RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२० गते
१७७२ पटक

कोरोनाको दोस्रो लहरका क्रममा काठमाडौं उपत्यकामा देखिएका सक्रिय संक्रमितको संख्या करिब ४२ प्रतिशतले घटेको छ । नयाँ संक्रमितको संख्या घट्दै गए पनि संक्रमण दर उच्च नै रहेकाले जोखिम कायमै रहेको चिकित्सकहरूले बताएका छन् ।

गत १ जेठमा उपत्यकामा सक्रिय संक्रमितको संख्या सबैभन्दा उच्च अर्थात् ४२ हजार दुई सय ४३ पुगेको थियो । बुधबार यो संख्या २४ हजार ६ सय ४६ मा झरेको छ । अर्थात् सक्रिय संक्रमितको संख्या ४२.६५ प्रतिशतले घटेको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या आधाभन्दा धेरै घटेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । १ जेठमा काठमाडौंमा दुई हजार एक सय ४६ जनामा संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ३० हजार एक सय ४२ पुगेको थियो । बुधबारमा नौ सय ६९ जनामा संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या १४ हजार ८७ मा छ ।

ललितपुर र भक्तपुरमा पनि सक्रिय संक्रमितको संख्यामा कमी आएको मन्त्रालयको तथ्यांक छ । १ जेठमा ललितपुरमा सक्रिय संक्रमितको संख्या सात हजार एक सय एक थियो भने बुधबार ६ हजार दुई सय ३५ छ । त्यस्तै, भक्तपुरमा १ जेठमा पाँच हजार रहेको सक्रिय संक्रमितको संख्या बुधबार चार हजार तीन सय २४ मा झरेको छ ।

नयाँ संक्रमितको संख्या घटेको र निको हुनेको संख्या बढेकाले सक्रिय संक्रमितको संख्या घटेको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले बताए । उनका अनुसार संक्रमणको ‘पिक’ ओरालो लाग्दै गएको छ ।

विगतमा उपत्यकामा एकै दिन चार हजार दुई सयजनासम्ममा संक्रमण देखिएको थियो । बुधबार काठमाडौंमा नौ सय ६९, ललितपुरमा तीन सय ६ र भक्तपुरमा एक सय ८१ गरी एक हजार चार सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म उपत्यकामा दुई लाख ४४ हजार चार सय ८३ जनालाई संक्रमण भइसकेको छ । जसमध्ये काठमाडौंमा एक लाख ९० हजार दुई सय ५७, ललितपुरमा ३३ हजार नौ सय २१ र भक्तपुरमा २० हजार तीन सय पाँचजना छन् ।

देशभर पनि संक्रमितको संख्या घटेको छ । नेपालमा सबैभन्दा धेरै ११ जेठमा सक्रिय संक्रमितको संख्या एक लाख १७ हजार दुई सय ६१ थियो । त्यसयता नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढेकाले बुधबार सक्रिय संक्रमितको संख्या एक लाख एक हजार नौ सय ९३ मा झरेको छ । अहिलेसम्म देशभर पाँच लाख ७१ हजार एक सय ११ जनामा संक्रमण पुष्टि भइसकेको छ । देशभरका संक्रमितमध्ये ४३ प्रतिशत उपत्यकाका बासिन्दा छन् ।

संक्रमणबाट अहिलेसम्म काठमाडौंमा एक हजार ६ सय ४०, ललितपुरमा चार सय ४९ र भक्तपुरमा तीन सय २८ गरी दुई हजार चार सय १७ जनाले ज्यान गुमाइसकेका छन् ।

नयाँ पत्रिका दैनिक……….

प्रतिकृया दिनुहोस्