RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/७ गते
६३५ पटक

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरे पनि आफन्तले अझै शव बुझेका छैनन् । प्रहरीले अभियुक्त दिनेश भट्टलाई बुधबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेको छ ।

प्रहरीले मृतक भागरथीको आफन्त पर्ने दिनेशलाई पक्राउ गरेको भए पनि प्रमाण देखाउनुपर्ने भन्दै शव बुझ्न अस्वीकार गरेको भागरथीका आफन्तले बताएका छन् ।

यसैबीच भागरथीको हत्या गरेको आरोपमा पक्राउ परेका दिनेशले परिवारका सदस्य र आफ्नै बुबासँग समेत आफूले नै हत्या गरेको बताएका छन् ।

१८ वर्षीय दिनेशले परिवारका सदस्यसँग भागरथीको हत्या आफूले नै गरेको कुरा साँचो भएको बताएका हुन् । दिनेशले हत्या गरेको कुरामा विश्वास गर्न सकिने ठोस प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै शव बुझ्न अस्वीकार गरेपछि प्रहरीले परिवारका सदस्यलाई उनीसँग एक्ला एक्लै भेटाएर कुराकानी गर्न लगाएको थियो ।

सोही क्रममा उनले भागरथीको हत्या गरेको बताएको अभियुक्त र मृतकका काकासमेत रहेका शिवराज भट्टले बताए । अभियुक्तले प्रहरीलाई दिएकै साबिती बयानसँग मिल्ने कुरा परिवारका सदस्यसँग भने पनि अब त्यसलाई पुष्टि गर्ने सबुत प्रमाणसमेत प्रहरीले आफूलाई देखाउनुपर्ने पीडित पक्षको माग रहेको छ ।

राजधानी दैनिकबाट………..

प्रतिकृया दिनुहोस्