RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१३ गते
७५६ पटक

काठमाडौं । देशभरका अधिकांश निजी अस्पतालले बिरामीको स्वास्थ्य जाँच र उपचारबापत आफूहरूले लिने शुल्क सार्वजनिक गर्न आनाकानी गर्दै आएका छन् । मुख्यतः ठूला भनिएका अस्पताल नै यसबापतको शुल्क सार्वजनिक गर्न चाहँदैनन् ।

अस्पतालले सेवा शुल्क सार्वजनिक नगर्दा बिरामीहरूले चर्र्काे मूल्य चुकाउनुपरिरहेको छ । मनपरी सेवा शुल्कका कारण बिरामी अस्पतालमै प्रताडित हुनुपर्ने बाध्यता छ ।

अस्पतालहरूले सेवा शुल्क सार्वजनिक नगर्दा बिरामी र तिनका परिवारले आर्थिक र मानसिक समस्या भोग्नुपरेको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई बिरामीबाट लिने सेवा शुल्कसम्बन्धी विवरण सार्वजनिक गर्न ताकेता गरेको छ । गत ८ असारमा स्वास्थ्य मन्त्रालयले शुल्क विवरण सार्वजनिक गर्न ताकेता गरेको हो ।

मन्त्रालयको सूचनामा भनिएको छ, ‘धेरै अस्पताल तथा स्वास्थ्य संस्थाहरूले अझै पनि सेवा शुल्कसम्बन्धी विवरण सार्वजनिक नगरेको तथा अपुरो विवरण सार्वजनिक गरेको पाइएकाले यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले यसअघि पनि शुल्क विवरण खुलाउन ताकेता गरे पनि अस्पतालहरूले बेवास्ता गर्दै आएका छन् । मन्त्रालयले पछिल्लोपटक सबै स्वास्थ्य संस्थालाई सात दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र शीर्षक समेत खुल्नेगरी मूल्यसूची (शुल्क) सम्बन्धित अस्पतालको सञ्चालक समिति, बोर्ड वा आधिकारिक निकायबाट निणर्य गराई आआफ्नो वेवसाइटमार्फत सार्वजनिक गर्ने, सूचना पाटी र डिस्प्लेमा सबैले देख्नेगरी राख्नसमेत निर्देशन दिएको छ ।

मन्त्रालयले त्यसको जानकारी स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकायसमक्ष पठाउन पनि निर्देशन दिएको छ ।

गत १८ जेठमा अस्पताल वा स्वास्थ्य संस्थाहरूले लिने सेवा शुल्क सार्वजनिक गर्न आग्रह गर्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताल र स्वास्थ्य संस्थालाई पत्र काटेको थियो ।

स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार बिरामीले उपचारबापत लाग्ने खर्च रकमबारे जानकारी पाउनु प्रत्येक बिरामीको अधिकार भएको र उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु स्वास्थ्य संस्थाको कानुनी तथा नैतिक कर्तव्य हो ।

राजधानी दैनिकबाट………..

प्रतिकृया दिनुहोस्