RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१४ गते
१११४ पटक

काठमाडौँ — राष्ट्रिय जनगणनामा खटिने जनशक्ति आवश्यकभन्दा चार गुणाभन्दा बढीले आवेदन दिएका छन् । केन्द्रीय तथ्यांक विभागले अनलाइनमार्फत् करार कर्मचारी आह्वान गरेअनुसार अधिक संख्यामा आवेदन परेको हो । आवेदकमध्ये ५५ प्रतिशत महिला छन् भने ८७ जना लैंगिक अल्पसंख्यक समुदायको रहेको विभागले जनाएको छ ।

‘अनलाइन प्रणालीले निवेदन दिन सजिलो भयो,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘जनगणनामा खटिने कर्मचारी माग्दा अपेक्षा गरेभन्दा निकै बढीले अनलाइन आवेदन दिएका छन् ।’ जनगणना आगामी जेठ २५ देखि असार ८ सम्म देशभरि एकैसाथ हुने तालिका छ ।

विभागले ८ हजार सुपरीवेक्षक र ३९ हजार गणकको माग गरेको छ । त्यसमा १ लाख ९० हजारभन्दा बढीले आवेदन दिएका छन् । यो संख्या आवश्यकताभन्दा चार गुणा बढी हो । गणकका निम्ति न्यूनतम कक्षा १२ उत्तीर्ण गरेको र स्नातक उत्तीर्ण गरेकाले सुपरीवेक्षक बन्न पाउँछन् । न्यूनतम उमेर १८ वर्ष र अधिकतम पुरुष ४० वर्ष तथा महिला ४५ वर्ष नकाटेको छनोटमा पर्नेछन् ।

‘अनलाइनबाट प्राप्त फाराम रुजु गर्ने काम भइरहेको छ,’ निर्देशक लामिछानेले भने, ‘आवेदकको शैक्षिक योग्यतालगायत व्यक्तिको पूर्ण विवरण भएकालाई छानिनेछ ।’ शैक्षिक योग्यतालाई मेरिटका आधारमा केलाइनेछ भने स्थानीय बसोबास, कार्य अनुभव र तथ्यांकशास्त्र वा जनसंख्याशास्त्रमा स्नातकोत्तर गरेका वा पढ्दै गरेकालाई प्राथमिकतामा राखिनेछ । साता दिनभित्र सुपरीवेक्षक छनोट गरिसक्ने र छानिएका आवेदकको नामावली जिल्ला जनगणना कार्यालयमा पठाइनेछ । जिल्लाले छनोटमा परेका आवेदकलाई अन्तर्वार्तासहित दुई महिनाका निम्ति सुपरीवेक्षक नियुक्ति दिनेछ ।

दोस्रो चरणमा आगामी वैशाख २० गतेभित्र गणक छनोट हुनेछन् । ठाउँ विशेषअनुसार अपांगता भएका, लैंगिक अल्पसंख्यक र स्थानीय भाषा बोल्न जान्नेलाई प्राथमिकता दिइने निर्देशक लामिछानेले बताएका छन् । एक महिनाका निम्ति गणक खटाइनेछन् । गणक घर–घरमा पुगेर घरमूलीसँग सम्पर्क गरी विवरण लिनेछन् । जनगणना कार्यमा खटिने प्रत्येक कर्मचारीका निम्ति पाँच लाख रुपैयाँको जीवन बिमासमेत गरिने जनाइएको छ ।

कान्तिपुर दैनिकबाट………

प्रतिकृया दिनुहोस्