RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/११ गते
९४७ पटक

भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएकाले नेपाल फेरि झस्किएको छ । भारतमा महाराष्ट्र, गुजरात, राजस्थान, पन्जाब र केरलामा संक्रमण उच्च गतिमा बढेको छ । दिल्ली सरकारले होलीका कार्यक्रममा प्रतिबन्ध लगाएको छ भने राजस्थानमा रात्रिकालीन कफ्र्यु लागू गरिएको छ ।

भारतमा मंगलबार मात्रै ४७ हजार ३९ नयाँ संक्रमित भेटिएका छन् । यो साढे चार महिनायताकै उच्च हो । सोमबार यो संख्या ४० हजार र आइतबार ४७ हजार नौ थियो । यसरी पछिल्ला दिनमा कोरोना संक्रमण उच्च भएको छ । जब कि जनवरी, फेब्रुअरीमा यो संख्या १० हजारभन्दा तल झरेको थियो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई सय ७५ जनाको मृत्यु भएको छ । मृत्यु पनि तीन महिनाकै उच्च हो । सोमबार एक सय ९७ र आइतबार दुई सय १३ जनाको मृत्यु भएको थियो । मृतकको संख्या पनि विगत महिनामा सयभन्दा तल झरेको थियो ।

भारतमा मात्र नभई विश्वका अन्य देशमा पनि पछिल्लो सातादेखि कोरोना संक्रमण पुनः उकालो लागेको छ । अमेरिकामा कोभिड भ्याक्सिनविरुद्ध तीनवटा खोप (फाइजर, मोडर्ना र जोनसोन एन्ड जोनसोन) खोप लगाउने क्रम जारी छ । कोभिडविरुद्धको खोपपछि संक्रमण नियन्त्रणमा आशा थियो । अमेरिकारले गत डिसेम्बर ११ फाइजर र १४ मा मोडर्ना खोप सुरुवात गरेको थियो ।

तर, खोप अभियान सुरु भएको चार महिनामा पनि अमेरिका कोभिड संक्रमणको गतिमा सबैभन्दा अगाडि नै छ । न्युयोर्क टाइम्सले प्रकाशित गरेको तंथ्याकअनुसार आइतबार र सोमबार अमेरिकामा ४५ हजारका दरले संक्रमित थपिएका छन् ।

अमेरिकामा अहिलेसम्म पाँच लाख ५५ हजारको मृत्यु भएको छ । विश्वभर यो महामारीबाट २७ लाख २८ हजारको ज्यान गएको छ । त्यस्तै, १२ करोड ३८ लाख ९४ हजार संक्रमित भएकामा नौ करोड ९८ लाख निको भएका छन् ।

संक्रमणको सूचीमा ब्राजिल दोस्रो छ । यहाँ पनि एक सातायता संक्रमण झन् बढेको छ । गत शुक्रबार ब्राजिलमा ७३ हजारमा नयाँ संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घन्टामा ब्राजिलमा ४७ हजार नयाँ संक्रमित भेटिएका छन् । यहाँ सोमबार ५३ हजार र आइतबार ४७ हजार संक्रमित भेटिएका थिए । ब्राजिलमा कोरोनाको नयाँ ‘भेरियन्ट’ तीव्र रूपमा फैलिएको छ ।

अफ्रिकी देशहरूमा पनि भाइरसको नयाँ भेरियन्ट देखिएपछि संक्रमणको दर बढेको छ । दक्षिण अफ्रिकामा गत डिसेम्बरमा नयाँ ‘भेरियन्ट’ फैलिएसँगै संक्रमण दोब्बर गतिमा बढेको छ । दक्षिण अफ्रिका, इथियोपिया र लिबियामा संक्रमणको दर बढेको छ । यसबाहेक युरोपेली देश फ्रान्स, पोल्यान्ड, इटालीमा पनि संक्रमण उच्च भएको छ ।

नयाँ पत्रिका दैनिकबाट…………

 

 

प्रतिकृया दिनुहोस्