RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२३ गते
६६२ पटक

काठमाडौं । चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव सी चिनफिङले जनताको कुरालाई केन्द्रमा राख्नुपर्ने बताएका छन् । उनले राजनीतिक दलहरूले जनताको आवाज सुनेर समस्या समाधानमा जोड दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी एक शताब्दी पुगेको अवसरमा विश्वका राजनीतिक पार्टीका नेताहरूको भर्चुअल शिखर सम्मेलनमा बोल्दै राष्ट्रपति सी जनताको समस्या समाधानका लागि उनीहरूको आवाज सुन्नुपर्ने बताएका हुन् ।

उनले आफ्नो सम्बोधनमा शान्तिपूर्ण विकास नै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को स्थिर लक्ष्य भएको बताएका छन् । सम्बोधनमा सीले विभिन्न देशका राजनीतिक दलहरूलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न, जनताको आवाज सुन्न र विभिन्न देशहरूलाई मानवजातिको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा अगाडि बढ्न आह्वान गरेका छन् ।

सो सम्मेलनमा नेपालको तर्फबाट नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलको उपस्थिति छ । सम्मेलनमा १ सय ६० वटाभन्दा धेरै मुलुकका राजनीतिक पार्टी र राजनीतिक संगठनका ५ सय बढी नेता तथा १० हजारभन्दा बढी राजनीतिज्ञ सहभागी भएका छन् ।

सन् १९२१ मा स्थापना भएको सीपीसीको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा ‘जनताका लागि सुखमय जीवन सिर्जना गर्नु नै राजनीतिक पार्टीको कार्यभार’ भन्ने विषयक सम्मेलनमा सीले सम्बोधन गरेका हुन् । सीले सम्बोधनका क्रममा सबै देश तथा राष्ट्रहरू समान रूपमा विकासको अवसर र अधिकारको हकदार भएको बताए ।

विभिन्न मुलुकबीचको इतिहास, संस्कृति, प्रणाली, विकास स्तर फरकफरक भए पनि शान्ति, विकास, न्याय, निष्पक्ष, लोकतन्त्र, स्वतन्त्रतासमेत समस्त मानव जातिको साझा मूल्यबारे विभिन्न मुलुकका जनताको साझा लक्ष्य रहेको बताए । साथै उनले नयाँ कोरोना भाइरस महामारीको सामना गर्नुपर्दा विभिन्न देशका राजनीतिक दलहरूले सहकार्यमा गर्नुपर्ने र महामारीको राजनीतीकरणको विरोध गर्नुपर्ने बताए । उनले आतंकवादलगायत अन्य क्षेत्रमा मानव जातिको सत्रुको सामनामा राजनीतिक दलहरूले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रपति सीले आफ्नो सम्बोधनमा सीपीसीको शतवार्षिकीका अवसरमा १ सय ७० देशका ६ सय २४ राजनीतिक पार्टी तथा संगठनबाट १ हजार ५० वटा शुभकामना तथा बधाई सन्देश प्राप्त भएकोमा खुसी व्यक्त गर्दै धन्यवाद पनि ज्ञापन गरे । साथै चिनियाँ जनताको भविष्यसँगै विश्वका सबै जनताको उज्ज्वल भविष्यका लागि सदा लागि रहने पनि उनले बताए ।

राष्ट्रपति सीले पृथ्वी एउटा घर भएको बताउँदै पाँचवटा बुँदा प्रस्तुत गरे । उनले नेतृत्वले जिम्मेवारी वहन गर्नुपर्ने र मानव जातिको साझा हितमा सोच्नुपर्नेमा जोड दिए । त्यस्तै, उनले सबकै मानवजातिको साझा मूल्य र मान्यतालाई अगाडि बढाउनुपर्ने बताए ।

तेस्रो उनले सबै मानिसले विकासको फलप्राप्त गर्नुपर्ने र विकासको प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ छ । साथै सम्बोधनमा चौथो बुँदामा विश्वव्यापी जोखिम र चुनौतीको विषयमा जोड दिए । अन्त्यमा उनले सुशासन सुधार र जिम्मेवारी वहन गर्दै जनतालाई खुसी बनाउनेमा केन्द्रित हुनुपर्ने बताए ।

राजधानी दैनिकबाट……………

प्रतिकृया दिनुहोस्