RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/५ गते
४६९ पटक

काठमाडौँ — चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाले ७७ अर्ब ३५ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो कर्जा ७०.६ प्रतिशत बढेको हो । २०७६ माघमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ४५ अर्ब ३५ करोड रुपैयाँ प्रवाह गरेका थिए ।

गत असारको तुलनामा पुससम्म बैंक तथा वित्तीय संस्थाको यस्तो कर्जा ५३.५ प्रतिशत बढेको छ । गत असारमा यस्तो कर्जा ५० अर्ब ४० करोड रुपैयाँ थियो । सेयर बजार निरन्तर उकालो लाग्न थालेपछि बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा प्रवाह बढाएका हुन् ।

पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये सेयर धितोमा कर्जा (मार्जिन प्रकृतिको) धेरैले बढेको छ । कोरोनाको प्रभाव कम हुँदै गए पनि अझै अर्थतन्त्रका सबै क्षेत्र सामान्य अवस्थामा फर्किन सकेका छैनन्, जसकारण ती क्षेत्रबाट अपेक्षित रूपमा धेरै कर्जा माग हुन सकेको छैन । तर सेयर बजार भने निरन्तर रूपमा उकालो लागिरहेको छ । यही अवसरको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा विस्तार गरेको जानकारहरू बताउँछन् ।

लकडाउन खुकुलो भएपछि सेयर बजार निरन्तरजसो उकालो लागेको छ । अधिक तरलताका कारण ब्याजदर निकै तर ओर्लिएको छ । यसअघि सेयर धितोमा लगानी नगर्ने ठूला वाणिज्य बैंक पनि सेयर कर्जाकै लागि छुट्टै प्रडक्ट बनाएर बजार आएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सेयर धितोमा कर्जा विस्तार उल्लेख्य भएको देखिन्छ । गत आर्थिक वर्षको उक्त अवधिमा यस्तो कर्जा वृद्धिदर ०.१ प्रतिशतले ऋणात्मक थियो ।

चालु आर्थिक वर्षको सात महिनासम्म व्यक्तिगत ओभरड्राफ्ट कर्जा पनि १४.८ प्रतिशत बढेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशत वृद्धि भएको थियो । व्यक्तिगत ओभरड्राफ्ट शीर्षकमा प्रवाह भएको अधिकांश कर्जा पनि सेयर बजारमा गएको बताइएको छ । यो शीर्षकमा प्रवाह भएको कर्जाको प्रयोजन खुलाइएको हुँदैन । यसकारण बजार बढेसँगै व्यक्तिगत ओभरड्राफ्ट कर्जा पनि वृद्धि भएकाले धेरै रकम सेयर बजारमा गएको विश्लेषण गरिएको छ । यस विषयमा राष्ट्र बैंक पनि जानकार छ । सोही कारण मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत व्यक्तिगत ओभरड्राफ्टमा कडाइ गर्ने व्यवस्था राष्ट्र बैंकले घोषणा गरेको थियो । तर बाह्य दबाबका कारण उक्त व्यवस्था कार्यान्वयन गर्न सकेन ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सेयर कर्जाको ब्याजदर करिब ५० प्रतिशत घटेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले करिब ७ देखि ९ प्रतिशतमा सेयर धितोमा कर्जा दिँदै आएका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो ब्याजदर १३ देखि १५ प्रतिशत थियो । वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि ब्याजदर घटेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका लागि ठाउँ खोजिरहेका छन् । यद्यपि पछिल्ला सातामा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह उल्लेख्य बढेको छ भने निक्षेप संकलन सो अनुपातमा वृद्धि हुन सकेको छैन । सोही कारण वित्तीय प्रणालीमा तरलता अभाव हुन थालेको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउन थालेका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा पनि बढाएको थियो, जसअनुसार सेयर धितो राखी प्रवाह हुने कर्जामा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म दिन पाउँछन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो ।

सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्यांकन गर्दा विद्यमान १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ, त्यसैका आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १ सय २० दिन बनाइएको छ ।

कान्तिपुर दैनिकबाट………

प्रतिकृया दिनुहोस्