RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२९ गते
४७९ पटक

आठ मार्चको अवसर पारेर दशहजार महिलाको सहभागितामा शनिवार राजधानीमा वृहत राष्ट्रिय महिला भेला हुने भएको छ ।अखिल नेपाल महिला सङ्घ –(अनेमसङ्घ) द्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सङ्घले ‘संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौं’ भन्ने नारासहित उक्त भेला गरिने जानकारी गराएको हो ।

कार्यक्रममा अनेम सङ्घका संयोजक सीता पौडेलले नेपाली महिलाको हरेक क्षेत्रमा ३३ प्रतिसतको सहभागिताको ग्यारेन्टीको माग राजनीतिक रुपमा सफल देखिनु नीतिमै तोकिएकै कारण सफल भएको हो भन्दै अन्य क्षेत्रमा पनि त्यस अवधारणा लागु हुनुपर्ने मागलाई भेलाले वृहत रुपमा उठाउनेछ भन्नुभयो ।

लैङ्गीक समानताको माग गरिरहँदा राजनीतिक क्षेत्रमा मात्र होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पनि महिलाको सार्थक सहभागीता हुनुपर्ने आवश्यकतालाई व्यवहारमा लागु गनै भेलामा सहभागी महिलालाई प्रशिक्षत गर्ने लक्ष्यले भेला आयोजना गर्दैछौँ–उहाँले भन्नुभयो ।

त्यसैगरी अभिव्यक्ति स्वतन्त्रताको नाममा व्यक्तिगत आक्षेप लगाउने क्रम बढेकोले आगामी दिनमा कसैले पनि त्यस्तो अभिव्यक्तिहरु नदिने वातावरण बनाउन पनि सामुहिक आवाज उठाइने पनि संयोजक पौडेलले बताउनुभयो ।

कार्यक्रममा अनेम सङ्घका सचिव सुजिता शाक्यले आर्थिक, राजनीतिक, सामाजिकलगायतका सबै क्षेत्रमा कम्तिमा ३३ प्रतिसत महिला सहभागिताको सुनिश्चिता हुनुपर्ने र महिला र बालबालिकामाथि हुने यौनजन्य, हत्या, हिंसा र बलात्कारजन्य जघन्य अपराधको अन्त्यका लागि सरकारसँग विशेष कार्यदल बनाइ अनुसन्धानसहित तत्काल अपराधीलाई कडा कार्वाहीको माग गर्नेसहितका घोषणापत्र पनि भेलाबाट घोषणा गर्ने योजना रहेको बताउनुभयो ।

अनेम सङ्घका केन्द्रीय सदस्य एवं प्रचार प्रसार संयोजक शर्मिला कार्कीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सङ्घले साताव्यापी सन्देशमुलक कार्यक्रम गरिरहेको जानकारी दिँदै आगामी निर्वाचनमा अझै बढि महिलालाई राजनीतिक सहभागीका लागि उर्जा प्रदान गर्ने प्रयास स्वरुप भेलाको आयोजना गरिएको बताउनुभयो ।

जनसङ्ख्याको हिसावमा पनि महिलाको सहभागीता हरेक क्षेत्रमा बढ्दै जानुपर्ने परिपे्रक्ष्यमा नीति निर्माणको तहमा पुग्ने बाटो राजनीतिक पाटो पनि महिलाका लागि महत्वपूर्ण कडी रहेकोले सङ्घले राजनीतिक सहभागीतालाई प्रेरित गर्दै जाने संयोजक कार्कीले बताउनुभयो ।

सो सङ्घले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस वि.स. २०३७ सालदेखि विविध कार्यक्रमको आयोजना गर्द आएको छ भने नेपाल सरकारले पनि यस दिवसलाई महत्वका साथ मनाउँदै आएको छ ।

www.newsofnepal.com

प्रतिकृया दिनुहोस्