RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/११ गते
७३५ पटक

काठमाडौँ । निर्वाचन आयोगले चुनावका लागि चाहिने सामाग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । राजनीतिक वृत्तमा वैशाखमा तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता कायमै रहेका बेला आयोगले ७ दिने सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो ।

सार्वजनिक खरिद ऐन २०६४ र नियमावलीअनुसार नियमित प्रक्रियाबाट सामान खरिद गर्दा वैशाखमा चुनाव गर्न सम्भव नहुने भएकाले फास्टट्रकबाट सामाग्री खरिद गर्न बोलपत्र आह्वान गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार चुनावका लागि मतदान केन्द्रमा चाहिने सामाग्रीलाई ११ समूहमा विभाजन गरिएको छ ।

सरकारले तोकेको मितिमा निर्वाचन गराउनु आयोगको दायित्व भएकाले सामाग्री खरिद प्रक्रिया अगाडि बढाएको प्रवक्ता श्रेष्ठले बताए । ‘अब अदालतको निर्णय पर्खिदा हामी तोकिएकै समयमा निर्वाचन गराउन सक्दैनौं,’ उनले भने, ‘सामाग्री मतदान स्थलसम्म पुर्याउन अझै ढिलो हुने अवस्था छ, त्यसैले फास्टट्रकबाट खरिद गर्दैछौं ।’

उनका अनुसार निर्वाचन आयोगले सर्वाेच्चको फैसला बमोजिम सूचना रद्ध गर्न पनि सक्नेछ । ‘सर्वाेच्चका फैसला बमोजिक सूचना रद्ध गर्नसक्ने अधिकार आयोगसँग रहन्छ,’ उनले भने, ‘यदि निर्वाचन हुनसक्ने अवस्था नभएमा ती सामाग्रीहरु अर्काे चुनावमा पनि प्रयोग गर्न सकिन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गरेकी हुन् । तर उक्त निर्णय असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा १३ रिट परेका छन्, जसको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतले यही हप्ताभित्र फैसला सुनाउने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्