RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/८ गते
५३८ पटक

धनगढी — बैतडीको तल्लोस्वराडका भानदेव पन्त पाँच जनाको परिवारसहित भारतको महाराष्ट्र हिँडेका छन् । १० वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका उनीसँग उतैको आधार कार्ड पनि छ ।

गत जेठमा महाराष्ट्र कोरोनाले आक्रान्त भएका बेला उनी पुर्ख्यौली थलो फिरेका थिए । कैलालीको गौरीफन्टामा भेटिएका उनलाई महाराष्ट्रलगायत सहरमा फैलिएको कोरोना संक्रमणले चिन्तित बनाएको छ ।

महाराष्ट्रमा फेरि लकडाउन हुन लागेको खबर सुनेपछि मन भारी भएको उनले बताए । ‘घर फर्कनुभन्दा तत्काल महाराष्ट्र प्रवेश गर्न नपाए पनि दिल्लीमा आफन्तकहाँ बसेर काम खोज्छु भन्ने लागेको छ,’ उनले भने, ‘१० महिना गाउँमा बस्दा यहीं बसेर बालबच्चा पाल्न सक्ने अवस्था देखिनँ । डराउँदै भए पनि जानुपरेको छ ।’

गौरीफन्टा नाका हुँदै भारत प्रवेश गर्दा नेपालीले घण्टौं लाम बस्नुपर्ने कष्ट अझै हट्न सकेको छैन । अन्य नाकाबाट आउजाउ सहज भइसके पनि सुदूरपश्चिमकै मुख्य गौरीफन्टा नाकाबाट भारत जानेलाई सुरक्षाकर्मीले विवरण राख्नकै लागि घण्टौं लाइन लगाउने गरेका छन् । ‘आफ्नो ठाउँमा काम नपाएर भारत गइरहेका छौं । नेपाली सुरक्षाकर्मीले घण्टौं उभ्याएर कष्ट दिने गरेका छन्,’ भारत जान लागेका कैलाली सुख्खडका सुरज चौधरीले भने । सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक मोहनराज पन्तले दैनिक चार/पाँच सय नेपाली भारत गइरहेको बताए । माघ महिनाअघि भने दैनिक दुई हजारसम्म जान्थे । पन्तले माथिल्लो तहको आदेशमा नाम–ठेगाना र गन्तव्य सोधेर रजिस्टरमा रेकर्ड राखिरहेको बताए ।

गत भदौमा नाका खुलेयता नेपालीहरू विवरण भरेर भारततिर गइरहेका छन् । भारतीय सुरक्षाकर्मीले सुरुमा आधारपत्र र रासन कार्ड बोकेकालाई मात्रै प्रवेश अनुमति दिने गरेको थियो । अहिले सामान्य विवरण बताएपछि प्रवेश दिइरहेको छ ।

कान्तिपुर दैनिकबाट……….

प्रतिकृया दिनुहोस्