RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/३१ गते
६४४ पटक

निषेधाज्ञाले समग्र आर्थिक गतिविधि प्रभावित भएका बेला पनि सेयर बजारमा भने लगातार वृद्धि देखिएको छ । राजनीतिक अस्थिरता बढेको तथा बजारमा सकारात्मक प्रभाव पर्ने गरी कुनै आर्थिक तथा नीतिगत परिवर्तन नभए पनि बजार सूचक र कारोबार रकमले हरेक दिन नयाँ नयाँ कीर्तिमान कायम गरिरहेको छ ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.३२ अंकले बढेर २९८३.१० अंकमा पुगेको छ । यसदिन २२० कम्पनीका ३ करोड ७० लाख कित्ता सेयर किनबेचबाट १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से सूचक र कारोबार रकम हालसम्मकै सर्वाधिक उच्च हुन् ।
यसअघि गत आइतबार पनि १७ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने नेप्से सूचकले बुधबार २९६० अंकको रेकर्ड बनाएको थियो ।

आइतबार नेप्से सूचकसँगै बैंकिङ, होटल तथा टुरिजम, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादनमूलक र लगानी समूह बढेका छन् । यसैगरी व्यापार, जीवन बिमा, निर्जीवन बिमा, लघुवित्त र अन्य समूहमा भने गिरावट देखिएको छ ।

आइतबार श्री इन्भेष्टमेन्ट, समृृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, कर्णाली विकास बैंक, सिन्धु विकास बैंककालगायत १०४ कम्पनीको भाउ वृद्धि भएको छ । यसैगरी नेपाल लाइफ, युनाइटेड मार्दी, साधना लघुवित्त, नारायणी डेभपलपमेन्ड बैंकलगायतका ७४ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर छ ।

गत वर्ष लकडाउनका कारण लामो समय बन्द रहेको सेयर बजार निषेधाज्ञामा पनि निरन्तर रुपमा सञ्चालन भइरहेको छ । निषेधाज्ञाको समयमा पुँजीबजार लगानीको एकमात्र क्षेत्र भएको र अन्य क्षेत्रको लगानीयोग्य रकम समेत पुँजी बजारमा आइरहेको तथा बैंकको व्याजदर एकल अंकमा हुँदा समेत बजार वृद्धिमा सकारात्मक असर गरेको छ ।

सुरु–सुरुमा सेयर बजारको वृद्धिलाई लगानीकर्ताको आकर्षण र पुँजी बजारको विस्तारको रुपमा व्याख्या गर्ने नियामक निकायका लागि समेत पछिल्लो समय बजारको अस्वाभाविक वृद्धिदर र कारोबार रकम टाउको दुखाइ बन्न थालेको छ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले आफ्नो वार्षिकोत्सवकै दिन विज्ञप्ति जारी गर्दै बजारमा अस्वाभाविक कारोबार र चलखेल भएको भन्दै सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको थियो ।

बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङ भएको विषयमा अध्ययन सुरु गरिएको भन्दै लहैलहैमा लगानी नगर्न समेत सुझाव दिएको छ । बोर्डले लगानीकर्तालाई देशको आर्थिक परिदृश्य, सूचीकृत कम्पनीका प्रतिसेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात, कितावी मूल्यमा बजार मूल्यको अनुपात, कम्पनीको संस्थागत सुशासन आदिलाई विश्लेषण गरेर मात्र सेयर किन्न भनेको छ ।

कोभिड महामारी र निषेधाज्ञाका कारण बजारमा सूचीकृत कम्पनीहरु समेत प्रभावित छन् । नकारात्मक नेटवर्थ भएका, संस्थागत सुशासन कमजोर भएका कम्पनीको सेयर मूल्य समेत बढेको छ भने कारोबार उच्च भएको छ । बजारमा चलखेल भएको भन्दै बोर्डले आइतबारदेखि नै सेयर कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) बाट अल अर नन (एओएन) सुविधा हटाउन नेप्सेलाई निर्देशन दिएको थियो ।

लगानीकर्ताहरुले बजारमा कृत्रिम रुपमा मात्र सेयरको माग सिर्जना गराई चलखेल गरेको बोर्डको भनाइ छ । तर, बिना सूचना बिहान भएको सुबिधा दिउँसो हटाएकोमा लगानीकर्ता भने असन्तुष्ट रहेका छन् । यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी लेख्दै सेयर बजारको वृद्धिलाई अस्वाभाविक भनेका छन् ।

बजार अस्वाभाविक रुपमा वृद्धि हुन थालेपछि नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत कडाइ गर्ने संकेत पनि गरेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा समेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर कारोबारमा कडाइ गरेको थियो ।

कारोबार दैनिकबाट……………

प्रतिकृया दिनुहोस्