RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/५ गते
५३१ पटक

काठमाडौं । सरका रले चालू आर्थिक वर्षको आठ महिना तीन दिनको अवधि मंगलबारसम्ममा कुल विनियोजित बजेटको जम्मा २३.४६ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७-७८ को आठ महिनामा जम्मा ८२ अर्ब ७९ करोड १६ लाख रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ ।

चालू आवका लागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको छ । सो पुँजीगत खर्चमध्ये अहिलेसम्म जम्मा २३.४६ प्रतिशत मात्र पुँजीगत खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न आगामी तीन महिनाभित्र ७६.५४ प्रतिशत पुँजीगत खर्च गर्नुपर्नेहुन्छ । यो लक्ष्य भेट्टाउन अब सरकारले दैनिक अर्बाैं रुपैयाँ पुँजीगत खर्च गर्दै जानुपर्ने देखिन्छ ।

संघीय संसद् विघटन र पुर्नस्थापनालगायत हाल मुलुकमा देखिएको राजनीतिक अस्थिरतालगायतका कारण आगामी दिनमा झन् पुँजीगत खर्च हुन नसक्ने अवस्था उत्पन्न भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले अझै सरकार राजनीतिक भागबन्डामै रुमलिरहेका कारण मुलुकको विकास निर्माणका कामले गति लिन नसक्ने भएकाले पनि
आगामी दिनमा लक्ष्यअनुरूप पुँजीगत खर्च गर्न मुस्किल पर्ने बताएका छन् ।

सम्बन्धित सरोकारवालाका अनुसार चालू आवमा भएको पुँजीगत खर्च प्रतिशतका हिसाबले बढी देखिए पनि खर्च आकारका हिसाबले यो निकै कम हो । गत आर्थिक वर्षको सो अवधिसम्म ३३ दशमलव ९ प्रतिशत पुँजीगत खर्च भएको थियो । सरकारले गत आवका लागि कुल ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेको थियो । गत आवका लागि कम पुँजीगत खर्च वितरण गरेकाले प्रतिशतमा बढी देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको प्रभाव र पछिल्लो समय उत्पन्न राजनीतिक अस्थिरताले मुलुकको आर्थिक गतिविधिमा संकुचन आएसँगै चालू आवको बितेका आठ महिना तीन दिनसम्ममा पुँजीगत खर्च पनि हुन नसकेको हो । कोरोना महामारीको प्रभावका कारण विगतका वर्षमा जस्तो मुलुकको विकास निर्माणका कामले गति लिन नसक्दा पुँजीगत खर्च कम भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

राजधानी दैनिकबाट……

प्रतिकृया दिनुहोस्