RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१० गते
४१ पटक

बैतडी,  जापान गएका छोरा घर बोलाएर बैतडीका एक किसनले गाउँमै कृषि क्रान्ति सुरु गर्नुभएको छ । बाख्रापालन, टर्कीपालन र मौरीपालन व्यवसायबाट बैतडीका वासुदेव भट्ट वार्षिक ४० लाख भन्दा बढी आम्दानी गर्न सफल हुनु भएको छ ।

भट्ट आफूमात्र उद्यममा छैनन्, कृषि सहकारी स्थापना गरेर गाउँका ४३२ जनालई पनि कृषि क्रान्तिमा सहभागी गराउँनु भएको छ । ‘पैँसा कमाउन किन विदेश जाने ?’ स्वदेशमै मेहनत गरे यही सुन फल्ने भट्टको भनाई छ ।

बैतडीको दशरथचन्द नगरपालिका–५, पल्लाचौडालीको उरागाउँका वासुदेव भट्ट गाउँमा आफू बचेको समय निकालेर गाउँ टोलमै पुगेर मौरी पालन सम्बन्धी तालिम दिईरहनु भएको छ ।

सिङ्गो गाउँलाई नै समेटेर उरागाउँ कृषि सहकारी संस्थामा ४३२ जनालाई आबद्ध गरेर मौरी पालन सम्बन्धी तालिम दिईरहेको भट्टले बताउनुभयो । सहकारीमा आबद्ध भएका सदस्यहरुले अहिले मौरी पालन र बाख्रापालनमा लागेको उहाँले बताउनुभयो ।

‘गाउँमा अहिले तीनसय घरपरिवारले मौरी पालन र बाख्रापालन सुरु गरिसक्नु भएको छ, ’ भट्टले भन्नुभयो, ‘ अहिले प्रत्येक घरमा कम्ती पाँच घार मौरी नहुँने कुनै परिवार छैन ।’गाउँभरि माहुरी पालन सुरु भएपछि उरागाउँमा अहिले वार्षिक करोडौं रुपियाँ भित्रिरहेको छ ।

समाचार संकलन गर्न पल्लाचौडालीको उरागाउँ पुग्दा वासुदेव भट्ट उरागाउँ कृषि सहकारीका सदस्यलाई मौरी पालन सम्बन्धी तालिम दिईरहेको अवस्थामा भेटिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत मौरी पालनको तालिम सञ्चालन भईरहेको वासुदेवले बताउनुभयो ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट एक दिनको मात्र तालिम थियो, भट्टले भन्नुभयो, ‘एक दिनले मात्र नपुग्ने भएकोले सहकारीबाट थप दुई दिनको गरेर तीन दिनको तालिम चलिरहेको छ ।’

सहकारीबाट करिब पाँच मिनेट ओरालो झरेपछि वासुदेव भट्टको घर पुगिन्छ । ‘पहाडको भीरालो जमिन । अन्न खासै फल्दैन । सिँचाई सुविधा पनि छैन,’ वासुदेवले भन्नुभयो, ‘ जम्मा १५ रोपनी जमिनछ । यहीबाट मैले २० वर्षअघि मैरी पाल्न सुरु गरेको हुँ ।

मौरीबाट राम्रो आम्दानी भयो । छोरालाई पढाएँ । छोराले त्यसपछि जापान जान्छु भन्यो । तीन वर्ष जापान बिताएको छोरालाई मैले घर बोलाए र २०७३ सालबाट बोयर जातको बाख्रा र टर्की पाल्न सुरु गरेको हुँ ।’

बुवाको योजना अनुसार जापान छोडेर घर फर्किनु भएका मनोज भट्ट अहिले बुवाको उद्यमशीलतालाई सघाईरहनु भएको छ । मौरीले टोक्दा अनुहार सुन्निएको देखाउँदै मनोजले भन्नुभयो, ‘ टर्की र बाख्राबाट सुरुमा त के आम्दानी होला र ? जस्तो लागेको थियो । दुई वर्ष त लगानीमै गयो । अहिले राम्रो आम्दानी भईरहेको छ । मैरीबाट बढी फाईदा हुने रहेछ । अब विदेश जाने कल्पना पनि छैन ।’

वासुदेवको घर वरिपपरि मौरीका करिब एक सय घार छन् भने, बाख्रा र टर्कीको अल अलग दुई खोर निर्माण गरिएका छन् । ह्याचरी मेशिनबाट गाउँमै टर्कीको चल्ला उत्पादन भईरहेका छन् । टर्कीका चल्लाको माग अत्याधिक आउन थालेपछि एक पल्टमा छसय चल्ला उत्पादन गर्ने मेशिनले नभ्याएपछि अहिले एकहजार दुई सय चल्ला उत्पादन गर्ने मेशिन थपेको वासुदेव भट्टले बताउनुभयो ।

‘एक हप्ताभन्दा माथिको टर्कीको चल्ला दुईहजार दुईसय रुपियाँ जोडा बिक्री गर्ने गरेको छु, भट्टले भन्नुभयो, ‘मासु एक हजार रुपियाँ प्रति किलो जाने गरेको छ । मासु भन्दा चल्लाको माग अत्याधिक छ । एकदमै राम्रो आम्दानी भईरहेको छ ।’टर्कीको दाना बजारबाट किन्दा महङ्गो पर्ने भएकोले स्थानीय अन्न मकैं, भटमास, जौ र कोदो मिलाएर घरमै दानासमेत तयार गर्ने गरेको भट्टले बताउनुभयो ।

बाख्राका लागि मकै, भटमास र जौ आवश्यक पर्छ । टर्कीका लागि पनि गाउँमै फल्ने अन्नबाट दाना तयार गरिरहेको वासुदेवले बताउनुभयो ।
स्थानीय बाख्राबाट उन्नत जातको बोका ल्याएर नस्ल सुधार गर्दा बाख्राबाट पनि राम्रो आम्दानी भईरहेको भट्टले बताउनुभयो । ‘

अस्ट्रेलियाबाट तीन लाखमा बोयर जातको बोका मगायौं । काठमाडौंबाट बैतडीसम्म तीसहजार ढुवानी लाग्यो । खोर निर्माणमा दुई लाख रुपियाँ खर्च गरे । दुई वर्षसम्म त लगानी फिर्ता हुने कुरा भएन,’ भट्टले भन्नुभयो, ‘अहिले बाख्राबाट वार्षिक सात लाख रुपियाँ भन्दा बढी आम्दानी भईरहेको छ ।’

बुवा–छोरा दुई जना टर्की र मौरीमै व्यस्त हुनु पर्ने भएकोले दैनिक दुई तीन घण्टा बाख्रा चराउन दुई जनालाई मासिक तलबमा नियुक्त गरेको मनोज भट्टले बताउनुभयो । कामदारलाई मासिक १३ हजार तलब, दैनिक खाना र लुगाकपडा दिने गरेको उहाँले बताउनुभयो ।

बाख्राको हेरचाह गरिरहनु भएका स्थानीय दुरा कोली र कमल लोहारले गाउँमै रोजगारी पाउँदा खुशी लागेको बताउनुभयो । ‘गाउँमै रोजगारी पाउँदा भारत जानु परेको छैन, ’ लोहारले भन्नुभयो, ‘ दैनिक दुई÷चार घण्टा काम गर्दा मासिक १३ हजार तलब आईरहेको छ । खाना पनि यतै खाने गरेका छौं । लुगा कपडा किन्नु परेको छैन । घर धान्न पुगेको छ । ’

गोखापत्र दैनिकबाट……….

प्रतिकृया दिनुहोस्