RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१० गते
६०२ पटक

काठमाडौँ — कोरोना महामारीका बेला चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थी इन्टर्नसिप पूरा गर्न नपाउँदा समस्यामा परेका छन् । चीन फर्कने ग्यारेन्टी नभएकाले बाँकी इन्टर्नसिप नेपालमै पूरा गर्न पाउनुपर्ने उनीहरूको माग छ ।

नेपाल मेडिकल काउन्सिलमा सोमबार धर्ना दिँदै विद्यार्थी । तस्बिर : दीपक केसी/कान्तिपुरविभिन्न विश्वविद्यालयका १ सय ५२ विद्यार्थीले इन्टर्नसिप सुनिश्चितताको माग गर्दै सोमबारदेखि नेपाल मेडिकल काउन्सिलमा धर्ना सुरु गरेका छन् ।

‘मेरो ४ महिना मात्र इन्टर्नसिप बाँकी छ, विश्वविद्यालय र दूतावासले कहिले चीन बोलाउँछन्, थाहा छैन,’ छात्रा मिमांशु खतिवडाले भनिन्, ‘पढाइ पूरा गरेर काम थाल्नुपर्ने बेला अनिश्चित भएर बस्नुपरेको छ ।’ उनका अनुसार ३ देखि १० महिनासम्म इन्टर्नसिप अवधि बाँकी भएका छात्रछात्रा बिचल्लीमा परेका छन् । गत वर्ष चीनको वुहान सहरबाट कोरोना संक्रमण फैलिएपछि त्यहाँका नेपाली विद्यार्थी फागुनमा स्वदेश फर्किएका थिए ।

एमबीबीएस पढाइको अन्तिम एक वर्ष इन्टर्नसिप गर्नुपर्ने हुन्छ । ‘इन्टर्नसिप सुरु नभएका विद्यार्थी नेपाल आए पनि अनलाइन कक्षामा सहभागी भएका छन्,’ खतिवडाले भनिन्, ‘हामी इन्टर्नसिप गर्नुपर्नेचाँहि अप्ठ्यारोमा पर्‍र्यौं ।’ सन् २०१४ को ब्याचमा एमबीबीएसमा भर्ना भएका विद्यार्थीको गतवर्ष इन्टर्नसिप थियो ।

शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलमा माग राखे पनि सम्बोधन नभएको चीनबाट फर्केका छात्र समउज्ज्वल श्रेष्ठले बताए । ‘इन्टर्नसिप नेपालमै पूरा गर्ने व्यवस्थाका लागि अनुरोध गर्दा कसैले कुरा नसुनेपछि धर्ना थालेका हौं,’ उनले भने, ‘माग पूरा नभएसम्म धर्ना जारी राख्छौं ।’

सरकारले छात्रवृत्तिमा पढ्न पठाएका र सशुल्क पढ्न गएका विद्यार्थी कोरोना महामारीमा फर्केका थिए । इन्टर्नसिप पूरा गर्न चीन फर्कन चाहे पनि विश्वविद्यालय र दूतावासले रोक लगाएको विद्यार्थी बताउँछन् । कतिपय विद्यार्थीले काउन्सिलले लिने परीक्षासमेत पास गरिसकेका छन् । इन्टर्नसिप पूरा गर्न पाए लाइसेन्स दर्ता गराएर कामको खोजीमा जुट्ने उनीहरूको भनाइ छ । बाध्यात्मक परिस्थितिमा नेपालकै विश्वविद्यालय र मेडिकल कलेजमा इन्टर्नसिप पूरा गर्न पाउनुपर्ने अर्का छात्र विनोद बरालले बताए ।

कान्तिपुर दैनिकबाट…………

प्रतिकृया दिनुहोस्