RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२ गते
५८८ पटक

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा गरिएको कर्मले आफू र डा. बाबुराम भट्टराईलाई अलग हुन नदिने बताएका छन् । माओवादी पार्टी छाडेर नयाँ शक्ति पार्टी हुँदै संघीय समाजवादी र पछिल्लोपटक जनता समाजवादी पार्टीको नेतृत्व गरिरहेका भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरू’ पुस्तकको लोकार्पणमा प्रचण्डले आफूहरू नजिक हुँदै गएको पनि सुनाए ।

‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौँ, तर फेरि मुद्दाको हिसाबले हामी एउटै मोर्चामा छौँ र इतिहासको कर्मले हामी अलग हुन खोज्दा पनि फेरि चुम्बकले तानेजस्तो हाम्रो कर्मले नजिक ल्याई नै राखेको छ, हामीलाई अलग हुन दिँदैन,’ प्रचण्डले भने, ‘ती हजारौँ सहिदहरूले, घाइतेहरूले, अपांगहरूले, बेपत्ता योद्दाहरूले हामीलाई अलग हुन दिँदैनन् । त्यतिवेलाका हाम्रा उदाप्त विचार, मानवीय संवेदना र अनुभूतिको तीव्रताका सबै दृष्टिले उच्चता छोएका ती दिनहरूले हामीलाई फेरि पनि एकै ठाउँमा आउन प्रेरित गरिरहेको छ ।’

भट्टराईले २६औँ जनयुद्ध दिवसका अवसरमा सो पुस्तक प्रकाशनमा ल्याएका छन् । फेरि एकपटक इतिहासलाई समीक्षा गरेर अग्रगमनका लागि, परिवर्तनका लागि सहकार्य गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिँदै प्रचण्डले जनआन्दोलन र जनयुद्धको उपलब्धि तथा संविधानको रक्षाका लागि मोर्चा कसेर नयाँ संकल्पसहित अगाडि बढ्न प्रस्ताव पनि गरे ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा ठूलो विश्वासको संकट रहेका वेला अदालतबाट समेत अन्यथा हुन्छ कि भनेर अविश्वास गर्नुपर्ने अवस्था आएको बताए । संविधान निर्माणका वेला गरेको सम्झौतामा विश्वासघात गरी प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ थियो ।

‘मुलुकमा अहिले विश्वासको संकट छ । यस्तो वेला कहीँ अदालतले पनि अर्कै फैसला गर्ने हो कि भनेर सोच्नुपर्ने भएको छ, जब कि कहीँ ठाउँ नै छैन । कुनै पनि ठाउँ छैन, एक अक्षर पनि छैन, एउटा धारा पनि छैन । तैपनि फैसला केपी ओलीले गरेको विश्वासघातलाई समर्थन गर्ने आउँछ कि भनेर अविश्वास गर्नुपर्ने अवस्था छ । राष्ट्रिय आत्मविश्वासको संकट आज देशमा छ ।’

कार्यक्रममा डा. भट्टराईले संक्रमणकालीन न्यायका विषयमा साझा सहमतिसहित अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसलाई कसैले पनि ‘बार्गेनिङ चिप्स’को विषय बनाउन नहुनेमा जोड दिए । आयोग बनेपछि कतिपय मानिसले हेग जानुपर्छ भन्ने थालेकोमा आक्रोश व्यक्त गर्दै भट्टराईले प्रश्न गरे, ‘हामी किन हेग जाने ? यो महान् क्रान्ति थियो, क्रान्ति गरेबापत अहिलेसम्म कोही हेग गएको छ ?’

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबनिसम्बन्धी आयोग संविधानको महत्वपूर्ण अंग भएकाले शान्ति–प्रक्रियाका बाँकी कामलाई सबै मिलेर पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

जनयुद्धकै जगमा अहिलेको परिवर्तन आएको र पूरक आन्दोलनका रूपमा मधेस विद्रोह भएको भन्दै उनले अहिलेसम्मका सबैखाले राजनीतिक आन्दोलनको एकीकृत इतिहास लेखिनुपर्नेमा जोड दिए । इतिहास बिर्सने पार्टी र नेताहरूले वर्तमान र भविष्यको सही नेतृत्व गर्न नसक्ने उनको भनाइ छ ।

शनिबार नै राजधानीमा भएको अर्को पुस्तक विमोचनमा प्रचण्डले आफ्नो समूह फेरि अर्को क्रान्तिको तयारीमा रहेको बताए । नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन ‘जनयुद्ध’का राजनीतिक कमिसार गंगा कार्की ‘विश्व’द्वारा लिखित ‘दुसाध्य जनयुद्ध’ नामक पुस्तक विमोचन गर्दै प्रचण्डले भने, ‘अहिले हामी फेरि प्रतिक्रान्तिविरुद्धको लडाइँमा छौँ ।

हामी फेरि क्रान्तिका निम्ति अर्को तयारीमा छौँ, तर पहिलेको जस्तो होइन, आजको जस्तो । आजको परिस्थितिअनुकूल । आजको अर्थतन्त्र, राजनीति, संस्कृति, मनोविज्ञान, विज्ञान–प्रविधिलाई विचार गरेर क्रान्तिको नयाँ मोडल हामी आफैँले डोब खन्दै हिँड्नुपर्छ । कसैले राजमार्ग हामीलाई बनाइदिएको छैन ।’

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्ने सहिदहरूको अपमान गरिए विज्ञानसम्मत ढंगले अर्को जनविद्रोह हुने प्रचण्डको दाबी थियो । ‘जनआन्दोलन र जनयुद्धका सहिदलाई कतिपयले दबाइदिने सोचेका होलान्, तर हजारौँ–हजार सहिदहरू, सबभन्दा तल्लो वर्गका उपेक्षित र विभेदमा पारिएका, अपमानित गरिएका समुदायबाट सबैभन्दा बढी सहिद भएका छन् । अहिले कुनै तरिकाले हामीले सम्मान गर्न सकिएन भने पनि अर्को आउँछन् र चियान खोतल्न थाल्छन्, हजारौँ सहिदका कंकाल निकालेर जुलुस निस्किन थाल्छन्,’ प्रचण्डले भने ।

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले विश्वमा सूचना प्रविधिको तीव्रतम विकासले माक्र्सवादको प्रयोगमा चुनौती थपिएको चर्चा गर्दै डाटा पुँजीवादलाई नबुझेसम्म समाजवाद प्राप्तिको दिशामा सही ढंगले अगाडि बढ्न नसक्ने बताए ।

नयाँ पत्रिका दैनिकबाट..

 

प्रतिकृया दिनुहोस्