RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२५ गते
१०९० पटक

जुम्लाको गुठिचौर गाउँपालिका ५ काडाखोला जलजलामा नेपालकै ठूलो फुजि स्याउँ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा निर्माण गरेका हुन् । झण्डै ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा बगैँचा निर्माण गरिएको हो ।

कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले फुजि स्याउ रोपेर बगैँचा प्रारम्भ भएको घोषणा गरेका थिए । उनले भने,‘लकडाउनको समयमा बगैँचामै नआउनु पर्ने हो तर जसरी डक्टरले बिरामीलाई छोड्न सक्दैन् कृषि सचिवले किसान छोड्न सकेन । बगैँचामै पुगेर किसानलाई हौसला दिनु दायित्व ठाने ।’

मन्त्रालयका सचिव मिश्रले स्याउ रोपेसंगै त्यो बगैँचामा एकैपटक ३० हजार फुजि स्याउ रोपिएको हो । सचिव मिश्रले भने,‘यो नेपालको ठूलो स्याउ बगैँचा मात्र होइन । कृषि तालिम केन्द्रका रुपमा स्थापित हुनुपर्छ । अनुसन्धान केन्द्र बनाउनको लागि लाग्नुपर्छ । यो बगैँचा नेपालको स्याउ उत्पादनको शिलशिलामा एक शान नै हो ।’

उक्त अवसरमा सचिव मित्रश्रले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले  स्याउको प्रशोधन, बजारीकरण, कृषि सडक लगायतका प्राविधिक सहयोग गर्न सक्ने बताए । समयक्रमसंगै थातथलो बिर्षने, स्याउबाट पैसा कमाएर सुर्खेत नेपालगंजमा घर बनाउने कार्य विगतदेखिनै भएको थियो, सचिव मिश्रले थपे,‘कृषिले कमाएको पैसा घरघडेरी लगानी गर्ने चलन छ । स्याउको बगैँचा सुधारमा कहिले लगाएको भेटिँदैन । तर किसानले खेतीपाती भित्र्याउँदा एक अंश माटोलाई पनि दिनुपर्छ भन्ने पनि ख्याल गर्नुपर्छ ।’

जे जति आम्दानी गर्छाैं खेतीमा लगानी गरौँ । कमाएर अरु क्षेत्रमा लगानी गर्ने मान्छे थुप्रो छ । आफूले कमाएर खेतीमा ल्याउने मान्छे धेरै थोरै छ । जसमध्ये गुठिचौर गाउँपालिका ५ का मिनबहादुर भण्डारी एक हुन् । सचिव मिश्रले भने,‘ यो फार्मले धेरैलाई रोजगारी दिएको छ । यो बगैँचाले पुण्यको काम गर्नेछ । स्याउ खाएर बुढाबुढी बालबालिका निकै खुसी हुनेछन् । यहाँको आर्थिक समृद्धिको बलियो आधार हुनेछ ।’

बगैँचामा बाटोघाटो जोडिएको छ । यो बगैँचा कर्णालीको लागि असाध्यै ठूलो अवसर हो । ’सचिव मिश्रले भने,‘उच्च मूल्यका बालीबस्तुमा लगानी गनुपर्छ । दुई सय स्याउ र दुई ओखर हुर्काएको खण्डमा त्यो पेन्सन जस्तै हो । यहीँ माटोमा रमाउने हो । यहीँ माटोमा कमाउने हो ।’

उनले कर्णालीमा लगानी भित्र्याउनेलाई सम्मान गर्नु पर्ने बताए । जसले कर्णालीको पैसा लैजान्छ त्यो कर्णालीवासीका लागि सम्मान गर्न लायक हुँदैन । उनले भने,‘तर जसले कर्णालीमै लगानी गर्छ त्यो सम्मानित लगानी कर्ता हो । मिनबहादुर भण्डारी कर्णाली कृषि क्षेत्रको सम्मानित व्यक्ति हो । कर्णालीवासीले उहाँबाट सिक्नुपर्छ । उहाँको कार्यलाई पछ्याउँदै जानुपर्छ ।’

गत चैतदेखि बगैँचा स्थापनाको तयारी थालिएको थियो । लकडाउन अवधिभर बगैँचाको पूर्वाधार निर्माणदेखि विरुवा रोप्ने तयारीसम्मका क्रियाकलाप भए । लकडाउनले उद्योग धन्दा, सिर्जशिल काम बन्द भए । त्यही लकडाउनको बीचमा ठूलो बगैँचा निर्माण भयो ।

