RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/८ गते
५०८ पटक

काठमाडौं ।नयाँ सरकार गठनका लागि दलीय गठबन्धन बनाउने विषयमा सक्रिय बनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एकाएक मौन देखिएको छ ।

कांग्रेसले स्पष्ट धारणा नदिँदा विपक्षी दलकै भूमिकामा रहेका माओवादी केन्द्र र जनता समाजवादी पार्टी पनि गठबन्धनका विषयमा अन्योलमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको संसद् विघटनको निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको कांग्रेसले सर्वोच्च अदालतले ११ फागुनमा सो निर्णय बदर गरिदिएपछि दलहरूका बीचमा संवाद बढाएको थियो । तर, पछिल्लो समयमा भने कांग्रेस मौन देखिएको हो ।

यस्तै, २२ फागुनको सर्वोच्च अदालतको अर्को फैसलासँगै माओवादी केन्द्रसमेत विपक्षी भूमिकामा पुगेपछि दुई दलबीच संवाद बाक्लिएको थियो । यसैगरी कांग्रेसले जसपाका नेतालाई सभापति निवास बूढानीलकण्ठ डाकेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेको थियो ।

सो छलफलपछि कांग्रेस माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय छलफल गर्ने सहमति बनेको भए पनि विपक्षमा रहेका दल अझैसम्म एक ठाउँ बस्न सकेका छैनन् ।

कांग्रेसले भने विकसित घटनाक्रमसँगै नयाँ सरकार गठनका लागि अवस्था परिपक्व नभएको बताउँदै आइरहेको छ । कांग्रेसको निर्णय कुर्दै गरेका माओवादी केन्द्र र जसपा पनि कसरी अघि बढ्ने भन्नेमा टुंगोमा पुग्न सकेका छैनन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यस्तो राजनीतिक संकटको अवस्थामा कांग्रेसले निर्णायक छैनौं भनेर मौन बस्न नहुने बताउँछन् ।

‘अहिले हामी निर्णायक छैनांै भनेर बस्ने हो कि निर्णायक बन्ने कोसिस गर्ने हो ?, संकटको बेलामा खरो उत्रने कोसिस गरे मात्रै जनताले भरोसा गर्नेछन्, कांग्रेसले अलमल गरेर मौन बस्न सुहाउँदैन,’ कांग्रेस वरिष्ठ नेता पौडेलले शनिबार राजधानीमा गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा आयोजित कार्यक्रममा भने ।

उनले कांग्रेसको अहिलेको मुख्य एजेन्डा सत्ता बनाउनुभन्दा पनि व्यवस्था बचाउनु रहेको भन्दै यस्तो अवस्थामा कांग्रेसले प्रस्ट रूपमा बोल्नुपर्ने बताए ।

‘कांग्रेसको अहिलेको मुख्य एजेन्डा सत्ता बनाउनुभन्दा व्यवस्था बचाउनु हो, यस्तो अवस्थामा कांग्रेसले प्रस्ट रूपमा बोल्नुपर्छ तर बोलिरहेको छैन, यो मौनता ठीक होइन ।’

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठनका लागि गठबन्धन बनाउने विषयमा थप केही नयाँ नभइसकेको जानकारी दिए ।

‘गठबन्धन बनाउने विषयमा थप केही नयाँ भएको छैन, कांग्रेसले पनि निर्णय गरेको छैन, जसपाले पनि निर्णय लिइसकेको छैन,’ माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले भने ।

जसपाभित्र भने वर्तमान सरकारलाई नै सघाउने कि विकल्प खोज्ने भन्नेमा विवाद कायमै छ । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईसहित नेता शरतसिंह भण्डारी वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।

यसैगरी अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओली नेतृत्वको वर्तमान सरकारलाई नै आफ्नो दलले सघाउनुपर्ने पक्षमा छन् ।

जसपाको आन्तरिक विवादका कारणसमेत नयाँ सरकार गठनका लागि दलहरूबीच गठबन्धन निर्माणमा ढिलाइ भए पनि छलफल भने नरोकिएको अध्यक्ष यादवले जानकारी दिए ।

‘छलफल रोकिएको छैन, जारी छ, लोकतन्त्र पक्षधर र प्रतिगमन विरोधी शक्तिका बीचमा अलाइन्स हुन सक्छ, सम्भावना सकिएको छैन,’ जसपा अध्यक्ष यादवले भने ।

राजधानी दैनिकबाट………

प्रतिकृया दिनुहोस्