RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/५ गते
७२५ पटक

काठमाडौं : मेलम्चीको पानीले तिर्खा मेट्ने काठमाडौंवासीको चाहना यही महिना पूरा हुँदै छ। सिन्धुपाल्चोकको अम्बाथानबाट सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङ परीक्षण भइसकेको छ। सुन्दरीजलमा १७ करोड लिटर क्षमताका दुई ठूला प्रशोधन केन्द्र छन्। मेलम्चीबाट आउने १७ करोड लिटर पानी दैनिक ती प्रशोधन केन्द्रमा प्रशोधित हुन्छ। प्रशोधन केन्द्रबाट पाइपलाइनमार्फत चैत १५ गतेदेखि पानीट्यांकीमा पानी पठाइने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिका अनुसार प्रशोधित पानी १० ठाउँमा रहेका पानीट्यांकीमा आउनेछ। काठमाडौंका मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुर बोडे, ललितपुर खुमलटारमा पानीट्यांकी छन्। भक्तपुर कटुन्जेमा भने निर्माणाधीन छ। यी ट्यांकीको कुल क्षमता ७४ हजार ५ सय घनमिटर छ।

यी ट्यांकीबाट मेलम्चीको पानी पाइपलाइनमार्फत सेवाग्राहीका धारामा आउनेछ। १ हजार १ सय किलोमिटर पाइपलाइन निर्माण भइसकेको उपनिर्देशक प्रजापतिले बताए। २ सय किमि पाइपलाइनको प्रारम्भिक परीक्षणसमेत गरिएको छ। पाइपलाइनको अन्तिम परीक्षण गरी पानी वितरण गरिनेछ। अन्तिम परीक्षण सक्न दुई–तीन हप्ता लाग्ने जनाइएको छ। पानीट्यांकी र पाइपलाइनको पहिलो चरणको परीक्षण र सफाइको काम भइसकेको प्रजापतिले सुनाए। ‘बाँकी ९ सय किमिको पाइपलाइन पानी आएपछि परीक्षण गर्दै वितरण गर्छौं’, उनले भने।

उनका अनुसार सुरुमा केयूकेएलका पुराना पाइपलाइनबाट चैत १५ गतेदेखि पानी वितरण गरिनेछ। १ लाख १० हजार धारा जडान गर्नुुपर्नेमा ८० हजार वटा जोडिएको छ। प्रत्येक घरमा चैतभित्र पानी पुर्‍याउने गरी काम भइरहेको उनले बताए। ‘निर्देशनालयको आधा जनशक्ति तयारीमा लागेको छ’, उनले भने, ‘पाइपलाइन परीक्षण गर्ने, घर–घरमा मिटर जोड्ने काम भइरहेको छ।’

केयूकेएलले काठमाडौंमा प्रतिदिन ९ करोडदेखि १६ करोड लिटरसम्म खानेपानी वितरण गरिरहेको छ। अब मेलम्चीको पानी १७ करोड लिटर थपिनेछ। यससँगै प्रतिदिन एक व्यक्तिले १ सय लिटर पानी पाउनेछन्।

२०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठनपछि मेलम्ची खानेपानी आयोजनाको काम अघि बढेको थियो। सरकारले एसियाली विकास बैंकको सहयोगमा आयोजना सम्पन्न गर्न लागेको हो। सुरुङ निर्माण ०६५ सालमा थालिएको थियो। आयोजनाको सुरुवाती लागत १७ अर्ब ४३ करोड ७४ लाख रुपैयाँ अनुमान गरिएको थियो। हालसम्म सुरुङ, हेडबक्स, सडकलगायतमा २९ अर्ब ५० करोड खर्च भएको आयोजनाका अधिकारीको भनाइ छ। काठमाडौंको खानेपानीको माग पूरा गर्न यांग्री र लार्केबाट थप १७÷१७ करोड लिटर ल्याउने काम पनि अघि बढाइएको छ। त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भइसकेको छ।

अन्नपुर्ण पोष्ट दैनिकबाट……………….

प्रतिकृया दिनुहोस्