RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१८ गते
९२७ पटक

काठमाडौँ — टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले सोमबार पछिल्ला चार महिनाको कोरोना भाइरस संक्रमण हुने दर सार्वजनिक गरे । जसअनुसार वैशाख पहिलो साता पीसीआर परीक्षण गराएकामध्ये २६.२ प्रतिशतमा पोजिटिभ देखिएको थियो भने यो दर वैशाख अन्तिम साता ४९.४७ प्रतिशत पुग्यो ।

जेठ दोस्रो साता संक्रमण दर २०.५४ प्रतिशतमा झरेको छ । टेकु अस्पतालमा जस्तै अन्यत्र गराइएको पीसीआर जाँचमा पनि संक्रमण फेला पर्ने दर घट्दै गएको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना महामारीको दोस्रो लहर उच्च भएको वैशाख अन्तिम साता पीसीआर गरेकामध्ये ४४.२१ प्रतिशतमा संक्रमण देखिएको थियो । जेठ पहिलो साता भने ३९ प्रतिशतमा संक्रमण पाइयो । जेठ दोस्रो साता यो दर अझ घटेर ३७.२२ मा आयो भने पछिल्ला तीन दिनको औसत दर ३० प्रतिशत छ ।

सोमबार देशभरि १७ हजार ४ सय ८० जनाको पीसीआर र एन्टिजेन परीक्षण गराउँदा ४ हजार ७ सय ६२ जना अर्थात् २७.२४ प्रतिशत मात्रै पोजिटिभ देखिएको छ । सोमबारको तथ्यांकमा केही ठूला अस्पताल र प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट भने समावेश छैन ।

कोरोना महामारीको ‘हटस्पट’ बनेको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेले डेढ सातादेखि संक्रमित आउने क्रम घटेको बताए । ‘अहिले बिरामीले बेड पाउँछन् । अस्पतालको करिडोर, टेन्ट र एम्बुलेन्समै राखेर उपचार गर्नुपर्ने अवस्था छैन,’ उनले भने । उनका अनुसार पछिल्लो समय नेपालगन्जमा संक्रमित घटेका छन् तर गाउँबाट गम्भीर भएर आउने बढेका छन् । ‘तर केही साताअघिको जस्तो बेड र अक्सिजन नपाउने समस्या छैन,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमित हुने दर घटे पनि ढुक्क भइहाल्ने अवस्था नभएको बताए । ‘संक्रमित हुने दर थोरै घटेको हो । ढुक्क भइहाल्ने अवस्था अझै छैन । संक्रमण शिखरबाट ओरालो लागेको देखिन्छ,’ उनले भने । निषेधाज्ञामा सर्वसाधारणले जनस्वास्थ्य मापदण्ड पालना गर्नुका साथै विभिन्न क्षेत्रको मिहिनेतपछि यो अवस्थामा आउन सकेको उनले बताए ।

सहरी क्षेत्रमा सुधार भए पनि गाउँमा संक्रमण ओरालो लाग्न बाँकी रहेको उनले बताए । केही दिनयता पीसीआर गराएकामध्ये एक तिहाइमा पोजिटिभ देखिए पनि संक्रमण ‘चेन ब्रेक’ भइसकेको भन्न नमिल्ने डा. पौडेलले बताए । ‘केही अस्पताल र ल्याबले गरेको पीसीआर र गाउँ–गाउँमा गरिएको एन्टिजेनको नतिजा पनि रिपोर्टिङ भएको छैन । यसले यथार्थ नतिजा आउन सकेको छैन,’ उनले भने ।

कान्तिपुर दैनिकबाट……..

प्रतिकृया दिनुहोस्