RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१३ गते
५२३ पटक

काठमाडौँ, सञ्चयकर्ताले अबदेखि कोषमा दाखिला भएको रकमबारे तत्काल नै जानकारी पाउने भएका छन् । कोषमा रकम जम्मा भए नभएको नै जानकारी नपाइरहेका सञ्चयकर्ताका लागि वास्तविक समयमा नै जानकारी दिनेगरी महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषले संयुक्त रूपमा नयाँ विद्युतीय सरकारी लेखा प्रणालीको सुरु गरेका हुन् ।

यस प्रणालीमार्फत नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायहरूमा कार्यरत कर्मचारीको कारोबारको वास्तविक समयमा नै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङ्कन हुनेछ । यसबाट सञ्चयकर्ताले सञ्चय कोष, निवृत्तभरण कोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी रकम कारोबारको वास्तविक समयमा जानकारी पाउन सक्नेछन् ।

प्रणालीको कार्यान्वयनबाट कारोबारको सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकाले सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्ट हुने, घटी बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरैवटा खाता रहनेलगायतका समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रणालीको बुधबार आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको थियो ।

त्यस अवसरमा कोषका अध्यक्ष रामशरण पुडासैनीले उक्त प्रणालीको विकासले सरकारी लेखा प्रणालीको सुधारमा इँटा थप्ने काम गरेको बताउनुभयो । उहाँले सञ्चय कोष रकम कारोबारको वास्तविक समयमा नै सञ्चयकर्ताको खातामा प्रविष्ट हुने भएकाले सञ्चयकर्ताले छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्ने बताउनुभयो ।

महालेखा नियन्त्रक मधुकुमार मरासिनीले उक्त प्रणालीले सरकारको विद्युतीय सुशासन कार्यान्वयनमा ठूलो सहयोग पुग्ने र पारदर्शिता कायम गर्ने कार्यमा समेत सघाउ पुग्ने बताउनुभयो ।

कोषका प्रशासक तुलसीप्रसाद गौतमले विद्युतीय सरकारी लेखा प्रणालीको कार्यान्वयनबाट कर्मचारी सञ्चय कोषको फाँटबारी सङ्कलन कार्यमा सरलीकरण र सहजीकरण हुने बताउनुभयो । उहाँले यो प्रणालीको कार्यान्वयनबाट कोषको समग्र कार्यसम्पादनमा परिवर्तन हुने कुरा बताउनुभयो ।

गोरखापत्र दैनिकबाट………….

प्रतिकृया दिनुहोस्