RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/५ गते
९६६ पटक

काठमाडौँ ।  प्रहरीले घटनामा संलग्न रहेको साबिती बयानका आधारमा भागिरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।

घटनामा उनको संलग्नता पुष्टि हुने प्रशस्त आधार र प्रमाण भेटिएपछि र उनले स्वीकार गरेपछि प्रहरीले सार्वजनिक गरेको बताएको छ । प्रहरीले घटनास्थलबाट प्राप्त सबुत प्रमाणलाई विभिन्न तथ्यका अधारमा परीक्षण गर्दै आइरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी एवम् प्रवक्ता मुकेश सिंहले अभियुक्तको बयान, परिस्थितिजन्य प्रमाण र मोबाइल कल डिटेल, लोकेसन लगायत म्यानुअल र प्राविधिक प्रमाणका आधारमा उनी नै सो घटनाको अभियुक्त भएको बताए ।

‘उनलाई हामीले पहिले देखि नै सर्भिलेन्समा राखेका हौँ, उनले घटनाका बखत जोसँग जहाँ थिएँ भनेका थिए, ती सबै झुट साबित भए, पछिल्लो समय उनी डरले पछिपछि पर्न थालेको देखियो, ती सबै आधार र प्रमाणबाट उनीमाथि निगरानी र सोधपुछ बढाउँदा संलग्नता पुष्टि भयो, बयानका क्रममा उनले घटना आफैँले घटाएको स्वीकारे,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिंहले हाम्रा कुरासँग भने ।

प्रहरीले घटनाका विरुद्ध हुँदै आइरहेका स्थानीय प्रदर्शनदेखि नै दिनेशप्रति निगरानी राख्दै आइरहेको थियो । उनी भागिरथीको शव भेटिएपछि भएका विद्यार्थीहरूको प्रदर्शनमानसमेत सहभागी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तर त्यसपछि प्रहरीले घटनाका अनुसन्धानको लागि तालिम प्राप्त कुकुर घटनास्थलमा लैजाने र कुकुरले घटनामा संलग्न व्यक्ति सुँघेर नै पत्ता लगाउने भन्ने हल्ला भएपछि भने उनी घटनास्थल नआई गोरु चराउन गोठालो गएकोसमेत अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरू बताउँछन् । त्यसपछि प्रहरीले दिनेशमाथि निगरानी झनै बढाएका थिए ।

‘अभियुक्त आफैले अपराध स्वीकार गरिसकेको अवस्था छ, सबुत प्रमाणबाट पनि घटनामा उनको संलग्नता पुष्टि भइसकेको छ, उनीहरू स्कुलबाट निस्किएको, बिचमा अलमलिएको र घरमा पुगेको देखी घटना भएकासम्मका विषय आरोपितले स्वीकार गरेको अवस्था हो,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने ।

भागिरथी हत्याको १३ दिनसम्म प्रहरीले सूक्ष्म ढङ्गले संदिग्धसँग बयान लिनुका साथै घटनास्थल आसपासका स्थानीय, विद्यालयका विद्यार्थी, शिक्षक, घटनास्थल भएर हिँड्ने व्यक्ति, सवारी साधन, भागिरथीका आफन्त लगायतसँग अनुसन्धानका क्रममा सोधपुछसमेत गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले केही व्यक्तिलाई ‘क्लोज सर्भिलेन्स’मा राखेको बताउँदै आइरहेको थियो भने केही दिनदेखि अनुसन्धानको दायरा साँघुरो हुँदै आइरहेको बताउँदै आएको थियो ।

सोही क्रममा प्रहरीले दिनेशसँग समेत पटक पटक सोधपुछ गरेको थियो भने मङ्गलवार मात्रै उनले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्