RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२५ गते
७५४ पटक

वीरगञ्ज : वीरगञ्ज पथलैया औद्योगि कोरिडोरका उद्योगी व्यवसायीले विद्युत महशुल र कर दाखिलको समय थप्न सरकारसंग माग गरेका छन् । कोरोना संक्रमणको दोश्रो लहरसंगै संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले उद्योग व्यवसाय पनि प्रभावित भएकाले उद्योगी व्यवसायीले विद्युत महसुल र कर दाखिलाको समय थप्न सरकारसँग माग गरेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि बैशाख १६ देखि निषेधाज्ञा लगाईएका कारण उद्योगको दैनिक उत्पादन, व्यवसाय र प्रशासनिक कामकारवाही समेत प्रभावित भएको संघको जिकिर छ । त्यहि कारण विद्युत महसुल र कर दाखीला, सरकारले तोकेकै समयमा गर्न सक्ने अवस्था नरहेको संघले जनाएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण र आन्तरिक राजश्व विभागलाई पत्र नै लेखेर यस्तो माग गरेका छन् ।

संघका अध्यक्ष सुबोध गुप्ताका अनुसार, कोरोना संक्रमण भयवाह बन्दै गएको र संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा पनि लगाइएका कारण उद्योग कलकारखनामा  मजदुर र कर्मचारी सहज रुपमा आवतजावत गर्न सक्ने अवस्था छैन । जसका कारण दैनिक उपभोग्य र औषधीजन्य उद्योग बाहेक अन्य सबै उद्योगहरु बन्द छन् ।

कोरोना संक्रमणको पहिलो लहरका बेला लगाइएको लकडाउनका कारणले थलिएका यस क्षेत्रका उद्योगहरु पुन सामान्य अवस्थामा फर्किने क्रममै रहेका बेला अहिले फेरि दोश्रो लहर शुरु भएको छ । यसका साथै निषेधाज्ञा पनि लगाइएकाले नीजी क्षेत्र थप मारमा परेको अध्यक्ष  गुप्ताले बताए । त्यसैले कम्तीमा विद्युत् महशुल र कर दाखिलाको समय सरकारले थप दिएको खण्डमा नीजी क्षेत्रलाई थोरै भएपनि राहत पुग्ने अध्यक्ष गुप्ताले बताए ।

संघका उपाध्यक्ष हरि गौतमले निषेधाज्ञा लगाइएका कारण ठूला उद्योगहरुमा समेत प्राविधिक तथा प्रशासनिक कर्मचारी आउन नपाएकाले विद्युतीय माध्यमबाट महशुल दाखिला गर्न पनि सम्भव नभएको बताए ।

निषेधाज्ञा हटेपछि विद्युत् महशुल, कर विवरण र कर चुक्ता गर्नसक्ने सहुलियत दिन उद्योगी व्यावसायीले माग गरेका छन् । साथै संघले अहिले समयमै विद्युत महशुल र कर तिर्न नसक्दा , पछि त्यसको जरीवाना नलिन पनि सरकारसंग माग गरेको छ ।

अन्नपुर्ण पोष्ट दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्