RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१ गते
६२७ पटक

जुम्ला-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी निषेधाज्ञाले कर्णालीका उत्पादनमूलक उद्योग संकटमा परेका छन् । गत वर्ष ९-१० महिना ठप्प भएर भर्खर लयमा फर्खिन थालेका उद्योगधन्दा फेरि थला परेका हुन् ।

कर्णालीका उद्योगी व्यवसायीले कोरोनाले थलिएको व्यवसाय क्षेत्रलाई उकास्ने खालको बजेट आउने अपेक्षा गरेका छन् । पहिलो र दोस्रो चरणको कोरोनाबाट नराम्री धरासयी भएको व्यवसाय क्षेत्र उस्कान विशेष राहत प्याकेजसहितको बजेट आउने आशामा रहेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जव अलि मनिहारले बताए ।

उनले भने, “संघ सरकारले निजी क्षेत्रका धेरै समस्या सम्बोधन हुने खालका नीति कार्यक्रम तथा बजेट ल्याएको छ । सोही अनुसार कर्णाली सरकारले पनि दुर्गमका उद्योगी व्यवसायीलाई राहत पुग्ने बजेट ल्याउने अपेक्षा छ ।”

बैंकको व्याज मिनाह, व्यवसाय पुर्नस्थापनका लागि सहुलियत कर्जा, ऋण तिर्ने भाका सार्न तथा व्यवसायी विशेष राहत प्याकेजसहितको बजेट आउनु पर्ने उनको भनाइ छ । कर्णालीका करिब ४२ हजार आर्थिक प्रतिष्ठान यतिबेला ठप्प छन् । साना मझौला उद्योग, होटल रेष्टुरेष्ट, व्यवसाय, लगायतका सबै क्षेत्र अस्तव्यस्त छन् ।

विगतमा सरकारले व्याज मिनाह गर्ने, सहुलिय ऋण दिने नीति ल्याएपनि निश्चित व्यक्तिले फाइदा लिएको हुँदा अब वास्तविक व्यवसायीलाई राहत पुग्ने खालको पारदर्शी बजेट ल्याउन व्यवसायी मीनप्रसाद पौडेलले बताए । उनका अनुसार बैंकको ब्याज तिर्नै मुस्किल परेकोले कर्णाली सरकारले निजी क्षेत्रको मनोभावनालाई बुझेर बजेट ल्याउने आशा व्यक्त गरे ।

यता उद्योगी रामकृष्ण चौलागाईले उद्योग बन्द हुँदा कच्चा पर्दाथकै मूल्य आकासिएको र २ करोड बराबरको उत्पादित वस्तु थन्किएको बताए । उनले भने, “बैंकको ब्याज बढ्दै गएको छ । उद्योग ठप्प छ । व्यवसाय उत्थान गर्न खासै सरकारले पहल नगरेको छैन । त्यसैले आगामी बजेटमा आफू जस्ता सयौ उद्योगीको समस्या समधान हुने खालको बजेट आउनुपर्छ ।”

जुम्लामा करिब ८२ करोड लगानीमा ८ सय ६९ वटा उद्योग दर्ता भएका छन् । जसमा उत्पादनमूलकतर्फ ६ सय ५ वटा उद्योग रहेका छन् । भर्खर लगानी गरेर व्यवसाय सुरू गरेका व्यवसायीहरु पुनः व्यवसायमा नफर्किने गरी थला परेका छन् ।

आगामी असार १ गते कर्णाली प्रदेश सरकारले करिब ३० अर्बको बजेट ल्याउँदै छ । यो बजेट गत वर्षको भन्दा करिब ३ अर्ब कम हो । आगामी आवको बजेटमा कर्णालीका निजी क्षेत्रको मागहरु सम्बोधन हुनेमा उद्योगी व्यवसायी आशावादी छन् ।

कारोबार दैनिकबाट,……….

प्रतिकृया दिनुहोस्