RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१० गते
५९६ पटक

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत १० लाख डोज कोभिसिल्ड खोप नेपाल भित्रिएको छ । सरकारले २० लाख डोज भ्याक्सिन भारतबाट खरिद गर्न लागेकोमा पहिलो चरणमा १० लाख डोज आइतबार भित्रिएको हो । यसका लागि सरकारले केही दिनअघि लगभग १ अर्ब रुपैयाँबराबरको खोप ल्याउने सम्झौता गरेको थियो ।

खरिद गरिएको एक डोज खोपको मूल्य ४ डलर पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि सिरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोपको २० लाख डोज खरिदका लागि फागुन ५ गते खरिद सम्झौता गरेको थियो । सो सम्झौताअनुसारको पहिलो चरणमा १० मात्राको पहिलो खोप एयर इन्डिया दिल्ली काठमाडौं १३.३० बजेको उडानमार्फत प्राप्त भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्राप्त खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण कक्षमा राखिएको बताए । “यो खोप फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरूबाट देशैभरका खोप केन्द्रहरूमा वितरण गरिनेछ,” उनले भने, “साथै सम्झौताबमोजिम बाँकी खोप उत्पादकसँगको आपसी सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त हुनेछ ।”

यो खोप एस्ट्राजेनेका अक्सफोर्ड युनिभर्सिटीको प्राविधिक सहयोग सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । यसअघि भारत सरकारले १० लाख डोज खोप नेपाललाई अनुदानका रूपमा दिएको थियो ।

प्रवक्ता गौतमले हाल नेपालमा लगाइरहेको कोभिसिल्ड खोप अहिलेसम्म सबैभन्दा बढी मानिसले लगाएको खोपमध्ये रहेको जनाए । हाल नेपालमा ४ लाख २ हजार २ सय ६४ जनालाई खोप लगाइसकिएका कारण सबैभन्दा सुरक्षित रहेको डा. गौतमले बताए ।

यसअघि अनुदानमा प्राप्त खोपमध्ये पहिलो चरणको दोस्रो प्राथमिकताअनुसार २ लाख १२ हजार ९ सय १९ जनाले खोप प्राप्त गरिरहेका छन् । नेपाल सरकारले कोरोनाविरुद्धको खोपका लागि पहिलो प्राथमिकतामा ९ लाख जनसंख्या रहेको जनाउँदै खोप आभियान सुरु गरेको थियो ।

दोस्रो चरणमा जिल्ला तथा इलाका कार्यालयमा काम गर्ने कर्मचारीहरू, बीओपीमा काम गर्ने प्रहरीहरू, बैंकमा काम गर्ने कर्मचारीहरू पहिलो चरणमा खोप लगाउन छुटेका व्यक्तिहरू काठमाडौंबाहिरका पत्रकारहरूले खोप लगाइरहेका छन् । पहिलो चरणमा ९ लाखलाई लगाउने जनाइएअनुसार ५ लाख जनाको खोप उपलब्ध भएकोमा ४ लाखभन्दा बढीले खोप लगाइसकेका छन ।

पहिलो चरणमा सञ्चालन भएको खोप अभियानअन्तर्गत लक्षित समूह ८४ प्रतिशतले खोप लगाएका थिए । नेपालमा लगाइरहेको कोभिसिल्ड खोप विश्व स्वास्थ्य संगठनको आपतकालीन खोपअन्तर्गत स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ ।

अध्ययन र हालको अनुभवले यो खोप सुरक्षित रहेकाले शंका नगरी लगाउन सरकारले अनुरोध गरेको छ । हाल प्रदेशअनुसार प्राथमिकतामा परेकाहरूमध्ये प्रदेश १ मा ७२ प्रतिशत अर्थात् २३ हजार ८३, प्रदेश २ मा ८४ प्रतिशत अर्थात् २३ हजार ३ सय १०, बागमती प्रदेशमा पनि ८४ प्रतिशत अर्थात् ६२ हजार २ सय ३१, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत अर्थात् ३९ हजार ८ सय ८८, गण्डकी प्रदेशमा शतप्रतिशत अर्थात् २८ हजार

३ सय २९, कर्णाली प्रदेशमा १५ हजार ८ र सुदूरपश्चिम प्रदेशमा ९१ प्रतिशत अर्थात २१ हजार ८० जनाले खोप प्राप्त गरेका छन् ।
माघ १४ गतेबाट सरसफाइकर्मी, स्वास्थ्यकर्मी, महिला स्वयम्सेविका, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा संलग्न कर्मचारीहरू, जेलमा रहेका बन्दी र सञ्चारकर्मीलगायतले खोप लगाएको मन्त्रालयले जनाएको छ । फागुन २३ पछि ६० वर्षभन्दा बढीका मानिसहरूलाई स्थानीय स्तरका खोप केन्द्रबाट खोप दिइनेछ ।

करोबार दैनिकबाट……………..

प्रतिकृया दिनुहोस्