RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/७ गते
९१० पटक

धनगढी : सुर्खेतको गुरुवाकोट–११ का खडक विक भारत पसेको तीन महिनामै कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन्। भारतमा लकडाउनको हल्ला चलेसँगै विक मात्र होइन, उनीसहित सुर्खेतका १२ युवाको टोली शुक्रबार नेपाल फर्किएको हो। उनीहरू भारतको महाराष्ट्र प्रदेशको पुनामा होटल र विभिन्न कम्पनीमा काम गर्थे।

‘त्यहाँ कोरोना बढेको छ, फेरि लकडाउन हुने हल्ला चलेपछि घर फर्किएका हौं। गत वर्षजस्तो सास्ती नहोस् भनेर यसपालि लकडाउन नहँुदै फर्किएको’, विकले भने। उनी गत वर्ष चैतमा लकडाउनका बेला एक महिनाभन्दा बढी भारतको पलियामा रोकिएका थिए।

‘त्यतिबेला भारतको पलियामा एक महिना रोकिनुपर्‍यो। परिवारसँग कुराकानी पनि हुन सकेन। खानपिनको व्यवस्था पनि राम्रो भएन’, उनले भने, ‘मरे पनि घरमै मरुँला भनेर आएका हामीलाई अर्काको देशमा जेल हालेजस्तै भयो। त्यसैले यसपालि हल्ला चल्नेबित्तिकै घर फर्केका हौं।’
उनले घरमा खेतीपाती भित्र्याउने समय भएको, चैते दसैं पनि आएकाले परिवारले घर आउन भनेपछि फर्किएको बताए। ‘लकडाउन भएन भने पछि एक÷दुई महिना खेतीपातीको काम गरेर फेरि गइन्छ’, उनले भने, ‘हैन भने हेरौं।’

नुवाकोटको तारकेश्वर–२ का रमेश परियार पनि शुक्रबार गौरीफन्टा नाकाबाटै घर फर्किए। परियार महाराष्ट्रको पुनामा होटलमा कुक काम गर्थे। त्यहाँ लकडाउनको हल्ला चलेकाले घर फर्केको उनले बताए। ‘त्यहाँ कोरोना फेरि बढिरहेको छ। त्यहाँको प्रदेश सरकारले लकडाउन गर्ने भनेर सूचना पनि जारी गरेको छ’, उनले भने, ‘साथीहरूले पोहोर सालको लकडाउनका बेला पाएको दुःख सुनेर यसपालि अगाडि नै घर आएको हुँ।’

उनी पनि गत वर्षको चैतमा लकडाउन सुरु भएका बेला घर फर्किएका थिए। मंसिरमा मात्रै भारत पसेका उनले भने, ‘लकडाउनको हल्लाले चार महिना मात्र काम गरेर फर्किनुपर्‍यो।’
उनले परिवारबाट पनि लकडाउन भए दुःख पाउने भएकाले घर आउन भनेकाले फर्किएको बताए। ‘छोराछोरी स–साना छन्, एक्लै श्रीमतीले उनीहरूको स्याहार गरिरहेकी छन्’, उनले भने, ‘म पनि लकडाउन भएर गत वर्षजस्तै सीमा नाकामा फसेपछि समस्या हुन्छ भनेर यसपालि लकडाउन नहुँदै आएको हुँ।’

कैलालीको टीकापुर नगरपालिका कटानपुरका विन्दु विक पनि भारतको पुनाबाट फर्किएका छन्। पुनामा मासु प्याकिङ गर्ने कम्पनीमा कार्यरत विकले त्यहाँ लकडाउनको तयारी भइरहेको सुनाए। ‘भारतमा नयाँ कोरोना पनि आएको छ भनेर सुनियो। त्यो पहिलेको तुलनामा खतरनाक भएको साथीहरूले बताए’, उनले भने, ‘कोरोनाले मर्नुभन्दा त घर जाऊँ भनेर फर्किएको।’
उनी दसैं–तिहार छाडेर असोजमा भारत गएका थिए। ‘कोरोना कम भइहाल्यो, भारतमा कम्पनीहरू खुलिसके भन्ने सुनियो अनि फेरि भारत गइयो’, उनले भने, ‘नेपालमा रोजगारी केही पाइँदैन। तर, फेरि त्यहाँ पनि लकडाउन हुने भनेर सुनेपछि घर आएको हुँ।’

