलायतबाट विभिन्न देशमा फैलिएको कोरोना भाइरसको नयाँ प्रजातिले युरोपका देशलगायत धेरै देश सङ्कटमा फसेका छन् । त्यस्तै दक्षिण अफ्रिका र ब्राजिलमा देखिएको नयाँ प्रजाति पनि धेरै देशमा फैलिएको छ । कोरोना भाइरसविरुद्धको खोपले यी नयाँ प्रजातिका कोरोना भाइरसलाई काम गर्छ कि गर्दैन भन्ने अनुसन्धानको पाटो छ । तर वैज्ञानिकहरूले यी नयाँ प्रजातिमा पनि खोपले काम गर्ने बताएका छन् । दक्षिण अफ्रिकाको नयाँ प्रजातिमा भने अक्सफोर्ड र एस्ट्राजेनेका खोपले न्यून रूपमा काम गर्ने अनुसन्धानले देखाएको छ ।
यदि कोरोना भाइरसका नयाँ नयाँ प्रजाति आइरहने हो भने कोरोना खोप फ्लुको खोपजस्तै हरेक वर्ष लगाउनुपर्ने हुनसक्छ । हालसम्मको अध्ययनले अक्सफोर्ड र एस्ट्राजेनेकाको कोभिशिल्ड खोपले छ महिना काम गर्ने बताइएको छ । समयक्रममा कति समय काम गर्छ भन्ने तथ्य निक्र्योल हुनेछ ।

खोप र जनस्वास्थ्यका मापदण्ड
पहिलो मात्रा खोप लगाएका व्यक्तिले चार हप्तामा दोस्रो मात्रा लगाउनुपर्छ । दोस्रो मात्रा तीन हप्तादेखि १२ हप्ताको समयमा लगाउन मिल्ने बताइएको छ । दुवै मात्रा खोप लगाएको चार हप्तापछि मात्र शरीरमा पर्याप्त एन्टीबडी बन्ने हुँदा यो समयमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन नगरेमा सङ्क्रमण हुनसक्छ । दोस्रो खोप लगाएको चार हप्तापछि एन्टीबडीको विकास भए पनि नयाँ प्रजातिका भाइरसलाई खोपले काम नगर्न पनि सक्छ । त्यस्तै खोप लगाएको व्यक्ति सुरक्षित भए पनि उसलाई सङ्क्रमण भएमा अन्य व्यक्तिलाई सर्न सक्छ । कतिपय अवस्थामा कोल्डचेन कायम नभएको हुनसक्छ । यो अवस्थामा खोप लगाए पनि एन्टीबडी नबनेको हुनसक्छ । खोप लगाएपछि मादक पदार्थलगायत रोग प्रतिरोधी क्षमतालाई असर गर्ने खाना तथा औषधि सेवन गरेमा एन्टीबडीको विकास नहुन सक्छ । त्यसैले महामारी नियन्त्रण नहुन्जेलसम्म हामीले अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने तथा हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । रुघाखोकी लागेमा, ज्वरो आएमा तथा अन्य लक्षण देखिएमा घरमै एकान्तवासमा बस्नुपर्छ । हामीले बुझ्नुपर्छ कि अब केही वर्ष नव सामान्यीकरणको अवस्थामा रहनेछौँ । यसका लागि हामी मानसिक तथा भौतिक रूपमा तयार हुनु जरुरी छ ।

गोरखापत्र दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्