RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/८ गते
२७७ पटक

बिनासुनुवाइ ४० वर्ष जेलमा रहनुको पीडा कति हुन्छ ? इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी तिम्सिना) बताउन सक्दैनन्। भारतको कोलकातास्थित दमदम कारागारमा रहेका दीपक बुधबार साँझ मात्रै छुटेर खुला संसारमा निस्किएका हुन्। भारतकै दार्जिलिङबाट पक्राउ परी उनलाई विभिन्न कारागार हुँदै कोलकाता पुर्‍याइएको थियो। उनले ‘म निर्दोष छु’ मात्रै भनेको भाइ प्रकाशचन्द्र तिम्सिनाले सुनाए।

‘दाइको स्वभाव ८–९ वर्षको बच्चाको जस्तो भएको छ’, प्रकाशचन्द्रले टेलिफोनमा अन्नपूर्ण पोस्ट्सँग भने, ‘बिनासुनुवाइ यो अवस्थामा पुर्‍याउनुको पनि न्याय चाहियो।’

– दीपकले भने, ‘म निर्दोष छु’
– ९२ वर्षीया आमा र परिवारसँग ४२ वर्षमा पुनर्मिलन हुँदै
– आवश्यक परेको खण्डमा अदालतमा उपस्थित हुनुपर्ने
कर्तव्य ज्यान मुद्दामा दीपक बिनासुनुवाइ ४० वर्षभन्दा बढी भारतीय कारागारमा बस्न बाध्य भएका हुन्। उनी भाइ र आफन्तका साथ आइतबार माई नगरपालिका–१० स्थित घर आइपुग्दै छन्। उच्च अदालत कोलकाताले बुधबार साँझ रिहा गर्न आदेश दिएपछि उनी घर आउन पाएका हुन्। अदालतले दार्जिलिङबाट पुराना कागजात मगाएपछि उनको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखी रिहा गर्न आदेश दिएको भारतका कानुन व्यवसायी हीरक सिन्हाले बताए।

‘सोमबार सुनुवाइ स्थगन भएको थियो। तर, दार्जिलिङबाट मुद्दाको पुरानो मिसिल झिकाएपछि र दीपकको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालतले बुधबार मात्रै बहसपछि रिहा गर्न आदेश दिएको हो’, कानुन व्यवसायी सिन्हाले भने। सोमबारै सुनवाइ सकिए पनि ‘प्राविधिक’ कारण देखाउँदै अदालतले बुधबार मात्रै फैसला सुनाएको हो।

भाइ प्रकाशचन्द्र नेपालबाट कोलकाता पुगेपछि नेपाली महावाणिज्य दूतावासका कर्मचारीको रोहबरमा रिहा गर्न अदालतले आदेश दिएको सिन्हाले सुनाए। ‘मुद्दा लामो समयदेखि चलिरहेको थियो। उहाँको भाइ आएर र परिवारका सदस्यले थप प्रमाणसमेत जुटाउनुभएकाले समयमा मुद्दा टुंगियो’, उनले सञ्चारमाध्यमसमक्ष भने, ‘नत्र अझै केही दिन पनि फैसला गर्न समय लाग्ने थियो।’ यो मुद्दामा तीन दिनदेखि लगातार बहस भएको थियो। दीपकको पक्षबाट सिन्हाले बहस गरेका थिए।

अदालतले दीपकलाई ६÷६ महिनामा उपस्थित हुन भनेको छ। उच्च अदालतबाटै आवश्यक परेको खण्डमा पुनः उपस्थित हुन भनिएको आदेशपत्रमा उल्लेख भएको महावाणिज्य दूतावासले जनाएको छ। महावाणिज्य दूतका निजी सचिव सतीस थापाले आदेशको विषयमा पुष्टि गर्दै भने, ‘उहाँलाई अहिले नेपाल जान दिइन्छ। तर, अदालतले बोलाएको समयमा उहाँ जहाँ भए पनि उपस्थित हुनुपर्छ।’

दीपकलाई जिम्मा लिन काकाका छोरा प्रकाशचन्द्रलाई खबर गरिएको थियो। प्रकाशचन्द्र पुगेलगत्तै उनी रिहा भएका हुन्। प्रकाशचन्द्र र कोलकातास्थित महावाणिज्य दूतावासले संयुक्त रूपमा दीपकलाई बुझेका छन्। चिकित्सकले अदालतमा बुझाएको स्वास्थ्य परीक्षण रिपोर्टका अनुसार उनको मानसिक अवस्था नौ वर्षको बालकको जस्तो छ।

उनी १९ वर्षको उमेरमा इलामकै एकतप्पा रूपाटारमा हुँदा ०३७ सालमा तोरी बेच्न भन्दै मंगलबारे बजार हिँडेका थिए। तर, त्यसपछि घर फर्केनन्। अदालतमा पेस गरिएका कागजातका अनुसार इलामबाट दार्जिलिङ पुगेका उनलाई एक व्यक्तिको हत्या आरोप लगाइयो। दार्जिलिङमा बस्दै जाँदा प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको प्रकाशचन्द्रले सुनाए।

त्यस बेला त्यहाँ गोर्खाल्यान्ड आन्दोलन चर्किरहेको थियो। त्यही क्रममा आन्दोलनकारीले उनी रहेको जेलमा आगजनी गरेपछि अर्को ठाउँ सारिएको थियो। सन् १९८० मे १२ मा पक्राउ परेका उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार हुँदै कोलकाताको जेलमा सरुवा गरिएको थियो। पक्राउ परेदेखि उनी परिवारसँग सम्पर्कविहीन थिए।

परिवारले गोर्खाल्यान्ड आन्दोलनमै उनको मृत्यु भयो होला भन्ने अनुमान गरेको थियो। त्यसपछि उनीहरूले दीपक भेटिने माया नै मारे। तर, २०६९ सालमा दीपक जैसीको नामबाट घरमा पत्र आएको थियो। दाइको नाम दुर्गाप्रसाद तिम्सिना भएको र कसैले मजाक गरे कि भन्ने लागेर परिवारले चासो नदिएको प्रकाशचन्द्रले बताए। उनले भने, ‘त्यो कुरा वास्तविक रहेछ अहिले पो थाहा भयो।’

आमा ९१ वर्षीया धनमायाले ४२ वर्षपछि छोरासँग भेट गर्न पाउँदै छिन्। ‘४२ वर्षपछि छोरासँग भेट हुन पाउँदा आमाजति खुसी को हुन्छ र ?’ छोरो भारतीय जेलबाट छुटेको खबर पाएपछि आमा धनमायाको खुसी सुनाइन् भतिजी मुना शर्माले। मुना पहिलो पटक दाजु भेट्न आइतबार काँकडभिट्टा पुग्दै छिन्। ‘हामी भाइबहिनी पुस्तादेखि पहिलो पुस्ताका आमाबुबा, काकाकाकी, बढिआमा एकसाथ खुसी छौं, उत्साहित छौं’, उनले भनिन्।

अन्नपुर्ण पोष्ट दैनिकबाट………….

प्रतिकृया दिनुहोस्