RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/१९ गते
५६७ पटक

कोरोना महामारिका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमुख शहरहरूमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । सरकारले निषेधाज्ञा जारी गरेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र बैंकहरूले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले पनि सुन आयात हुन कठिनाई हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपी केही जिल्लामा कारोबार सुचारु रहेकाले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले बताए ।

उनले अधिकांश स्थानको व्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकाले अहिले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताए । अहिले पनि दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सीमित व्यक्तिको हातमा त्यो सुन पर्ने तर वास्तविक व्यवसायी र उपभोक्ताले त्यो नपाउने अवस्था आउन सक्ने उनले आशंका व्यक्त गरे ।

महासंघका प्रवक्ता मनोजकुमार शाहले कारोबार सुचारु रहेका जिल्लाका लागि स्थानीयस्तरमा नै सुनको बिक्री वितरणको व्यवस्था मिलाउन बैंकर्ष एशोसिएशनसँग आग्रह गरिएको बताए । यसका लागि व्यवसायी र बैंकर्स एशोसिएसनबीच आवश्यक परामर्श भइरहेको उनले बताए । कारोबार सुचारु रहेका स्थानमा विशेष स्वास्थ्य सुरक्षा अपनाउनसमेत उनले व्यवासयीहरूलाई आग्रह गरे ।

विगतमा पनि लकडाउनको समयमा सुन आयात गरिँदा त्यो सुन वास्तविक व्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो । गत वर्षको लकडाउनको समयमा भण्डै ५०० किलो सुन बैंकमा थुप्रिएपनि बन्द खुलेको केही दिनमै सो सुन सकिएको थियो । तर त्यो सुन कहाँ गयो भन्ने तथ्याङ्कक महासंघसँग छैन ।

कारोबार दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्