RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/८ गते
५०९ पटक

पार्टीभित्र संसद् पुनर्स्थापनाको पक्षमा मत बढ्दै जाँदा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसँग अदालतको विश्वास गर्न आग्रह गरेका छन् । नुवाकोट कांग्रेसको नवनिर्मित भवन उद्घाटन गर्दै देउवाले अदालतको निर्णयअनुसार पुनर्स्थापना वा चुनावी विकल्पमा जानुपर्ने धारणा राखे ।

‘प्रजातन्त्रमा अदालत नै सर्वोच्च निकाय हो । संसद् विघटनलाई असंवैधानिक भनिसकेका छौँ । अब संविधानको अन्तिम व्याख्या गर्ने काम अदालतको हो,’ देउवाले भने, ‘त्यसैले अदालतलाई विश्वास गरौँ न प्लिज ! अदालतको निर्णय के हुन्छ, त्यही मानौँ । संसद् पुनर्स्थापना गर्छ भने पनि त्यसलाई सहज स्वीकार गरौँ । चुनाव हुन्छ भने चुनावमा जाऔँ ।’

अदालतको निर्णयअनुसार अगाडि बढ्ने भने पनि देउवाले कार्यकर्तालाई चुनावी तयारीमा जुट्न निर्देशन दिए । ‘प्रचण्ड र ओली चुनावमा जानलाई निर्वाचन चिह्नका लागि लडेकोलड्यै छन् । चुनावका लागि तयार भइसकेका छन् । दुवैलाई चुनाव चिह्न चाहिएको छ,’ वरिष्ठ नेता पौडेललाई लक्षित गर्दै देउवाले प्रश्न गरे, ‘तर, हाम्रा साथीहरूचाहिँ चुनाव हुँदैन, हुँदैन भन्याभन्यै गर्छन् । कुराको पनि हद हुन्छ नि ! भोलि यदि चुनाव भयो भने के गर्ने ?’

देउवाले चुनाव नगराए सबै मिलेर ओलीलाई हटाउने सूत्र पनि अगाडि सारे । ‘संसद् विघटन भए संविधानअनुसार ६ महिनाभित्र चुनाव गराउनैपर्छ । चुनाव नगराए ओलीलाई सबै लागेर निकालौँला । चुनाव जेठमा नभएर के बिग्रियो ? दुई वर्षभित्र त चुनाव हुनैपर्छ । चुनावसँग डराउनुहुँदैन । वास्तवमा मान्छेहरू चुनावसँग डराउँछन्,’ देउवाले भने, ‘कि राजनीति छाड्नुपर्‍यो कि चुनावमा जान तयार हुनुपर्‍यो ।’

पार्टीभित्र संसद् पुनर्स्थापनाको पक्षमा बोल्ने नेताहरूतर्फ लक्षित गर्दै देउवाले उनीहरू अझै प्रचण्ड–माधवको विरोधमा बोल्न डराएको आरोप लगाए । ‘मैले पहिला नै बोलेको थिएँ, कम्युनिस्ट पार्टीको सरकार आएपछि बोल्न–लेख्न पाइनेछैन, हाँस्न–रुन पनि पाइनेछैन ।

आज बल्ल साथीहरू ओलीको खिलापमा बोल्न सक्ने भएका छन्,’ स्टेजमै भएका अन्य नेतालाई लक्षित गर्दै देउवाले भने, ‘प्रचण्डको खिलापमा बोल्न डराएका छन् नि यहाँ ! उनको नामै लिन सक्दैनन् बिचराहरू ! के गरून् ? त्यस्तो हालत छ । म यस्तो पार्टी बनाउन चाहन्छु कि प्रचण्ड र ओली सबैको खिलापमा बोल्न सक्ने हिम्मत होस् ।’ देउवाले कांग्रेसलाई चुनावमा कसैले हराउन नसक्ने बताए । ‘बरु कांग्रेसले कांग्रेसलाई हराउँछ, अरूले हराउँदैन, त्यसकारणले मिलेर गरौँ । पार्टीलाई जिताऔँ,’ देउवाले भने ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सभापति देउवाले पुनर्स्थापनाको पक्षमा निर्णय गर्न नमानेको गुनासो गरेका छन् । ‘अहिले संसद् पुनर्स्थापना नभए देशमा चुनाव नहुने र संसद् नै सधैँका लागि भंग हुने अवस्था छ, मैले केन्द्रीय समितिमा यो प्रस्ताव लगेँ,’ पौडेलले देउवालाई लक्षित गर्दै भने, ‘तर, केन्द्रीय समितिबाट निर्णय भएन ।’ पौडेलले बुधबार र बिहीबारको केन्द्रीय समिति बैठकमा आफूले तीनवटा प्रस्ताव लगेको खुलाए । ‘संवैधानिक अंगको नियुक्ति खारेजी, संसद्को पुनर्स्थापना र प्रदेशमा दर्ता भएको अविश्वासको प्रस्तावका पक्षमा मतदान गरौँ भन्ने मेरो प्रस्ताव थियो, तर पार्टी निर्णयविहीन भएर बसिराखेको छ,’ पौडेलले भने ।