गुठिचौर एग्रो फार्मका सहजकर्ता दानबहादुर बुढाले भने,‘यो बगैँचा स्थापनाको कामले पुर्णता पाएसंगै केही आशाका किरण पलाए । यहाँका स्थानीयले रोजगारी पाए । फुजि स्याउको विशाल बगैँचा जुम्लामा स्थापना भएको सन्देश फैलाउने अवसर मिल्यो । यो निकै राम्रो अवसर हो ।

बगैँचामा स्याउ रोप्नुअघि बगैँचाको आकार प्रकार तयार भयो । बगैँचा निर्माणको लागि ८७ जनाले जग्गा लिजमा दिए । एक लाख ५० हजार बर्गमिटर जग्गामा पूर्वाधारसहितको सुविधा सम्पन्न स्याउ बगैँचा निर्माण भयो । यो बगैँचा सिंगो नेपालको एक नमुना काम हो । जग्गा ३० वर्ष लिजमा लिएर स्याउ बगैँचा बनेको हो । बगैँचा स्थापनाको लागि झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

एक दिनमा डेढ सयदेखि ढाई सयसम्म कामदारले रोजगार पाएका छन् । एक जना आयोजना प्रमुख, लेखापाल २ जना, ओभरसियर एक, स्टोर किपर २, हेल्पर १२, जेटिए ४ र चौकीदार ४ जना राखिएको छ । दुई जना सहजकर्ता, तीन जना चालक र तीन सहचालक राखिएको छ ।

गाउँमै नेपालकै ठूलो बगैँचा स्थापना भएपछि स्थानीय खुसी छन् । उनीहरुले स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउनको लागि प्रेरणा मिल्ने बताए । लगानीकर्ता मिनबहादुर भण्डारीले जडिबुटी ब्यापार गर्दा कमाएको रकमले आफ्नै भूमिमा स्याउ बगैँचा स्थापना गर्न पाउदा खुसी लागेको बताए । उनले भने,‘यो स्याउ बगैँचामा अर्गानिक मलको प्रयोग हुनेछ ।’ उनले २३ लाख रुपैयाँमा मल खरिद गरेर विरुवामा राखिएको छ ।

उनले स्याउ खेती गरेर कृषि कर्मको एक परिचय दिने लक्ष्य रहेको बताए । मिनबहादुरले भने,‘बगैँचाबाट हुने आम्दानी शिक्षा, स्वास्थ्यसंगै सामाजिक कार्य र पारिवारिक समृद्धिमा लगाउँछु ।’ यो बगैँचालाई नमुना बगैँचा बनाइराख्न पनि सदैव तत्परहेको बताए । कृषि सचिव मिश्रले लगानीकर्ता मिनबहादुर भण्डारीलाई बगैँचामै सबै कामदारको बीचमा दोसल्ला ओढाएर सम्मान गरे । उनीसहित बगैँचा निर्माणका लागि जग्गा उपलब्ध गराउन सहयोग गर्ने गुठिचौर ५ फोइगाउँका इश्वरीप्रसाद चौलागाई र रुद्रलाल धिताललाई खादा लगाएर सम्मान गरे ।

सचिव मिश्रले भने,‘कठिन कालमा बगैँचा स्थापना गरेर स्थानीलाई रोजगारी दिलाउने काम निकै चुनौतिपुर्ण छ । स्याउ खेतीको संभावना राम्रो छ भन्ने सन्देश पनि यो बगैँचाले दिएको छ । मिनबहादुरले दुई वर्षअघि आफ्नै जग्गामा २ हजार ६ सय फुजि स्याउका बिरुवा रोपेर परीक्षण गरिसकेका थिए । जसमध्ये २ हजार २ सय विरुवाले फल दिँदै आएका छन् ।

जुम्लामा बगैँचा निर्माण गर्नु अघि लगानीकर्ता भण्डारीले नेपालका ठूला भनिएका बगैँचामा पुगेर अवलोकन गरेका थिए । अबको लक्ष्य बगैँचा व्यवस्थापन गरेर नमुना बगैँचा निर्माण गरेर रोजगारी सिर्जना गर्ने रहेको उनले बताए । यो बगैँचा कृषि स्रोत केन्द्रका रुपमा स्थापित हुने कृषि विज्ञ बताउँछन् ।

जुम्लाको झण्डै ३ हजार ४ सय ५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको छ । तर पछिल्लो समयमा फुजि जातको स्याउ व्यवसायिक रुपमा खेती भइरहेको छ ।

नागरिक दैनिकबाट……..

प्रतिकृया दिनुहोस्