RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/९ गते
५७६ पटक

काठमाडौं । कोरोना भाइरसको महामारीबीच राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बंगलादेश गएकी छिन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणमा भण्डारी दुई दिने राजकीय भ्रमणका लागि त्यसतर्फ गएकी हुन् ।

राष्ट्रपति भण्डारी बिहान ८ः३० बजे नेपाल एअरलाइन्सको जहाजबाट ढाका प्रस्थान गरेकी हुन् ।
कोरोनाको महामारी बढेको भए पनि राष्ट्रपति भण्डारीको टोली भने स्वास्थ्य मापदण्ड अपनाउँदै विशेष चार्टर्ड विमानमा सुरक्षित साथ बंगलादेश गएको हो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपिता रहमानको सतवार्षिकी जन्म जयन्तीमा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा पनि सहभागी हुनेछिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारकको भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी र एक सांस्कृतिक टोली पनि रहेको छ ।

उनले ढाकास्थित नेपाली दूतावास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने तालिका पनि रहेको छ । राष्ट्रपति भण्डारी आगामी बुधबार स्वदेश फर्कने छिन् ।

यस्ता छन् समझदारी
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विभिन्न क्षेत्रमा समझदारी हुने छन् । सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र, कृषि तथा पशुपन्छीमा प्रयोग हुने विषादी लगायतका विषयमा छलफल हुने सञ्चारमन्त्री पार्वत गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

रेल्वे, यातायात, बन्दरगाह सुविधालाई नेपालसँग जोड्ने, बंगलादेशले नेपालबाट विद्युत खरिदका लागि गरिरहेको पहलका विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।

कोरोनाबीचको जमघट
अहिले कोरोना भाइरस तीव्र भइरहेको छ । आइतबार मात्रै ४ लाख २० हजार ५०७ जना नयाँ संक्रमित थपिएका छन् । ५ हजार ९१७ जनाको ज्यान गएको छ ।

नेपालमा आइतबार ७७ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ । ३ हजार १६ को ज्यान गइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मात्रै प्रेस विज्ञप्ति निकालेर सभा, सम्मेलन, गोष्ठी, जुलुस, भीडभाड हुने व्यवसाय नगर्न आग्रह गरेको छ ।

बंगलादेशमा आइतबार २ हजार १७२ जना संक्रमित थपिएका छन् । अहिलेसम्म ५ लाख ७० हजार ८७८ जना संक्रमित भइसकेका छन् । आइतबार २२ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने बंगलादेशमा ८ हजार ६९० पुगेका छन् ।
 

प्रतिकृया दिनुहोस्