RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/९ गते
५४८ पटक

काठमाडौं, सडक र पुलको संरक्षणका लागि तोकिएभन्दा बढी भारवहन गर्ने सवारीसाधनमाथि यातायात व्यवस्था विभागले कडाइ शुरु गरेको छ । विभागले सार्वजनिक सूचना नै प्रकाशन गरी तोकिएभन्दा बढी भारवहन गर्ने सवारीलाई कारवाही गर्ने जनाएको छ ।

विभागले चितवनको आँपटारी र महोत्तरीको बर्दिवासमा तौल निर्धारण गरी पुल निर्माण गरेकाले आउने चैत १५ गतेपछि बढी भारवहन गरेको पाइएमा सडकमै सामाग्री झारेर कारवाही गर्ने तयारी गरेको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताउनुभयो ।

सडक विभागले डिजाइन गर्ने पुलको भारवहन क्षमता ७० टनसम्म हुने गरेको जनाएको छ । पुराना पुलहरुको क्षमता भने २० टन मात्र पाइएको छ । तराई क्षेत्रमा निर्माण गरिएका पुलको भारवहन क्षमता पनि २० टनभन्दा माथि हुने तर सवारीको भारवहन क्षमता बढी बोक्ने गरेको गुनासोपछि विभागले अनुगमन शुरु गरेको भुसालले बताउनुभयो ।

कानुनले तोकेको भन्दा बढी सामान बोक्ने सवारीलाई मालसमान जफत गरी पाँच हजार जरिवाना लिने कानुनी व्यवस्था छ । काठमाडौंको रिङरोडको कलंकी–कोटेश्वर सडक खण्डमा चीन सरकारले निर्माण गरेको पुलको भारवहन क्षमता ५५ टन लेखिएको छ । सडक विभागका प्रवक्ता इन्जिनियर शिवप्रसाद नेपालले भने नेपालको राष्ट्रिय राजमार्गको डिजाइन प्रति एक्सेल १०.२ टन सम्म भार थेग्ने गरी निर्माण गरिएको बताउनुभयो ।

चार चक्का भएका सवारीमा अगाडि दुई र पछाडिका दुई चक्का गरी दुई एक्सेल हुने गर्छ, यसको क्षमता १०.२ टन हो । गाडीको लम्वाइ अनुसार जति ठाउँमा चक्का थपिन्छ, एक्सेल पनि थप हुन्छ । राजमार्गमा सिमेन्ट र छड जस्ता बढी भारी तौल बोक्ने सवारीका कारण सडक चाँडै भत्किने भएकाले यातायात व्यवस्था विभागले मालवहाक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ अनुसार कडाइ शुरु गरेको जनाएको छ । बढी भारकै कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबीसे खण्ड हुँदै काठमाडौं भित्रिने सडक खराब हुँदै गएको देखिन्छ ।

गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्