RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/६ गते
६२० पटक

काठमाडौँ । सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाउने निर्णय गरेको हो ।

भारत सरकारले उपलब्ध गराएको कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेदेखि लगाउन थालिएको छ । पहिलो चरणमा प्राथमिकतामा परेको स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो ।

यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाउन थालिएको छ । यसअघि माघ २६ देखि ३० गतेसम्म काठमाडौँमा कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा पत्रकारलाई समेत खोप लगाइएको थियो ।

अहिलेसम्म दुई लाख ६३ हजार ४८२ जनाले खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पहिलो चरणमा प्राथमिकता परेका ८४ प्रतिशतले खोप लगाएको उनको भनाई छ ।

प्रदेश नं १ मा ७२ प्रतिशत, प्रदेश नं २ र वाग्मती प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा सतप्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, कर्णाली प्रदेशमा ७२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९१ प्रतिशतले पहिलो चरणमा पहिलो प्राथमिकता परेका व्यक्तिले खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्