RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१२ गते
१०४० पटक

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) ले ललितपुर सिटी एफसीविरुद्धको खेलमा रेफ्रीप्रति आक्रोशित हुँदै खेल अवरुद्ध पारेको आरोपमा विराटनगर सिटी फुटबल क्लबका मुख्य प्रशिक्षक यान ललाई एक सिजनको लागि प्रतिबन्ध लगाउँदै ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । क्लबलाई पनि १ लाख जरिवाना गर्दै तीन अफिसियललाई पनि प्रतिबन्ध लगाइएको छ ।

विराटनगर सिटी फुटबल क्लबका मुख्य प्रशिक्षक यान ल । फाइल तस्बिर : कान्तिपुरएनएसएलको अनुशासन समितिको निर्णयमा लेखिएको छ, ‘यान ललाई ५० हजार रुपैयाँ जरिवाना गर्ने र एनएसएलको एक सिजन कुनै टिममा कुनै पनि योग्यताको प्रतिनिधित्व गर्न प्रतिबन्ध गरिनेछ । खेलाडीलाई भड्काएर मैदान छाड्न लगाउनुको मुख्य जिम्मेवार रहेको अनुसन्धानको निष्कर्ष छ ।’ यी २८ वर्षीय भारतीय प्रशिक्षकले खेलका क्रममा ‘टचलाइन नाघेको’ र बारम्बार अफिसियललाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको निर्णयमा उल्लेख छ ।

दशरथ रंगशालामा वैशाख २५ को पहिलो खेलमा ललितपुरले विराटनगरलाई ४–० ले पराजित गरेको थियो । दुवै टिमका लागि शीर्ष चारमा रहँदै प्लेअफमा स्थान सुरक्षित गर्न उक्त खेल जित्नैपर्ने अवस्था थियो । डिफेन्डर विजय धिमालले अन्त्यतिर दोस्रो पहेँको कार्ड पाएपछि १० खेलाडीमा समेटिएको विराटनगरविरुद्ध ललितपुरले ४–० को जित निकालेको थियो । कप्तान अञ्जन विष्टले ३६ औं मिनेटमै ललितपुरलाई अग्रता दिलाएपछि विराटनगरको टचलाइन र ‘प्लेयर बक्स’ मा तनाव देखिएको थियो । विशेष गरी रेफ्री कविन व्यञ्जनकारको निर्णयलाई लिएर विराटनगरले आक्रोश पोखिरहेको थियो ।

विमल रानाले ६२ औं मिनेटमा दोस्रो गोल गरेपछि विराटनगरले खेलाडीलाई मैदानबाहिर बोलाएको थियो । स्पेनी फरवार्ड पेड्रो मान्जीमात्रै मैदानको बीचमा उभिइरहे । मिडफिल्डर सन्तोष तामाङ केहीबेर बाहिर गए पनि मैदानमा फर्किएका थिए । अरू खेलाडीलाई विराटनगरले आफ्नो प्लेयर बक्सनिर (मैदानबाहिर) भेला गरेको थियो । प्रशिक्षक लसहित अफिसियलहरूले खेलाडीलाई बाहिर बोलाएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) का पदाधिकारी र अफिसियलहरूले सम्झाएपछि मात्रै विराटनगर मैदानमा फर्किएको थियो । त्यो तनाबले खेल ७ मिनेट अवरुद्ध भयो । त्यसपछि अञ्जनले अर्को गोल थपे भने नुर्लान जाहिदले पनि गोल गर्न भ्याए । उपाधि दाबेदार मानिएको विराटनगर लिगबाटै बाहिरियो । विमललाई तानेर लडाएपछि विजय धिमाललाई ८५ औं मिनेटमा दोस्रो पहेँलो कार्ड देखाइएको थियो ।

खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक लले रेफ्रीले पक्षपात गरेको आरोप लगाउादै स्पष्ट रूपमै आफ्नो टिमलाई तीन पेनाल्टी नदिएको बताएका थिए । उनी ५३ औं मिनेटमा अञ्जनले पेनाल्टी क्षेत्रमा विराटनगरका सुनिल बललाई लडाउादा रेफ्री व्यञ्जनकारले विराटनगरलाई पेनाल्टी दिएनन्, सुनिललाई दण्ड दिने हिम्मत गरेनन्, खेल जारी नै राखे । त्यसैको आक्रोश पोख्दै प्रशिक्षक ल मैदानभित्रै पुगेका थिए । खेलाडीलाई बाहिर बोलाएपछि उनी टचलाइनमै मेडिकल बक्समाथि बसेका थिए । मान्जीको प्रहारमा ललितपुरका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि खेलाडीले पेनाल्टीको अपिल गरेका थिए, जसलाई रेफ्रीले अस्वीकार गरिदिए ।

भारतीय फुटबलमा इन्डियन सुपर लिगपछिको प्रतिष्ठित आई लिगमा राउन्ड ग्लास पन्जाब, मोहम्मडन स्पोर्टिङ, आइजवालसहित टेक्त्रो स्वेड्स युनाइटेड सम्हालिसकेका यान ल नै एनएसएलमा रेफ्रीका सबैभन्दा बढी आलोचक थिए । उनले बुटवल लुम्बिनीविरुद्ध २–२ मा टुंगिएको खेलपछि ‘नेपालको जस्तो तल्लो स्तरको रेफ्री कहींकतै नदेखेको’ बताएका थिए । त्यसपछि एनएसएलका एक जिम्मेवार प्राविधिकले आई लिगमा यान ललाई फिक्सिङको आरोप लागेकाबारे प्रकाशित एक वर्ष पुरानो समाचार सामाजिक सन्जालमा सेयर गरेका थिए । काठमाडौं रेजर्सले जेठ १ मा भएको फाइनलमा धनगढी एफसीलाई १–० ले हराएर देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिताको उपाधि जित्यो । त्यसअघि नै यान ल भारत फर्किसकेका छन् ।

क्लबलाई जरिवाना, अफिसियल प्रतिबन्धित

एनएसएलले विराटनगर सिटीका फुटबल निर्देशक सोनाम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई ३–३ खेलमा प्रतिबन्ध लगाएको छ । उनीहरूलाई अनुशासनको कमी भएको र खेलाडीलाई मैदान छाड्न उक्साएकोमा प्रतिबन्ध लगाएको एनएसएलले जनाएको छ ।

‘स्पोर्टसम्यानसिप’ व्यवहार नदेखाएर खेल अवरुद्ध पारेको भन्दै विराटनगरलाई १ लाख जरिवाना गर्ने निर्णय गरेको छ । खेलाडीले मैदान छाड्नुमा क्लब व्यवस्थापन जिम्मेवार भएको जनाउँदै क्लबलाई जरिवाना गरिएको जनाइएको छ ।

विराटनगरले अपिल गर्ने

विराटनगर सिटीका प्रमुख कार्यकारी अधिकृत सुवासिसलाल कोइरालाले उक्त कारबाही गर्ने निर्णयविरुद्ध अपिल गर्ने बताए । ‘खेलाडीलाई बाहिर बोलाएर हामीले गल्ती गरेका हौं । तत्कालै हामीले माफी पनि मागेका थियौं,’ उनले भने, ‘जरिवाना र प्रतिबन्ध अति धेरै भयो । के सोचेर यस्तो निर्णय गरिएको हो, थाह भएन । हामीलाई कारबाही गर्ने आधारभूत प्रमाण थाह पाउन पनि अपिल गर्नेछौं ।’

कान्तिपुर दैनिकबाट………….

प्रतिकृया दिनुहोस्