भारतको राजधानी दिल्ली, ठूला सहर मुम्बई, गुजरात, चेन्नईसहितका प्रदेशमा कोरोनाका बिरामी बढिरहेका छन्। कोरोनाको दोस्रो चरणको महामारी फैलिन थालेपछि भारत सरकारले प्रभावित प्रदेशमा लकडाउन गर्ने संकेत गरेको छ। भारतमा कोरोनाको दोस्रो चरणका बिरामी पनि थुप्रै फेला परेका छन्। कोरोनाको पहिलो चरणभन्दा दोस्रो भाइरस अझ खतरनाक रहेको भनिएपछि नेपाली धमाधम घर फर्किन थालेका हुन्।

‘सीमा क्षेत्रमा पछिल्लो एक हप्तादेखि घर फर्किने नेपालीको संख्या दैनिक बढिरहेको छ’, प्रदेश सरकारले सीमामा खोलेको हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले भने। कोरोनाका कारण लकडाउन हुने हल्लापछि भारतबाट फर्किने नेपालीको संख्या बढिरहेको साउदले बताए।

‘भारताट फर्किने सिजन होइन। एकै पटक चैते दसैंमा मानिस फर्किन्छन्। चैते दसैं वैशाख दोस्रो साता छ। पहाडतिर अझै खेतीपाती भित्र्याउने बेला पनि भएको छैन’, साउदले भने, ‘तर दैनिक चार–पाँच सय मानिस गौरीफन्टा नाकाबाट फर्किरहेका छन्।’
कैलाली र कञ्चनपुरमा हेल्थ डेस्क

भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ। कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकीमा हेल्थ डेस्क राखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। ‘भारतमा कोरोना बढिरहेको छ, दैनिक १० हजारमुनि पुगेको तथ्यांक पछिल्ला दिनमा दैनिक ३५ हजार पुगेपछि भारतबाट फर्किने क्रम पनि बढेको छ’, निर्देशक डा. अवस्थीले भने, ‘त्यसकै नियन्त्रणका लागि सीमा क्षेत्रमा हेल्थ डेस्क राखिएको हो।’
प्रदेश सरकारले उक्त हेल्थ डेस्कबाट भारतबाट फर्किने नेपालीको एन्टिजेन परीक्षण गरिरहेको छ। जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहबाट गरी तीन÷तीन जना स्वास्थ्यकर्मी परिचालन गरी घर फर्किरहेका नेपालीको एन्टिजेन परीक्षण सुरु भएको हो।

वीरगन्जमा सतर्कता
नेपालसँग सीमावर्ती भारतका विभिन्न प्रान्तमा केही दिनयता फेरि कोरोना संक्रमण बढेपछि चिकित्सकले वीरगन्ज र आसपास क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएका छन् ।
भारतका महाराष्ट्र, पञ्जाव, केरला, राजस्थानलगायत राज्यमा फेरि कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको छ । दैनिक १५ देखि २० हजार हराहारीमा कोरोना संक्रमित थपिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैले भारतसँगका सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउनु अत्यन्त जरुरी रहेको यहाँका चिकित्सकको सुझाव छ ।

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखा वीरगन्जले खुला सीमाका कारण सीमावर्ती सहर र जिल्लामा पुनः संक्रमण भित्रिने जोखिम रहेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । होलीलगायत चाडपर्व पनि नजिकिएका कारण स्वास्थ्य सतर्कता नअपनाएको खण्डमा पुनः जेठ–साउनको जस्तै भयावह स्थिति फर्किने जोखिम रहेको संघले स्पष्ट पारेको छ ।
त्यसैले सर्वसाधारणका साथै राज्यको निकायलाई सावधानी र सतर्कता अपनाउन आग्रह गरिएको संघको अञ्चल शाखा वीरगञ्जका सचिव डा. उदयनारायण सिंहले बताए ।

नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बिहीबार मात्रै फेसबुकमार्फत सावधान रहन ध्यानाकर्षण गराएका छन् । उक्त पोस्टमा भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले भारतका विभिन्न सहरमा फेरि लकडाउन गरिएको अवस्थामा भारतको कोलकाता र मुम्बईबाट हालै वीरगन्जमा आएका ३ जनामा गम्भीर प्रकारको कोरोना संक्रमण भेटिएको उल्लेख छ । वीरगन्जमा पहिलो पटक चैत ३० मा ३ जना भारतीय नागरिकमा संक्रमण भेटिएको थियो ।

अन्नपुर्ण पोष्ट दैनिकबाट.

प्रतिकृया दिनुहोस्