RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१२ गते
१००० पटक

जुम्लामा पछिल्लो समय स्याउ खेतीको क्षेत्र विस्तार हुँदै गएको छ । जुम्लाको आर्थिक समृद्धि तथा किसानको जीविकोपार्जन गर्ने माध्यमनै स्याउ खेती भएकाले जुम्लाका किसान र सरकारी लगानीमा स्याउ खेतीको क्षेत्र बढ्दै गएको हो । विगतमा जुम्लाको ३ हजार ८ सय ८५ हेक्टर जमिनमा स्याउ खेती भइरहेकोमा अहिले १९ हेक्टर स्याउ खेती क्षेत्र विस्तार भएको छ ।

स्याउ खेतीबाटै गाउँको आर्थिक समृद्धि गर्ने लक्ष्यका जुम्ला तातोपानी गाउँपालिका ६ हियाखोलाका किसान १९ हेक्टर जमिनमा देशकै ठूलो नमुना स्याउ बगैंचा निर्माणमा होमिएका छन् ।
करिब करिब १९ हेक्टर जमिनमा फैलिएको उक्त नमुना बगैचाको २ किलोमिटर सुरक्षित घेराबार सहितको बगैंचा निर्माण हुने भएको छ ।
मालिका स्याउ उत्पादन कृषक समुह हियाखोलाका स्थानीयको सक्रियता र स्याउ सुपरजोन, गाउँपालिकाको आर्थिक सहयोग तथा कृषि अनुसन्धान केन्द्र राजिकोट र विजयनगरको प्राविधिक सहयोगमा देशकै ठूलो नमुना बगैंचा निर्माण थालनी भएको स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीले बताए ।

स्याउ सुपरजोन कार्यालयको स्याउ पकेट क्षेत्र कार्यक्रम अन्तरर्गत देशकै ठूलो र कर्णालीकै पहिलो नमुना बगैंचा निर्माण लागेकोले अबको ५ पाँच वर्षपछि हियाखोलाका किसान आर्थिक रुपमा सक्षम हुने विश्वास व्यक्त गरे । नमुना स्याउ बगैंचाबाट हियाखोला सहितका करिब २ सय किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

“अध्यायन गरे अनुसार निजी क्षेत्र स्वामित्वमा हियाखोलाकै भन्दा देशमै अन्तकतै यति ठूलो बगैंचा छैन” भण्डारीले भने, “गौरवका आयोजनाका रुपमा अघि बढाएर पहिला घेराबार त्यसपछि लिफ्ट सिँचाइ निर्माण गर्ने योजना रहेको छ ।”
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने स्याउ खेतीप्रति स्थानीयको आर्कषणलाई देखेर थप लगानी गर्न तयार रहेको बताए । देशकै नमुनाका रुपमा हेरिएको बगैंचा निर्माणलाई पूर्णता दिएर स्याउ खेतीबाटै आर्थिक रुपमान्तरको अभियानमा सक्रिय हुनसमेत उनले किसानलाई आग्रह गरे ।
१९ हेक्टर जमिनमा फैलिएको नमुना स्याउ बगैचाको ३९ लाख लगानीमा पक्की घेराबार निर्माण हुने भएको छ । जसमा स्याउ सुपरजोनले २० लाख, तातोपानी गाउँपालिकाले ५ लाख र बाँकी १४ लाख किसानले व्यहार्नु पर्ने छ । तर बाँकी १४ लाख बजेट आफूले जुटाउन नसक्ने किसानहरुले बताएका छन् ।
हियाखोला गाउँका १२० सहित अन्य गरी २ सय घरधुरी स्याउ बगैचा निर्माण पूरा गर्न बनाउन तयार रहेपनि बजेट जुटाउन नसक्ने बताएका छन् ।

४५ सय विरुवा रोपियो
हियाखोलामा निर्माण हुँदै गरेको स्याउ बगैंचामा ४ हजार ५ सय स्थानीय जातका स्याउका विरुवा रोपिएको छ । बगैंचा शिलान्यास गर्नु अघिनै हियाखोला, धौलापानी र हाँकुका २ सय किसानले ४ हजार ५ सय विरुवा रोपिसकेको स्याउ सुपारजोन कार्यालयका प्रमुख भण्डारीले बताउँछन् ।

कारोबार दैनिकबाट………………

प्रतिकृया दिनुहोस्