RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/५ गते
८५३ पटक

सरकारले भारतबाट प्रति डोज ४ डलर (५१३ रुपैयाँ) हालेर कोरोनाविरुद्धको खोप खरिद गर्ने निर्णय गरेको छ । भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिसिल्ड खोप सरकारले किन्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले रकम भुक्तानी गर्ने विषयमा पनि बाधा अड्काउ फुकाउने निर्णय गरेपछि किन्न सजिलो बनेको हो । सिरम इन्स्टिच्यूटसँग २० लाख डोज खोप खरिद गर्ने र एक डोजको ४ डलरमा खरिद गर्ने सहमति यसअघि नै भए पनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । भण्डारण, ढुवानी र पहिलो चरणको प्रभावकारितालाई विश्लेषण गर्दै नेपालले कोभिसिल्ड खोप नै खरिद गर्ने निर्णय गरेको थियो । तर सेरमले अग्रमि भुक्तानी माग गरेपछि यो प्रक्रियामा थप छलफल गरेर मन्त्रिपरिषद्मा सैद्धान्तिक निर्णयका लागि पठाइएको थियो ।

खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशतमात्रै अग्रिम भुक्तानी दिन सक्ने मात्रै प्रावधान छ । तर सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेको थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ गरेको स्वास्थ्य हृदयश त्रिपाठीले जानकारी दिनुभयो । नेपालले २० लाख डोज खरिद गर्दा हालको मुल्य अनुसार ९३ करोड २८ लाख रुपैयाँ तिनुपर्ने देखिन्छ । यद्यपी अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने भएकाले भुक्तानीको समयमा आउने अन्तरले पनि रकमको यकिन विवरण खुलाउने छ ।

सेरमले प्रति डोज ४ डलर ४ सेन्टमा २० लाख डोजमा खोप उपलब्ध गराउने बताएको थियो । नेपालका तर्फबाट प्रतिडोज ४ डलरमा उपलब्ध गराउन पहल भएको थियो । कम्पनीले नेपालको प्रस्तावलाई स्वीकार गर्दै ४ डलरमा खोप उपलब्ध गराउन सहमत भएको हो । तर, कम्पनीले खोपको रकम भने पहिले नै उपलब्ध गराउनु पर्ने सर्त राखेपछि मन्त्रिपरिषद्बाट निर्णय गराएको बताइएको छ । नेपालको खरिद ऐनमा व्यवस्था भएबमोजिम नेपालले कुनै पनि खोप, औषधिजन्य सामग्री खरिद गर्दा सामान नेपाल आइपुगेपछि मात्र लागत रकम भुक्तानी गर्ने गरेको छ ।

भारतको उक्त कम्पनीलाई सोही खोप उपलब्ध गराउन भन्दै बंगालदेशले ३४ लाख डोजका लागि प्रतिडोज साढे ५ डलरमा अग्रिम भूक्तानी गरिसेकेको छ । सेरमले ९३ वटा देशमा खोप पु¥याइसकेको अवस्था छ । कम्पनीले नेपाललाई सस्तोमा भ्याक्सिन दिन तयार भएका कारण खरिदको निर्णय छिटो गर्नुपर्ने बाध्यता रहेको थियो । नेपालले बंगलादेशसँग भन्दा प्रतिखोप साढे एक डलर बचत गर्न सफल भएको छ । हालको नेपाली रुपैयाँमा तुलना गर्ने हो भने यो रकम ३४ करोड ८० लाख रुपैया हुन्छ ।

प्रतिकृया दिनुहोस्