RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२० गते
८२१ पटक

जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत राहत लिएर गाउँमा पुगेका छन् । उनी तिला गाउँपालिका ९ ढिपुको मुल्लीगाउँका अग्नी पीडितलाई राहत लिएर ढिपु गाउँमा पुगेका हुन् ।

उनले २९ पुर्णरुपमा क्षति भएका र १५ जना आंशिक क्षति भएका अग्नी पीडितका लागि राहतस्वरुप चामल लिएर गाउँमा पुगेका हुन् । एक सय ३० बोरा चामल अग्नी पीडितका लागि राहत बाँडेको सांसद महतले बताए ।

राहत लिएर गाउँमा पुगेका सांसद महतले अग्नी पीडितका घर पुनर्निर्माणको लागि पहल भइरहेको बताए । उनले भने,‘आगो लागेर बस्ती खरानी हुनु । अन्नपात जलेर सखाप हुनु, निकै दुःखद बिषय हो तर बिचलित नहुनु होला । तपाइको साथमा हामी छौँ ।’

सांसद महतले सांसद विकास कोषको आगामी वर्षको बजेटबाट पुनर्निर्माणका लागि ८० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म सहयोग गर्ने बताए । उनले भने,’ढिपु गाउँसंग भावनात्मक सम्बन्ध छ । भावनापछि मात्र राजनीति हुन्छ । जन्मने वित्तिकै पार्टी ल्याएर आउदैनौँ । भावना ल्याएर आउँछौ । पहिलो कुरा भावनात्मक सम्बन्ध स्थापित गर्न चाहन्छौ । त्यसपछि राजनीतिका कुरा गरौँला, सांसद महतले थपे,‘यो राजनीति गर्ने बेला होइन । राहतमा हातमाहात मिलाउने समय हो । सबै राहत तथा उद्वारमा जुटौँ ।’

जनयुद्धका समयमा तपाईको घरमा बसेका थियौँ । तितोमिठो जे छ खाएका थियौँ । यो कदापी बिर्सदैनौँ,उनले भने,‘तर राहतमा राजनीति गर्दैनौँ ।’

नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष बीरबहादुर कुँवरले यहाँका अग्नी पीडित सबैको मानसपटलमा रहेको बताए । उनले भने,‘मुल्ली बस्ती आगोले नष्ट हुनु सबैको लागि दुःखको कुरा हो । मुल्ली बस्ती उतिबेला खेलेको बसेको र जोगिएको भूमि हो । तपाईहरुको दुःखमा साथमा छौँ भनेर आएका छौँ । यो पटक सानो सहयोग ल्याएर आएका छौँ । तपाईहरुले बिगतमा गरेको सहयोग कहिले तिर्न सक्ने छैनौँ ।’

‘हामी सहयोगी मन जुटाउँछौँ । सुखदुःखमा साथ दिन्छौँ । पोखरी र ढिपुको अग्नी पीडितलाई आठवटै पालिकाबाट सहयोग संकलन गरिरहेका छौँ, उनले थपे,‘हिमा, तातोपानी र गुठिचौर गाउँपालिकाले एक एक लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । आन्तरिक रुपमा राहत संकलन गरिरहेका छौँ ।’

‘हामी राजनीति गर्न खोजिरहेका छैनौँ । ढिपु गाउँसंग माया र भावना जोडिएको छ । तपाईको काखामा सुत्यौँ । निरन्तर साथमा छौँ । मन दुखेको बेला निस्वार्थ भावनाका साथ सहयोग गर्नुपर्छ । जब दुख हुन्छ सहानुभूति दिने हो । राजनीति गर्ने होइन,’ अध्यक्ष कुँवरले भने ।

पूर्व राज्यमन्त्री नेकपा कर्णाली प्रदेश सदस्य गोमा कुँवरले अग्नी पीडितका तत्कालीन समस्या हल गर्न सबै लागेको बताईन् । हामीलाई राहत र सुविधा चाहिएको छ । सरकारले हेरेको छैन भन्ने गुनासो गर्नु भएन । तत्कालीन खानपिन र संरचना निर्माण गर्ने हो । उनले भनिन्,‘त्यसका लागि कर्णाली प्रदेश सरकारसंग पहल भइरहेको छ । यो ढिपु गाउँ भनेको कतै न डगमगाएको गाउँ हो । हरेक काममा एक ढिक्का नै छ । कोही पूर्व र कोही पश्चिम नफर्किनुहोला । विकासको हिसाव र सांगठनिक हिसावले एक हुनुपर्छ । राहतका नाममा प्रलोभनमा फस्ने होइन ।’

प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष बीरबहादुर कुँवर, नेकपा कर्णाली प्रदेश सदस्य पूर्व राज्यमन्त्री गोमा कुँवर, पुर्णप्रसाद धिताल र तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा लगायतका जनप्रतिनिधिको सहभागिता थियो ।

गत चैत २१ गते आगो लागेर मुल्ली बस्ती आगो लागेर नष्ट भएको थियो । आगलागीका कारण २९ घर पुर्णरुपमा नष्ट भएका थिए । १५ घरमा आंशिक क्षति भएको थियो । सांसद महत सोमबार तिला गाउँपालिका ७ गोठी गाउँमा राहत लिएर जाने कार्यक्रम छ । राहतसंगै कोरोना भाइरस संक्रमण हुन नदिनको लागि सचेत गर्ने गरिएको छ ।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्