RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२९ गते
५०३ पटक

कर्णाली उत्सवःकुडा कर्णालीका’ बहसको दोस्रो दिन ‘कर्णाली घुमाउटो पड्यो’ विषयमा बहस भएको छ ।

कर्णालीको आर्थिक क्षेत्रका अवसर र समस्याका विषयमा थालिएको बहसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, योजनाविद् डा दिनेशचन्द्र देवकोटा, कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीसँग सामाजिक विकास अभियन्ता डा रेणु अधिकारीले आजको पहिलो सत्रमा छलफल गरे ।

सो अवसरमा आयोगका उपाध्याक्ष प्राडा कँडेलले विगतको कर्णालीको सवल इतिहास कायम गर्न यसलाई ‘माउन्टेन ग्रीन इकोनिमक’ बनाइने बताए । उनले भने, “१२औँ शताब्दीमा कर्णाली राज्य सवल राज्य थियो । कर्णाली विगतमा आत्मनिर्भर क्षेत्र हो । तर अहिले कर्णाली परनिर्भर बन्यो । त्यसका कारण अनेक छन् ।”

समय कालखण्डमा २०४ वर्षसम्म जुन शासन प्रणाली रह्यो त्यसले कर्णालीलाई हेर्ने दृष्टिकोण फरक बनाएर पछि पारेको उनले सङ्केत गरे। कर्णालीको विकास हिजोको गौरवशाली इतिहासलाई जोडेर हेर्नुपर्ने बताउँदै उनले अब प्राविधिक तथा व्यवसायिक शिक्षा, अर्गानिक वस्तु उत्पादन र ७० प्रतिशत व्यापार उद्यमशीलतामा विषेश जोड दिन आवश्यक देखिएको उनको भनाइ थियो ।

आयोगका पूर्वउपाध्यक्ष डा देवकोटाले कर्णालीको विकास घुमाउरो नभएर घुम्टोभित्र छोपिएको तर्क गरे । कर्णालीको घुम्टो उठाउन सके नेपाल सरकारले लिएको समृद्धिको राष्ट्रिय आकांक्षा पुरा हुने दावी उनले गरे। कर्णालीले प्रविधिलाई आत्मसात गर्दै अगाडि बढे यसलाई विश्वभरी चिनाउन सकिने उनको भनाइ थियो ।

कर्णाली योजना आयोगका सदस्य शाहीले पशुपालन क्षेत्रमा ह्रास आएका कारण कर्णालीमा गरिबी बढेको जिकिर गरे । “कर्णालीको प्राचीन कृषि प्रणाली लोप हुँदै जाँदा पछि परेको छ” सदस्य शाहीले भने, “च्यारिटी मोडेलमा कर्णालीको विकास गर्न खोजियो ।” प्रचुर सम्भावना भएको कर्णालीले अहिले पनि करोडौँका उत्पादन निर्यात गरिरहेको उनको भनाइ थियो ।

रासस

प्रतिकृया दिनुहोस्