RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/५ गते
५४३ पटक

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार टिकाउन विश्वासको मत दिने एमालेका चार सांसदमध्ये तीनजना मन्त्री बनेका छन् । कांग्रेसले भने आन्तरिक छलफल गरेर दुई–तीन दिनमा मन्त्रीका लागि सांसदको नाम सिफारिस गर्ने भएको छ ।

फ्लोर क्रस गरेर विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरू अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई मुख्यमन्त्री शाहीले शनिबार साँझ मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठन हुँदा थापा भौतिक पूर्वाधार विकासमन्त्री, बुढा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा शाही उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भएका छन् ।

उनीहरूसहित सांसद प्रकाश ज्वालाले शुक्रबार फ्लोर क्रस गरेर सरकार टिकाउन विश्वासको मत दिएका थिए । ज्वाला भने मन्त्री बनेनन् । ज्वाला र बुढा केही दिनअघिसम्म शाही नेतृत्वको सरकारमै सहभागी थिए । ४ चैतमा एमाले दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि सुरुमा सरकारमै रहेका उनीहरू २४ चैतमा बाहिरिएका थिए ।

एमालेकै चार सांसदले ‘फ्लोर क्रस’ गरेपछि शाहीको सरकारले बहुमत जुटाएको थियो । बहुमतका लागि २० मत आवश्यक पर्नेमा उनले माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेको नेपाल पक्षका चार सांसदको मत प्राप्त गरेका थिए । ज्वालाबाहेकका तीन सांसदलाई एमाले प्रदेश सभा दलले शुक्रबारै निष्कासन गरेको छ । त्यस्तै, ज्वालालाई कारबाहीका लागि केन्द्रीय संसदीय दलमा सिफारिस गरिसकेको छ ।

माओवादी केन्द्रको कर्णाली प्रदेश सभा दलको शनिबारको बैठकले उनीहरूको योगदानको विशेष मूल्यांकन गर्दै आभार र धन्यवाद व्यक्त गरेको थियो । प्रमुख सचेतक सीताकुमारी नेपालीले जारी गरेको प्रेस विज्ञप्तिमा सरकार पुनर्गठन गर्न लागिएको संकेतसहित सरकार सञ्चालनमा भएको सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको धारणा सार्वजनिक गरेकी थिइन् ।

‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, माननीय सदस्य एवं समग्र कर्णालीवासीको भावनाबमोजिम नै सरकार सञ्चालनलगायत विषयमा उच्चस्तरको सहमति र सहकार्यका साथ अगाडि बढ्न हाम्रो दल प्रतिबद्ध रहेको छ,’ प्रमुख सचेतक नेपालीले जारी गरेको विज्ञप्तिमा छ । त्यस्तै, विज्ञप्तिमा सरकार टिकाउन विश्वासको मत दिने कांग्रेसका सांसदहरूलाई पनि आभार व्यक्त गरेको छ ।

नेपाल समूहका केन्द्रीय सदस्य नीरज आचार्यले फ्लोर क्रस गर्ने तीन सांसदलाई मुख्यमन्त्री शाहीले मन्त्री बनाउने कुरा स्वाभाविक भएको बताए । ‘सांसद नरहेको व्यक्तिलाई मन्त्री बनाउने अभ्यास केन्द्रको संघीय सरकारमा हुँदै आएकै कारण कर्णालीलाई पनि प्रधानमन्त्री केपी ओलीले यसो गर्न सकिन्छ भनेर सिकाउनुभएकै हो,’ आचार्यले नयाँ पत्रिकासँग भने, ‘त्यसैले त्यहाँ पनि उहाँले सिकाएकै बाटोमा (मन्त्री नियुक्ति) हुने कुनै नयाँ होइन, स्वाभाविक हो ।’

प्रचण्ड–नेपाल भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरस्थित एक व्यवसायीको निवासमा भएको छलफलपछि प्रचण्ड बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा नजाने निष्कर्षमा पुगेका हुन् ।

‘खासमा उहाँ (प्रचण्ड)लाई तपाईं, म र शेरबहादुर देउवाबीच अहिलेको समसामयिक परिस्थितिमा छलफल गर्नुप-यो भनेर प्रधानमन्त्रीले बोलाउनुभएको थियो, तर त्यसरी ढाँटेर सर्वदलीय बैठक बोलाइएको थाहा पाएपछि जानुभएन,’ प्रचण्डनिकट एक नेताले भने, ‘माधव कमरेडसँग कोटेश्वरमा बेग्लै छलफल गरेर यो जानकारी गराएपछि उहाँ बालुवाटार जानबाट रोकिनुभएको हो ।’

बालुवाटारमा प्रधानमन्त्रीले सर्वदलीय बैठकमा छलफल चलाउनुअघि प्रचण्डले नेपालसँग कर्णाली प्रदेशमा नेपाल समूहले पु¥याएको सहयोग, ओलीले बोलाएको बैठकलगायत विषयमा बेग्लै छलफल गरेका थिए ।

नयाँ पत्रिका दैनिकबाट………….

प्रतिकृया दिनुहोस्