RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/२ गते
६७५ पटक

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १० लाख डोज कोभिसिल्ड खोप अहिलेसम्म ल्याउन नसक्दा खोप अभियान प्रभावित हुन सक्ने देखिएको हो ।

यद्यपि सेरम इन्स्टिच्युटले गत ९ फागुनमा १० लाख डोज खोप उपलब्ध गराएको थियो । पहिलो चरणको खोप प्राप्त भएको एक साताभित्रै दोस्रो चरणको खोप पठाउने भनिए पनि सेरमले अहिलेसम्म खोप उपलब्ध नगराएपछि समस्या देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि गत ५ फागुनमा अग्रिम भुक्तानी गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले २० लाख डोज खरिदका लागि प्रतिडोज खोपको ४ डलरका दरले १ अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । सरकारले पुनः सेरमसँगै ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइसकेको छ । स्रोतका अनुसार सेरमले पछिल्लोपटक खोपको मूल्य बढाउने र १० प्रतिशत थप रकम एजेन्टका लागि दिनुपर्ने बताउँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारत सरकारको अनुदान सहयोगमा नेपाललाई दिएको १० लाख खोपमध्ये पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई खोप लगाइएको छ । मन्त्रालयसँग ५ लाख ६१ हजार १ सय २१ डोज खोप बाँकी थियो ।

लगत्तै सरकारले ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन सुरु गरेको थियो । हालसम्म २३ लाख ४८ हजार डोज खोप नेपालमा भित्रिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबारसम्ममा १३ लाख ४८ हजार ८८ जनाले खोप लगाइसकेका छन् ।

जोखिमका आधारमा ६५ वर्षभन्दा माथिका १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब ८ लाख डोज खोप मात्रै बाँकी छ ।

खोप अभियानअन्तर्गत पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्रा २०७८ वैशाख ७ देखि १५ भित्र लगाउने प्रस्तावित योजना बनाइएको छ । तर, अहिलेसम्म कहिले खोप आउने निश्चित छैन । स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउन सकिने बताएको छ ।

खोप विज्ञ डा. श्यामराज उप्रेतीले अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने बताए । अझै तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन सुरु गरिएको छैन । तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूहका नागरिक, १५ देखि ३९ वर्षसम्मको उमेर समूह पर्नेछन् ।

राजधानी दैनिकबाट……………….

प्रतिकृया दिनुहोस्