RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/३० गते
७६७ पटक

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्बको सहमति प्रदान गरेको छ ।

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सो रकम दिनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

देउवा नेतृत्वको सरकारको हिजोको पहिलो क्याविनेटले आगामी चैतसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको थियो ।

अर्थमन्त्री शर्माले कोभिड-१९ नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णय गरेका छन् । जसअन्तर्गत संघीय अस्पतालका लागि ५६ करोड ४१ लाख ५७ हजार र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत ३७ करोड ३४ लाख ९० हजार वित्तीय हस्तान्तरण हुनेछ ।

सरकारी तथा निजी अस्पतालमा एचडीयू, भेन्टिलेटर, आईसीयूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका लागि संघीय तथा निजी अस्पताललाई ९६ करोड १२ लाख ११ हजार निकासा र प्रदेश तथा स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेशमार्फत ५२ करोड ४४ लाख ४० हजार वित्तीय हस्तान्तरणसम्बन्धी निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए ।

अर्थमन्त्री शर्माले कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

रासस

प्रतिकृया दिनुहोस्