RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/६ गते
४५० पटक

काठमाडौं । चालू आर्थिक वर्ष २०७७-७८ को फागुन पहिलो सातासम्ममा कुल लक्ष्यको ५७ दशमलव ५२ प्रतिशत राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको बजेटले कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख राजस्व संकलनको लक्ष्य लिएको थियो । जसमध्ये बिहीबारसम्ममा ५ खर्ब ८१ अर्ब ९२ करोड ४० लाख रुपैयाँ संकलन भएको छ ।

सात महिनाको अवधिमा सरकारले करबाट मात्र ५८ दशमलव ९२ प्रतिशत राजस्व संकलन गरिसकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार करबाट मात्र बिहीबारसम्ममा ५ खर्ब ३७ अर्ब ९४ करोड १५ लाख संकलन भएको छ । सरकारले कर राजस्वबाट ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख उठाउने लक्ष्य लिएको थियो । गैरकरतर्फबाट भने लक्ष्यको ४४ दशमलव ५१ प्रतिशत मात्र सफलता मिलेको छ । कुल ९८ अर्ब ८० करोड ९४ लाखको लक्ष्य रहेकामा ४३ अर्ब ९८ करोड २५ लाख मात्र उठेको छ ।

आर्थिक वर्ष २०७७-७८ को माघसम्म संघीय सरकारको कुल राजस्व गत आर्थिक वर्षको सोही अवधिको कुल राजस्व ४ खर्ब ९२ अर्ब ३८ करोडको तुलनामा १ दशमलव २५ प्रतिशतले वृद्धि भई ४ खर्ब ९८ अर्ब ५२ करोड पुगेको छ । कुल राजस्वमा कर राजस्व ४ खर्ब ५८ अर्ब १० करोड र गैरकर राजस्व ४० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा अन्य प्राप्तिसहित कुल प्राप्ति ५ खर्ब ३० अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार माघसम्मको लक्ष्यको तुलनामा ९६ दशमलव ५८ प्रतिशत राजस्व संकलन भएको छ । माघसम्ममा ५ खर्ब ४९ अर्ब ५१ करोड संकलन गर्ने सरकारको लक्ष्य थियो । जसमा ५ खर्ब २४ अर्ब ७६ करोड मात्र उठेको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष माघसम्ममा ५ खर्ब ३० अर्ब ७२ करोड उठेको थियो ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भन्सार महसुलमा २१ दशमलव १ प्रतिशतले वृद्धि भएको छ भने आयकरको संकलनमा ९ दशमलव ६ प्रतिशतले कमी आएको छ । माघसम्ममा १ खर्ब ८ अर्ब २३ करोड भन्सार महसुल उठेको छ । गत वर्षको सोही अवधिसम्मा ८९ अर्ब ३९ करोड मात्र उठेको थियो ।

मूल्य अभिवृद्धि कर पनि गत वर्षको तुलनामा २ प्रतिशतले बढेको छ । यसबाट १ खर्ब ५० अर्ब ४८ करोड रुपैयाँ संकलन भएको छ । उत्पादन बिक्री सेवाबाट माघसम्ममा १ खर्ब १० अर्ब २७ करोडको लक्ष्य रहेकामा ८५ अर्ब ३३ करोड मात्र बिक्री सेवा र उत्पादनबाट राजस्व उठेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । अन्तःशुल्क पनि लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्र उठे पनि गत वर्षको तुलनामा भने साढे २ प्रतिशत बढेको छ । माघसम्ममा ७२ अर्ब ५० करोड अन्तःशुल्क उठेको छ ।

माघसम्ममा गत वर्षको तुलनामा आयकर, अन्यकर र गैरकरमा ठूलो कमी आएको छ । गत वर्षको तुलनामा आयकरमा साढे ११ प्रतिशत, अन्य करमा ८ प्रतिशत र गैरकरमा ९ दशमलव २९ प्रतिशतले कमी आएको छ । अन्य कर शीर्षकमा पूर्वाधार सेवाको उपयोग, सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार शुल्क र शिक्षा सेवा शुल्क मात्र संलग्न गरिएको छ ।

यसैगरी, आयकर १ अर्ब १५ अर्ब ४५ करोड संकलन भएको छ । सरकारले चालू आवमा १ खर्ब २० अर्ब ५९ करोडको लक्ष्य राखेको छ । गत वर्षको माघसम्म आयकर १ खर्ब २७ अर्ब ७४ करोड उठेको थियो । अन्य कर ११ अर्ब ४२ करोड संकलन भएको छ । जबकि गत वर्षको सोही अवधिसम्म १२ अर्ब ४१ करोड संकलन भएको थियो ।

चालू आर्थिक वर्षको माघसम्ममा कुल राजस्वमा भन्सार महसुल र अन्तःशुल्कको हिस्सा गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ भने आयकर, गैरकर र अन्यकरको हिस्सा घटेको छ ।

चालू आवको माघ मसान्तसम्म संघीय सरकारको राजस्व परिचालन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४ खर्ब ३५ अर्ब ३४ करोडको तुलनामा १ दशमलव १ प्रतिशतले वृद्धि भई ४ खर्ब ४० अर्ब २८ करोड रहेको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । यस अवधिमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने कर राजस्व गत आर्थिक वर्षको ५७ अर्ब ४ करोडको तुलनामा २ दशमवल १ प्रतिशतले वृद्धि भई ५८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

राजधानी दैनिकबाट………..

प्रतिकृया दिनुहोस्