RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१५ गते
८७९ पटक

यांगुन/म्यान्डले — म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध शनिबार गरिएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौं प्रदर्शनकारी मारिएका छन् ।

यांगुनमा शनिबार सेनाको गोली लागेर आफन्तको मृत्यु भएपछि शोकविह्वल परिवार तस्बिर : रोयटर्स प्रदर्शनमा ११४ जना मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ‘म्यान्मार नाउ’ अनलाइनले १३ वर्षीया किशोरीसहित कम्तीमा ११४ जना मारिएको उल्लेख गरेको छ । प्रदर्शनका क्रममा २० जनाभन्दा बढी बालबालिका मारिएका छन् भने हालसम्म मारिएकाको संख्या ४ सय नाघेको छ ।

सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् तर उनले चुनावको मितिबारे केही उल्लेख नगरेको बीबीसीले जनाएको छ । ३० मिनेट लामो भाषणका क्रममा ह्यालिङले ‘सेनाले म्यान्मारका जनतालाई बचाउने र लोकतन्त्रप्रति उनीहरूको तिर्खा मेटाउने’ जनाएका थिए ।

जुन्ता शासकले राजधानी नेइपिडअमा ७६ औं सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए । त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले सहरमा सुरक्षाकर्मीले दमन गरेको हो ।

दिवसका अवसरमा आयोजना गरिने विशेष सैन्य परेडमा विगतका वर्षहरूमा विदेशी अधिकारीहरूको उल्लेख्य उपस्थिति हुने गर्थ्यो । शनिबार भने विदेशी पाहुना रुसी उपरक्षामन्त्री एलेक्सेन्डर फर्मिनमात्र उपस्थित थिए । आफ्नो भाषणका क्रममा ह्यालिङले ‘रुस आफ्नो सच्चा मित्र भएको’ बताएका थिए । म्यान्डले सहरमा १३ वर्षीया किशोरीसहित कम्तीमा ४० जनाको ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । २७ जना यांगुनमा मारिएका छन् ।

कान्तिपुर दैनिकबाट………..

प्रतिकृया दिनुहोस्