सुनसरीको धरान उपमहानगरपालिकामा निर्मित बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्दै पौडेलले देउवाले विघटन गरेको संसद्लाई ०६२/६३ मा जनआन्दोलनबाट ब्युँताएको इतिहास नभुल्न आग्रह गरे । ‘हामीले आन्दोलनबाट नै संसद् फर्काएर ल्याएका हौँ । शेरबहादुर देउवाले विघटन गरेको संसद्लाई आन्दोलनबाट फर्काएको नबिर्सौँ । फेरि ०६२/६३ को जस्तो इतिहास नदोहोरिहोस्,’ पौडेलले भने ।

उनले अदालतले संसद् विघटनलाई सदर गरे देश द्वन्द्वमा फस्ने बताए । ‘अदालतले संसद् विघटनलाई सदर गरे सरकारले अहिले घोषणा गरेको चुनाव हुनेवाला छैन, त्यसो भए वैशाखको २७ गतेपछि शासनको अथोरिटी कोसँग हुन्छ ?’ पौडेलले प्रश्न गरे ।

उनले चुनावको घोषणा गरेका कारण २७ वैशाखसम्म ओलीलाई शासन गर्ने अधिकार भए पनि त्यसपछि उनलाई शासन गर्ने अधिकार नभएको बताए । ‘चुनाव गर्छु भनेकाले वैशाख २७ गतेसम्म केपी ओलीसँग शासन गर्ने अधिकार होला । तर, त्योभन्दा पछि शासन गर्ने अधिकार कोसँग हुन्छ ? त्यसो हुँदा मुलुकमा अराजकता आउँछ कि आउँदैन ? त्यसपछि यो राज्यलाई नेत्रविक्रम चन्दहरूले पनि च्यालेन्ज गर्ने भए । सेनाले पनि च्यालेन्ज गर्ने भए । जोसँग हतियार छ, उसैले राज्यलाई च्यालेन्ज गर्ने भए । जोसँग हतियार छ उही शक्तिशाली हुने दिन आउँछन्,’ पौडेलले भने ।

पौडेलले कांग्रेसले यस्तो अवस्थामा मुलुकलाई बेवारिसे छाड्न नहुने बताए । ‘कांग्रेसले मुलुकलाई बेवारिसे छोड्नुहुँदैन । मेरो पार्टीका नेताहरूलाई मेरो यही आग्रछ,’ सभापति देउवालाई लक्षित गर्दै पौडेलले भने, ‘कांग्रेसजस्तो पार्टीले मुलुकमा संकट भएका वेलामा रमिते बन्न मिल्दैन । कांग्रेस देशको वारेस हो । कांग्रेस देशको भरोसा हो । हिजो राजा थिए । आजको भरोसा राजनीतिक दल नै हुन् । कांग्रेसै हो ।’ नेता पौडेलले जनताले राजनीतिक दलहरूप्रति गरेको भरोसा तोड्न नहुने बताए ।

पूर्वमहामन्त्री नेता प्रकाशमान सिंहले ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताए । ‘नेकपा सत्ता सञ्चालनमा असफल भयो । अब नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको छ । र, जनताले बिदा पनि गर्छन्,’ उनले भने । नेता सिंहले ओलीले संविधानअनुसार नभई राजनीतिक निर्णय गरेको बताएकाले यसबाट ओली आफैँले असंवैधानिक कदम उठाएको स्वीकार गरेको बताएका छन् ।

केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्रीको कदमले संविधानलाई विघटन गराएको बताए । ‘ओलीले प्रतिनिधिसभाको मात्रै विघटन गरेका छैनन्, संविधानको विघटन गरेका छन्, त्यसैले पुनस्र्थापनाको विकल्प छैन,’ थापाले भनेका थिए । कार्यक्रममा पूर्वसहमहामन्त्री डा. रामशरण महत, अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू कमला पन्त र प्रदीप पौडेलले पनि बोलेका थिए ।

नयाँ पत्रिका दैनिकबाट…….

प्रतिकृया दिनुहोस्