RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/४ गते
५५६ पटक

विराटनगर: मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको चन्दा नदिएको निहुँमा विप्लव समूहका छ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट नै उठाएर जंगलमा लगेर मङ्सिर २३ गते हत्या गरेका थिए ।

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रहरीले अनुसन्धान पश्चात ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा विवरण पेश गरेको थियो । सो मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता भएको हो ।

शिक्षक हत्या आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज डी.बी. सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेको थियो । संखुवासभा मादी नगरपालिका ४ का ३५ वर्षीय धनबहादुर विक, कपिलवस्तु शिवराज नगरपालिका–९ का ५३ वर्षीय विप्लव भनिने नेत्रविक्रम चन्द, रोल्पा थवाङ गाउँपालिका–१ का ५२ वर्षीय विशम भन्ने सन्तोष बूढामगर, कालिकोटका नरहरीनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), जाजरकोटका ४२ वर्षीय दीपक चलाउनेविरुद्ध अपहरण र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।

त्यस्तै मोरङ केराबारी गाउँपालिका–६ का ४५ वर्षीय प्रताप भन्ने थमनसिंह राई, खोटाङ साकेला गाउँपालिका–१ का ४१ वर्षीय शैलेस भनिने चन्द्रबहादुर बुढाथोकी, झापा गौरीगञ्ज–१ का २६ वर्षीय सञ्जय राई, भोजपुर षडानन्द नगरपालिका–२ का ४६ वर्षीय विवश भन्ने पुष्पलाल चौलागाई, धनकुटा सहिदभूमि गाउँपालिका–१ का ३३ वर्षीय दर्शन भन्ने नवीन राई, धनकुटा पाख्रीबास नगरपालिका–२ का २६ वर्षीय दर्शन थापा भन्ने विशाल मगर, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–५ का ५४ वर्षीय आकाश भन्ने माधव गौतम, सङ्खुवासभा चैनपुर–४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भन्ने युवराज राई, भोजपुर ट्याम्केमयुम–७ का ४१ वर्षीय भीम भन्ने कुमार राईविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

यस्तै खोटाङ दिप्रुङचुइचुम्मा गाउँपालिका–७ का ४३ वर्षीय सञ्जीव मगर, सोलुखुम्बु महाकुलुङ– १ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा ओखलढुङ्गा लिखु– ७ का ३१ वर्षीय अमृत सागर भन्ने योगेन्द्र बस्नेत, गोर्खाको अजिरकोट गाउँपालिका–३ का ४१ वर्षीय शिलु भन्ने उमा भुजेल, झापा दमक–२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बु सोताङ–१ का ३५ वर्षीय बालकुमार राई भन्ने राकेश राई, भोजपुर रामप्रसादराई गाउँपालिका–४ दलेगाउँका २५ वर्षीय चाम्स भन्ने मिलन राई, सङ्खुवासभा चैनपुर– ४ मैदानेका २२ वर्षीय नाती भन्ने बासन राई, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ का २२ वर्षीय अखिल भन्ने मनोज भुजेल, ताप्लेजुङ्ग मिक्वाखोला–१ का २३ वर्षीय लुङ्गा भन्ने सुदम लुङखिम्बा (लिम्बू) विरुद्ध मुद्दा दायर गरिएको छ ।

त्यस्तै भोजपुर पौवादुङ्मा गाउँपालिका–३ का २६ वर्षीय उमेश खत्री, ताप्लेजुङ मिक्वाखोला– ५ का २९ वर्षीय सङ्ग्राम भन्ने पूर्णबहादुर लिम्बू, धनकुटाका २४ वर्षीय आशिष भन्ने विक्रम राई, मोरङ मिक्लाजुङ– १ का २२ वर्षीय बिर्जुम भन्ने श्रीमान् राई, ताप्लेजुङ मिक्वाखोला–१ का २५ वर्षीय विशाल लिम्बू, ताप्लेजुङ फक्तालुङ गाउँपालिका–२ का २५ वर्षीय सङ्गम आङदाम्बे, भोजपुर पौवादुङ्मा–४ का २४ वर्षीया अनुष्का राई, ताप्लेजुङका २५ को हेतु साउदेन, इलाम देउमाई नगरपालिका–७ का ३६ वर्षीय मौषम भन्ने जितमान राई, ४५ वर्षीय अविनाश भन्ने डम्बर मगर र मिक्लाजुङ ८ का ४५ वर्षीय महावीर भन्ने जितेन्द्र महराविरुद्ध मुद्दा दायर भएको हो ।

गत मङ्सिर २३ गते शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरमा बर्खेको जंगलमा शव भेटिएको थियो । हत्यापछि नेपाल कम्युनिष्ट पार्टीका विप्लव समूहले विज्ञप्ति प्रकाशित गर्दै घटनाको जिम्मा लिएको थियो ।

विप्लव समूहको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को निर्देशनमा शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरेको अभियोग पत्रमा दाबी गरिएको छ । सो मुद्दामा मंगलबारबाट थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

अन्नपुर्ण पोष्ट दैनिकबाट

 

प्रतिकृया दिनुहोस्