RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/३१ गते
११४९ पटक

सुर्खेत : कर्णाली प्रदेशसभाको सातौं अधिवेशन आगामी वैशाख ३ गतेका लागि  आह्वान गरिएको छ। कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बैशाख ३ गते दिउँसो ३ बजे बैठक आह्वान गरेका हुन्।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठक आह्वन गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। कात्तिक ९ गते प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको थियो।

पछिल्लो राजनीतिक घटनाक्रमले कर्णाली सरकार अल्पमतमा छ। एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि बैशाख ३ मा बस्ने बैठकलाई विशेष महत्वका साथ हेरिएको छ। मुख्यमन्त्री शाहीले उक्त बैठकबाट राजीनामा दिन्छन् वा विश्वासको मत प्राप्त गर्छन् भन्ने कुरामा सबैको चासो देखिएको छ।

मुख्यमन्त्री शाहीले राजीनामा नदिएर विश्वासको मत लिने माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलकी प्रमुख सचेतक सीता नेपालीले बताइन्। उनले भनिन्‚ ‘मुख्यमन्त्रीज्यूले राजीनामा दिनुहुन्न, अन्य दलहरुसँग छलफल भइरहेको छ। संसदबाटै विश्वासको मत लिनुहुन्छ।’

यसअघि चैत ४ मा बसेको एमाले संसदीय दलको बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन गरेको दलले आफ्नो समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ।

चैत २४ मा प्रदेश सरकारमा एमालेबाट प्रतिनिधित्व गर्ने तीनजना मन्त्रीले पनि राजीनामा दिइसकेका छन्।

प्रतिकृया दिनुहोस्