RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१४ गते
६०९ पटक

जुम्ला । नेपाली बजारमा लोकप्रिय बन्दै गएको जुम्ली मार्सी धानको बुधबारबाट खेती आरम्भ भएको छ । जुम्ली कृषकले बिहीबार मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोरामा पानीमा भिजाई राख्ने दिनलाई यहाँ धान उत्पादनको आरम्भ दिनको रूपमा लिइन्छ ।

यहाँको चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मस्टो, कालिका, मालिका देवतालाई र आआफ्ना कुल देवतालाई सम्झेर चैत १२ गतेबाट धान उत्पादन सुरु गरिन्छ । ‘आजको दिन जुम्ली कृषकलाई धार्मिक र प्राकृतिक हिसाबले धेरै महत्व बोकेको दिन हो, गुरु चन्दननाथलाई पुकारेर मार्सीको बीउ भिजाइन्छ अनि त्यही दिनबाट तातो मौसम सुरु हुने विश्वास गरिन्छ ।’ चन्दननाथ नगरपालिका–१० का स्थानीय विष्णु भण्डारीले भने ।

पुरानो संस्कारअनुसार चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाइन्छ, १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णाली मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्नामा छर्ने गरिन्छ । चैत १२ लाई यहाँको संस्कारमा बारुवा भनिने तातोपानी गाउँपालिका–७ की जौंकला खड्काले बताइन् । जुम्लामा चन्दननाथ बाबाले दिएको उपदेशको आधारमा धान खेतीको सुरुवात गरेको पाइन्छ ।

चैत १२ गते विभिन्न तरिकाले बीउ राखी २० गते बेर्नामा लगरे छर्न तथा आफन्त र छोरी कुटुम्बलाई बोलाई मिठो भोजन गराउनू भनी चन्दननाथ बाबाले उपदेश दिएको भन्ने किंवदन्ती रहेको कृषक राजेश्वर देवकोटा बताउँछन् । चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन रहेको छ । मार्सी धानलाई विभिन्न रोगको औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसको रातो भातकोे खीर निकै स्वादिलो हुन्छ ।

इतिहासमा पहिला राजपरिवारमा पनि जुम्लाकै मार्सी धान हुलाकमार्फत पठाउने गरिन्थ्यो । अहिले पनि अधिकांश व्यक्तिले यसको प्रयोग गर्ने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा बताउँछन् । ‘जुम्ली मार्सी चामलमा बढी मात्रामा कार्बोहाइड्रेड र प्रोटिन पाइन्छ, यो धेरै उचाइमा फल्ने र लामो समय अवधिपछि तयार हुने हुँदा स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

अहिले नेपाली बजारमा यसको माग बढिरहेको छ । विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ जुम्लाको छुम चौरज्युलो हो । नेपालमा असार १५ गते धान दिवस मनाउने गरिन्छ तर कर्णाली प्रदेशले हरेक वर्ष चैत १२ मा धान दिवशका रूपमा जुम्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राजधानी दैनिकबाट……….

प्रतिकृया दिनुहोस्